• २० असोज २०८१, आइतबार

पैंतालीस दिनभित्र तार व्यवस्थापन गर्नुपर्ने

blog

काठमाडौँ, कात्तिक १६ गते । नेपाल विद्युत् प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरण व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई ४५ दिनको समयसीमा दिएको छ । विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभावी झुन्डयाइएका उपकरणका कारण सहरलाई कुरूप बनाएको, विद्युत् सेवालाई नै अवरुद्ध पारेको र आगलागीको जोखिमसमेत बढेको प्राधिकरणले जनाएको छ ।  

प्राधिकरणले मङ्गलबार सार्वजनिक सूचनामार्फत दूरसञ्चार, केबल टीभी तथा इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै सोहीअनुसार व्यवस्थापन गर्न सेवा प्रदायकलाई आग्रह गरेको हो । 

प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले तोकिएको समयमा व्यवस्थापन गर्ने/नगराउने सेवा प्रदायकहरूको केबललगायतका उपकरणहरू नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम प्राधिकरण आफैँले हटाउने र यसबाट हुन सक्ने नोक्सानीका लागि सम्बन्धित सेवा प्रदायक स्वयं नै जिम्मेवारी हुनु पर्ने स्पष्ट पार्नुभयो । “अव्यवस्थित तारको गुजुल्टोले सहर कुरूप बनेको छ । आगलागी भई धनजनको क्षति भएको छ, हाम्रो सेवा प्रवाह प्रभावित भएको छ,” उहाँले भन्नुभयो । सहरी सौन्दर्यता कायम गर्न विद्युतीय दुर्घटनालाई न्यूनीकरणका लागि सेवा प्रदायकका तार तथा उपकरणका लागि मापदण्ड तयार गरी व्यवस्थापन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । 

प्राधिकरणले अप्टिकल फाइबर/केबल र विद्युत् लाइन तथा भू–सतहबीचको न्यूनतम दूरी पनि तोकेको छ । जसअनुसार चार सय भोल्टको नाङ्गो तथा इन्सुलेटेड तार र केबलबीचको न्यूनतम दूरी क्रमशः असी र तीस सेन्टिमिटर हुनु पर्नेछ । ११ केभी र ३३ केभी लाइन र केबलबीचको न्यूनतम दूरी दुई मिटर हुनु पर्नेछ । अन्य ४०० भोल्टका उपकरणसँगको न्यूनतम दूरी ७५ सेन्टिमिटर हुनुपर्नेछ । अप्टिकल फाइबर/केबल र जमिन सतहबीच पैदलमार्गमा २.४ मिटर र सडकमा ५.५ मिटर तोकिएको छ । न्यूनतम दूरी कायम नगरी सर्भिस केबलमार्फत ग्राहकलाई कनेक्सन दिनसमेत प्राधिकरणले रोक लगाएको छ । 

राउटर, अप्टिकल फाइबर वितरण बक्सजस्ता उपकरणहरू पोलको एउटै मात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गरी र सफासँग क्लिप प्रयोग गरी वाइरिङ गर्नुपर्ने र प्रयोगमा नरहेका तार र अन्य उपकरण तत्काल हटाउनु पर्नेछ । पोलहरूमा लुप बनाएर राखिएका तार  तत्काल हटाउने र नयाँ तारहरू तान्दासमेत अतिरिक्त लम्बाइका लुप बनाएर पोलमा झुन्डाउन नपाउने सूचनामा उल्लेख छ । 

सेवा प्रदायकले आफ्नो तार सजिलोसँग छुट्टयाउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनुपर्ने र पोलमा जडित उपकरणमा समेत मार्किङ गर्नुपर्ने उल्लेख छ ।  

सम्भव भएसम्म धेरै कोर भएको केवल तानी बहुसङ्ख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्न पनि सेवा प्रदायकलाई आग्रह गरिएको छ । सूचनाअनुसार तारलाई सडक वारपार तान्न पनि रोक लगाइएको छ भने तानिएका केबलहरू हटाउनु पर्नेछ ।