• २१ पुस २०८१, आइतबार

साफ यू–१५ महिला च्याम्पियनसिप : उपाधि चुम्ने नेपालको तयारी

blog

प्रतियोगिताअघि सामूहिक तस्बिर खिचाउँदै नेपाल, बंगलादेश र भुटानका कप्तानहरु । तस्बिर : एनएसजेएफ

काठमाडौं, कात्तिक १५ गते । बङ्गलादेशमा मङ्गलबारदेखि साफ यू–१५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली शनिबार नै बङ्गलादेश पुगिसकेको छ । आयोजक बङ्गलादेश, नेपाल र भुटानको सहभागिता रहेको यस च्याम्पियनसिपको उद्घाटन खेलमा आज (मङ्गलबार) साँझ भुटान र बङ्गलादेश भिड्दैछन् ।

नेपालले भने आफ्नो पहिलो खेल बिहीबार भुटानसँग खेल्नेछ । नेपाली टोलीको लक्ष्य उपाधि चुम्ने रहेको प्रतियोगिता अघि आयोजित प्रिम्याच कन्फरेन्समा नेपाली टोलीकी मुख्य प्रशिक्षक भगवती रानामगरले बताउनुभएको छ ।


‘नेपालले राम्रो तयारी गरेर बङ्गलादेश गएको र सबै खेलाडी शारीरिक र मानसिक रुपमा तयार छन् । सबै टोली बलिया छन् । तर हामी मैदानमा सफल हुनेछौं,’ भगवतीले भन्नुभयो ।


नेपाली टोलीका अधिकांश खेलाडीको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो । टोलीकी कप्तान दीपा रोकायाले पनि सबै खेलाडी उपाधि चुम्ने लक्ष्यका साथ ढाका आएको बताउनुभएको छ ।

नेपालले दोस्रो खेल कात्तिक १९ गते आयोजक बङ्गलादेशसँग, तेस्रो खेल फेरि कात्तिक २३ गते भुटानसँग र अन्तिम खेल कात्तिक २५ गते बङ्गलादेशसँग खेल्नेछ । डबल राउन्ड रोविनका आधारमा सञ्चालन हुने च्याम्पियनसिपमा शीर्ष टोलीले उपाधि जित्नेछ । 


स्ट्राइकर दीपा रोकायाको कप्तानीमा रहेको नेपाली टोलीको गोलरक्षकमा राधिका ओली, सुजाता तामाङ र रुपा धिमाल, रक्षकहरूमा सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुनमगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु र विपना स्नेही हुनुहुन्छ ।

मिडफिल्डरहरुमा सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली र मनीषा सेन तथा स्ट्राइकरमा दीपासहित समीक्षा मगर, वर्षा ओली र सेनु परियार हुनुहुन्छ ।