• १४ असार २०८१, शुक्रबार

दोलखाका उम्मेदवार घरदैलो भेटघाटमा

blog

घरदैलो गर्दै प्रदेश सभा क्षेत्र नं १ का उम्मेदवार कुन्दनराज काफ्ले तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट, कात्तिक १४ गते । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिएसँगै उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा केन्द्रित हुनुभएको छ । मतदातालाई आकर्षित गर्न ठूला सभा र कोणसभाभन्दा पनि अनौपचारिक भेटघाट र छलफललाई प्राथमिकता दिन थाल्नुभएको छ । 

सम्भव भएसम्म मतदाताका सबै घरमा पुग्ने र  मतदातासँग भेटघाट गर्ने योजना उम्मेदवारको छ । उम्मेदवारहरु अभियान नै बनाएर  घरदैलोमा व्यस्त हुनेगरेका छन् । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दोलखामा सत्ता गठबन्धन र नेकपा (एमाले) बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

गठबन्धनका उम्मेदवारले क्षेत्र नम्बर १ र २ दुबै ठाउँबाट घरदैलो र मतदाता भेटघाट कार्यक्रम सुरु गरेका छन् । प्रदेश सभा उम्मेदवार कुन्दनराज काफ्लेले गौरीशङ्कर गाउँपालिका १ जुगुबाट घरदैलो कार्यक्रम सुरु गर्नुभएको छ । घरदैलो कार्यक्रममा व्यस्त देखिएका काफ्लेले भन्नुभयो “बिहान घरदैलो र मतदातासँगको भेटघाटमा व्यस्त हुने गर्छु । दिउँसो भेटघाट र छलफल गर्ने गर्छु ।”

भौगोलिक अवस्था हेरी एक दिनमा दुई वटा वडाका मतदातासँग भेटघाट तथा छलफल गर्ने योजना रहेको उहाँको भनाइ छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका काफ्ले गठबन्धनको तर्फबाट प्रदेश सभा १ का उम्मेदवार हुनुहुन्छ ।

यस्तै, एमालेले पनि गौरीशङ्कर –१ बाट घरदैलो कार्यक्रम सुरु गरेको छ । घरदैलो कार्यक्रम अन्तर्गत कार्यकर्ता भेटघाट तथा छालफलमा व्यस्त देखिएको छ । प्रदेश सभा –२ मा पनि गठबन्धनले घरदैलो कार्यक्रम सुरु गरेको छ । 

बिगु गाउँपालिकाबाट गठबन्धनका प्रतिनिधि सभाका उम्मेदवार प्रदेश सभाका उम्मेदवारसहित घरदैलो सुरु गरेको छ । त्यसैगरी एमाले पनि बिगु गाउँपालिका बाटै घरदैलो अभियानको सुरुवात गरेको छ ।

घरदैलो कार्यक्रममा उम्मेदवार निकटका र विश्वासिला स्थानीय कार्यकर्तासँगै लैजाने गर्छन् । कुनैकुनै उम्मेदवार स्थानीय बाजागाजासहित घरदैलो कार्यक्रममा पुग्ने गर्छन् । घरदैलो कार्यक्रममा जानुअघि उम्मेदवारले सम्बन्धित ठाउँको समस्या, यसअघिका चुनावको परिणाम, मतदाताको मनोविज्ञानलगायत बुझ्ने गर्छन् । दोलखामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका गङ्गा कार्की प्रदेश सभा १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले र प्रदेश सभा –२ मा जिल्ला सभापति बर्मा लामाको उम्मेदवारी छ । 

मुख्य प्रतिस्पर्धी एमालेको तर्फबाट प्रतिनिधि सभामा बालकृष्ण शिवाकोटी प्रदेश सभा १ मा नरबहादुर श्रेष्ठ र प्रदेश सभा –२ मा भरत केसीको उम्मेदवारी छ । दोलखामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा गरी तीन सिटका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवार  गरी ५२ जना उम्मेदवारले घरदैलो र मतदाता भेटघाटलाई तीव्र पारेका छन् ।