• १२ साउन २०८१, शनिबार

गुल्मी क्षेत्र नं. २ मा विष्ट र झाँक्री मुख्य प्रतिस्पर्धी

blog

गुल्मी २ का प्रतिस्पर्धी गोकर्ण बिष्ट र रामकुमारी झाँक्री । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, कात्तिक १४ गते । गुल्मी क्षेत्र नं २ मा पहिलेको नेकपा (एमाले) मा सहयात्रीको रूपमा काम गर्नुभएका दुई नेताहरू अहिले चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । तत्कालीन एमाले र नेकपामा रहँदा एउटै पार्टीमा रहेर काम गर्नुभएका एमाले सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीबीच अहिले प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिस्पर्धा हुनेभएको हो ।

एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकताबाट बनेको नेकपा पार्टी विभाजन भएपछि विष्ट एमालेमै रहनुभयो भने झाँक्री एकीकृत समाजवादीमा लाग्नुभयो । समाजवादी पार्टीका सचिव झाँक्री गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रूपमा रहनुभएको छ । विष्ट एमालेको तर्फबाट चुनावी मैदानमा हुनुहुन्छ । 

२०७४ मा समानुपातिक सांसद बन्नुभएका झाँक्री त्यसबेला गोकर्ण विष्टलाई भोट माग्दै निर्वाचन क्षेत्रमा हिँड्नुभयो भने अहिले उहाँहरू दुवै जना चुनावी मैदानमा हुनुहुन्छ । आफूले निर्वाचन क्षेत्रमा गरेका विकासले र जनताको सुख दुः खमा सधैँ साथमा रहेको दाबी गर्दै निर्वाचन जित्ने विष्टले बताउनुभयो । 

झाँक्री समानुपातिक सांसद हुँदा जिल्लावासीका लागि केही वास्ता नगरेको विष्टको आरोप छ । गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी झाँक्रीले गुल्मी २ का मतदाताहरूले परिवर्तन चाहेको भन्दै यसपटक आफूलाई रोज्ने दाबी गर्नुभयो । 

२०५६ देखि विष्टलाई भोट दिएका मतदाताले यस पटक आफूलाई विजयी गराउनेमा ढुक्क रहेको झाँक्रीले बताउनुभयो । संविधानको रक्षा र गुल्मीलाई विकासको माध्यमबाट परिवर्तन ल्याउन आफ्नो उम्मेदवारी रहेको झाँक्रीले बताउनुभयो । आफू सहरी विकासमन्त्री हुँदा गुल्मीको विकासका निम्ति गरेका काम पनि मतदाताले बुझेको उहाँको दाबी छ । 

गुल्मी क्षेत्र नम्बर २ मा २०५६ देखि २०६४ बाहेक निरन्तर रूपमा विष्ट विजयी हुनुभएको छ । २०६४ मा नेकपा (माओवादी केन्द्र) का चन्द्रबहादुर थापा (सागर) ले विष्टलाई पराजित गर्नुभएको थियो ।