• १३ साउन २०८१, आइतबार

पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा

blog

ललित बसेल

सुर्खेत, कात्तिक १४ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लामा चार पूर्वमन्त्री चुनावी मैदानमा हुनुहुन्छ । प्रतिनिधि सभातर्फ दुई पूर्वमन्त्री र प्रदेश सभामा दुई पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । सुर्खेतमा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ । उपसभापति खड्का २०४८ सालदेखि सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आउनुभएको छ । उहाँले सो क्षेत्रबाट २०४८, २०५१, २०५६ र २०७० मा निर्वाचित हुनुभएको थियो । यद्यपि, २०६४ को पहिलो संविधान सभामा समानुपातिक कोटाबाट सभासद् बन्नुभएको थियो । 

उहाँले विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालीसक्नुभएको छ । यद्यपि, धेरै पटक मन्त्री भइसकेको हुँदा अब भने मन्त्री नबन्ने घोषणा खड्काले गर्नुभएको छ । अहिले उहाँ सत्ता गठबन्धनकातर्फबाट साझा उम्मेदवार बन्नुभएको छ । उहाँको प्रतिस्पर्धीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का ध्रुवकुमार शाही हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार शाहीले नै उपसभापति खड्कालाई पराजित गर्नुभएको थियो । यस पटक खड्का र शाही एउटै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । 

प्रतिनिधि सभामा सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानी उम्मेदवार बन्नुभएको छ । उहाँ २०७२ सालमा सहकारी तथा गरिबी निवारणमन्त्री बन्नुभएको थियो । थानी २०७४ सालको निर्वाचनमा नेकपा (एमाले)का नवराज रावतसँग पराजित हुनुभएको थियो । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका थानीसँग अहिले नेकपा (एमाले) सुर्खेतका अध्यक्ष एवं सहकारी अभियानकर्मी अमृत बिसी प्रतिस्पर्धी हुनुहुन्छ ।

सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नं. २ (क) र (ख) मा दुई जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । निर्वाचन क्षेत्र नम्बर २ (क)मा पूर्वमन्त्री एवं नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल उम्मेदवार हुनुहुन्छ । कँडेल २०५५ सालमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको थियो । २०७४ सालको निर्वाचनमा उहाँ सङ्घीय निर्वाचन क्षेत्र छोडेर प्रदेश सभाको उम्मेदवार बनी निर्वाचित हुनुभएको थियो । यस पटक पनि उहाँ प्रदेश सभाको उम्मेदवार बन्नुभएको छ । उहाँसँग सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस सुर्खेतका पूर्वउपसभापति कालीप्रसाद शाक्य प्रतिस्पर्धामा हुनुहुन्छ ।

यस्तै सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (ख)मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का विन्दमान विष्ट उम्मेदवार हुनुहुन्छ । उहाँ कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री भइसक्नुभएको छ । उहाँ २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । अहिले उहाँले नेकपा (एमाले)का ताराकेशर गौतम र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष मोहनसिंह बडुवालसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । नेकपा (एमाले)का गौतम गाविसका पूर्वअध्यक्ष हुनुहुन्छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष बडुवाल पश्चिम क्षेत्रकै बासिन्दा हुनुहुन्छ ।

सुर्खेतका दुई निर्वाचन क्षेत्र र चार प्रदेश सभा क्षेत्र गरी छ सिटमा चार जना पूर्वमन्त्रीको चुनावी भिडन्त रोचक देखिएको छ । पूर्वमन्त्रीलाई आफ्नो साख जोगाउने चुनौती छ । अन्य प्रतिस्पर्धीलाई पूर्वमन्त्रीलाई पराजित गरी नयाँ रेकर्ड कायय गर्ने अभिलाषा छ ।