• १० मंसिर २०८१, सोमबार

सङ्कल्पपत्रको सार्थकता

blog

नेपाली कांग्रेसले आसन्न आमनिर्वाचनलाई दृष्टिगत गरी शनिबार पार्टीको घोषणापत्रलाई सङ्कल्पपत्रका रूपमा सार्वजनिक गरेको छ। ठूला दलले मतदातालाई निर्वाचनमा विजयी भएमा गर्ने प्रतिबद्धता नै घोषणापत्र हुन्। लोकतान्त्रिक प्रणालीमा यसको गहिरो महत्व छ। हरेकजसो राजनीतिक दलले मतदातासमक्ष यस्ता घोषणापत्र वा प्रतिबद्धतापत्र सार्वजनिक गरिरहेकै हुन्छन् तर हामीकहाँ घोषणापत्रको कार्यान्वयनमा भने विगतदेखि नै अनेक प्रश्न उठ्दै आएका छन्।

नेपाली कांग्रेसले सार्वजनिक गरेको सङ्कल्पपत्रमा विषयवस्तुलाई आयामिक ढङ्गले समेटेको छ। मुलुकको राजनीतिक व्यवस्थालाई सुदृढीकरणका निम्ति संसद्लाई पूर्ण अवधि सञ्चालन गर्ने प्रतिबद्धता गरेको छ। यसैगरी अर्थतन्त्रलाई रूपान्तरणकारी बनाउने यत्न गरिएको छ। सङ्कल्पमा अर्थतन्त्रको विकास, रोजगारी विस्तार, सङ्घीयता, वैदेशिक नीति, जलवायु परिवर्तन, भ्रष्टाचार, राष्ट्रिय प्राथमिकता प्राप्त योजना, मौद्रिक सुधार, स्वास्थ्य नीति, वन जङ्गल संरक्षणजस्ता विविध विषयवस्तुलाई विशेष प्राथमिकता दिएको छ। यसैगरी ऊर्जाका रूपमा बिजुली उत्पादन र प्रयोगमा वृद्धि, विद्युतीय सवारी साधनलाई प्रश्रय, स्वदेशी जडीबुटीको उपयोग, खाद्यान्न, अन्नबाली तथा औद्योगिक बालीमा आत्मनिर्भरता, पाँच वर्षमा वार्षिक २० लाख पर्यटक भिœयाउने, विज्ञान प्रविधिको विकास, कोखदेखि शोकसम्म एकीकृत सामाजिक सुरक्षा कार्यक्रम लागू गर्नेजस्ता कार्यक्रम सङ्कल्पमा समाविष्ट छन्। 

समष्टिगत रूपमा नेपाली कांग्रेसको सङ्कल्पपत्र देश तथा देशवासीलाई ध्यानमा राखेर आमनिर्वाचनमा विजयी भएमा गर्ने प्रतिबद्धताको फेहरिस्तका रूपमा लिन सकिन्छ। यो मतदातालाई आश्वस्त पार्ने अस्त्र पनि हो। यसमा यथार्थपरक विषयहरूका अतिरिक्त केही लोकप्रिय विषयवस्तुसमेत समावेश छन्। कांग्रेसले उठाएका सबैभन्दा महत्वपूर्ण विषय आगामी संसद् पूर्ण रूपमा पाँच वर्षसम्मै चल्ने प्रतिबद्धता हो। यसअघिको प्रतिनिधि सभा दुई दुई पटक विघटन भएको थियो। सर्वोच्च अदालतद्वारा नयाँ सरकारको गठनसहित प्रतिनिधि सभा पुनस्र्थापित गरिएको सबैमा ज्ञातव्य नै छ। पाँच खण्डमा विभाजित कांग्रेसको सङ्कल्पपत्रमा मुलुक तथा मुलुकवासीका निम्ति आवश्यक तथा प्रभावित गर्ने बृहत तथा विस्तृत विषयवस्तुलाई छ। यसमा कांग्रेसले अघिल्लो पटक प्रतिस्पर्धा गरेको आमनिर्वाचनको घोषणापत्रदेखि वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको घोषणापत्रका कतिपय आवश्यक विषयवस्तु निरन्तरता दिएको स्पष्ट देख्न सकिन्छ।

मुलुकवासीका हरेक विषयवस्तुलाई उल्लेख गर्नु कांग्रेसको घोषणपत्र विशेषता भए पनि निर्वाचनपश्चात् ती विषयवस्तुको कार्यान्वयन के कसरी हुन्छ ? यो अति नै महत्वपूर्ण पक्ष हो। आममतदाताको चिन्ता र चासोको विषय पनि यही हो। हालसम्म नेपाली जनताले विभिन्न राजनीतिक दलका घोषणापत्रको अध्ययन गरेका छन् तर कार्यान्वयनका दिशामा ती साह्रै फितला भएका तीतो भोगाइ छ। यस अर्थमा कांग्रेसले आफ्नो घोषणापत्रलाई कार्यान्वयनको दिशामा सार्थक रूप दिन सकेमा मात्र यसलाई सफल मान्न सकिने अवस्था हुनेछ।  प्रायः सबै राजनीतिक दलको मुख्य उद्देश्य नै मुलुक र मुलुकवासीको समृद्धि तथा विकास नै हो। तर वास्तविकता र यथार्थमा निकै भिन्नता रहेको महसुस सबैले गरेकै हुन्। नेपालको मात्र नभएर विशेषगरी तेस्रो विश्वको समस्या यही हुने गरेको छ तर नेपाली मतदाताको चाहना विगत नदोहोरियोस् भन्ने हो।

हिजोका दिनसम्म चुनावी घोषणापत्रलाई राजनीतिक दलहरूले आममतदातालाई आकर्षित गर्ने माध्यमका रूपमा मिठा सपना देखाउने तर पूरा गर्न त्यति वास्ता नगरे पनि पनि हुने प्रतिबद्धताका रूपमा बुझिरहेका थिए। यसैका फलस्वरूप राजनीतिक दलका घोषणापत्र अति नै महवाकाङ्क्षी, सम्भव असम्भव सबै किसिमका प्रतिबद्धताले भरिएको पत्रका रूपमा थियो। तर अहिले समय परिवर्तन भइसकेको छ। राजनीतिक दलले घोषणापत्रमा उल्लेख गरेका सबै विषय आममतदाताले विश्वास गर्दछन् भन्ने धारणा राख्नु सर्वथा गलत हो। यसैले राजनीतिक दलको घोषणापत्र धरातलीय परिवेशमा पूरा गर्न सकिने आश्वासन तथा प्रतिबद्धता हुनुपर्ने बुझाइ आममतदाताको हो। यो राजनीतिक दलको परीक्षाकै बेला पनि हो। नेपाली कांग्रेसले सङ्कल्पपत्रलाई अति महत्वाकाङ्क्षी नबनाएको नेताहरूको धारणा छ। आमचाहना मुलुक तथा मुलुकवासीको विकास हो। समृद्धिको प्राप्ति हो। सङ्कल्पमा कांग्रेसले समसामयिक राजनीतिलगायत प्रायः सबै विषयवस्तुको उठान गरेको स्पष्ट देखिन्छ। कांग्रेसले उठाएका यावत् विषयहरूप्रति उम्मेदवार, पार्टी सदस्य प्रतिबद्ध हुनुपर्छ। मतदातामा विश्वास जित्न सक्नुपर्छ। अरू दलका घोषणापत्रसमेत आउने क्रम जारी छ र मतदाताले सबैको प्रतिबद्धतालाई समयको तराजुमा राख्नु वाञ्छनीय छ। यसबाटै सङ्कल्पपत्रको सार्थकता स्पष्ट हुन्छ।