• ११ असोज २०८१, शुक्रबार

निर्वाचन क्षेत्रमा दीर्घकालीन महत्त्वका योजना : गृहमन्त्री खाण

blog

पाँचदलीय गठबन्धनद्वारा आयोजित रुपन्देही क्षेत्र नं ३ मा चुनावी संकल्पपत्र सार्वजनिक कार्यक्रम । तस्बिर : श्यामशंकर पाण्डे

श्यामशंकर पाण्डे

लुम्बिनी, कात्तिक १३ गते । नेपाल सरकारका गृहमन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ मा प्रतिनिधि सभा उम्मेदवार समेत रहनुभएका बालकृष्ण खाणले आफ्नो निर्वाचन क्षेत्रमा दीर्घकालीन महत्त्वका योजना समावेश गरेर चुनावी संकल्पपत्र सार्वजनिक गर्नुभएको छ । 

संकल्पपत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक र सांस्कृतिक विकास, उद्योग, व्यापार, पर्यटन, कृषि, खेलकुदलगायतका क्षेत्रमा महत्त्वपूर्ण योजनाहरू समावेश गरिएको छ । निर्वाचन क्षेत्र, जिल्ला, छिमेकी जिल्लाको मात्रै नभई सिङ्गो मुलुकको विकासमा समेत दीर्घकालीन प्रभाव पार्न सक्ने महत्त्वपूर्ण योजनाहरू समावेश गरेर संकल्पपत्र सार्वजनिक गर्नुभएको हो । 

पाँचदलीय गठबन्धनको संकल्पपत्रमा ‘मर्चावरदेखि मुस्ताङसम्म’ बन्ने सडक निर्माणलाई विशेषरूपमा प्रारम्भ गर्न पहल गर्ने, बुटवल–भैरहवा–सुनौली हाइवेमा मेट्रो ट्रेन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने, बेलहियामा निर्माणाधीन ‘एकीकृत भन्सार प्रणाली’ तत्काल निर्माण प्रारम्भ गर्न पहल गर्ने, परासीदेखि कपिलवस्तुसम्म १३२ केभीको विद्युतीय प्रसारण लाइन निर्माण गर्न पहल गर्ने उहाँको प्रतिबद्धता छ ।

बुटवलदेखि गोरखपुरसम्मको विद्युतीय प्रसारण लाइन यथाशीघ्र निर्माण गर्न पहल गर्ने, कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजना निर्माणका लागि विशेष जोड दिने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई बढाउने र नेपालका विभिन्न सहरमा पनि आन्तरिक उडान तथा कार्गो सेवा सुचारु गर्नुका साथै रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनेजस्ता राष्ट्रिय महत्त्वका विषयवस्तु समावेश गरिएको छ ।

यस्तै, भैरहवालाई लुम्बिनी प्रदेशकै महत्त्वपूर्ण औद्योगिक, व्यापारिक एवम् पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने, सिद्धार्थनगर नगरपालिका वरपर सिद्धार्थ चक्रपथ निर्माणका लागि यथाशीघ्र डी.पी.आर. गरी निर्माण कार्यको थालनी गर्ने, तिनाउ–दानव नदीमा ‘जनताको तटबन्धन’ कार्यक्रम थप प्रभावकारी बनाउने तथा डण्डा–रोहिणी नदीमा पनि नदी कटानलाई व्यवस्थित गर्नेजस्ता कार्यक्रम समावेश छन् ।

यस्तै, बुद्ध परिक्रमा सडकको दुबैतिर नालीसहितको फुटपाथ निर्माण गर्न विशेष पहल गर्ने, मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर त्यहाँ स्थायी बसोबास गर्ने व्यक्तिहरूको समस्या दिगो रूपमा समाधान गरी त्यस औद्योगिक क्षेत्रलाई राष्ट्रकै नमुना औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुका साथै त्यस क्षेत्रका बासिन्दालाई रोजगारीको सुनिश्चितता गर्ने उहाँको प्रतिबद्धता छ ।

सोहीअनुसार वेलहियादेखि पोखरासम्मको सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गर्ने, तिनाउ नदीको छेउछाउमा व्यापारिक प्रयोजनका लागि ६ लेनको बाटो निर्माण गर्ने र त्यसको छेउ–छाउमा वृक्षारोपण गरी हरियाली सडक बनाइनुका साथै हरियाली पार्कहरूको समेत निर्माण गर्ने गठबन्धनको सङ्कल्प छ ।

यसैगरी पश्चिम अमुवामा रहेको स्वास्थ्य चौकीको स्तरोन्नति गरिने र फर्साटिकरमा १५ शय्याको आधारभूत अस्पताल यथाशिध्र सम्पन्न गर्ने, यस क्षेत्रमा सरकारी तथा निजी मेडिकल र इन्जिनियरिङ कलेजको स्थापनाका लागि विशेष जोड दिने, भैरहवा बहुमुखी क्याम्पसमा पूर्वाधार थपगरी आधुनिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने, यज्ञोदय दूधनाथ थारु बहुमुखी क्याम्पस, शुद्धोदन, जनता उच्च मा.वि., सियारी तथा रुपन्देही क्याम्पस, सिद्धार्थनगरको स्तरोन्नति र प्राविधिक विषयमा थप कार्यक्रम सञ्चालन गर्न विशेष पहल गर्ने उहाँको प्रतिबद्धता छ ।

पक्लिहवामा रहेको कृषि क्याम्पसलाई भौतिक सुविधा सम्पन्न बनाउने र कृषि तथा पशु चिकित्सा शिक्षा दुवैमा सिट सङ्ख्या वृद्धि गर्न आवश्यक पहल गर्ने, पक्लिहवा कृषि क्याम्पस हाताभित्र सुविधा सम्पन्न पशु अस्पताल निर्माण गरी यथाशीघ्र सञ्चालन गर्ने योजना सङ्कल्प पत्रमा उल्लेख छ ।