• १० मंसिर २०८१, सोमबार

बत्तीस जना जुवाडे पक्राउ

blog

काठमाडौँ, कात्तिक १३ गते । तिहार पर्वमा गैरकानुनी रूपमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ तथा ललितपुबाट ३२ जना  जुवाडे पक्राउ परेका छन्।

काठमाडौँको नागार्जुन नगरपालिका–७, स्विट्जरल्यान्ड पार्क नजिकै उदयराज पुरीले सञ्चालन गरेको दहचोक सिटी भ्यु रिसोर्ट प्रालिबाट १८ जनालाई नियन्त्रणमा लिएको छ।

उनीहरूको साथबाट प्रहरीले तीन लाख ८२ हजार ५९५ रुपियाँ नगद, १५ बुक तास र १६ थान कौडा बरामद गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार होटलमा अवैध रूपमा जुवातास खेल भइरहेको सूचना पाएपछि प्रहरीले उक्त रिसोर्टमा छापा मारेको थियो। यसैगरी काठमाडौँको तारकेश्वर नगरपालिका पैयौटारबाट आठ जना पक्राउ परेका छन्। स्थानीय भीमबाबु केसीको घरको कोठामा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरूको साथबाट  दुई लाख ८६ हजार ६८० रुपियाँ नगद तथा १६ थान कौडा  बरामद गरेको छ । यसैगरी ललितपुर महानगरपालिका–२३, धापाखेलस्थित  होमकुमार लावतीको घरमा 

जुवातास खेलिरहेका छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर ललितपुर तथा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ। उनीहरूको साथबाट सात लाख ९९ हजार ३२० रुपियाँ तथा क्यासिनोमा प्रयोग हुने ६३ थान क्वाइनसमेत बरामद गरिएको छ।

प्रहरीले सो घरमा मिनी क्यासिनो सञ्चालन गरेको हुन सक्ने आशङ्का गरी अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले जुवाडेले प्रयोग गर्ने तीनवटा सवारीसाधनसमेत नियन्त्रणमा लिएको छ।