ललिता साह
वोदेवसाईन (सप्तरी) कात्तिक १२ गते । सप्तरीबाट चुनावी मैदानमा उत्रिएका प्रायजसो उम्मेद्वारले कृषि क्षेत्रको विकास र अन्य विकासका मुद्दालाई आफ्नो चुनावी एजेण्डामा प्राथमिकतामा राखेका छन् ।
त्रिपक्षीय प्रतिस्पर्धाका बीच रोमाञ्चक मानिएका सप्तरीको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहनुभएका लोकतान्त्रिक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुरले सार्वजनिक गर्नुभएको घोषणापत्रको पहिलो बुँदामै जिल्लाको कृषि र किसानको जीवनस्तरमा सुधार गर्ने उल्लेख गर्नुभएको छ । मधेस प्रदेशकै एकमात्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र, नेपालकै पुरानो तथा चर्चित कानुन कलेजदेखि सप्तरीका स्वास्थ्य शिक्षा रोजगार मात्रै नभई पत्रकारिता समेतलाई उत्कृष्ट विकासको नमुना बनाउने उहाँको एजेण्डामा उल्लेख छ । आफूले एजेण्डाअनुसार काम गर्ने ठाकुरको प्रतिबद्धता छ ।
यस क्षेत्रबाट बाम गठबन्धनका अर्का प्रतिस्पर्धी उम्मेद्वार रहनुभएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको कृषि क्षेत्रलाई आधुनिक र वैज्ञानिकीकरण गर्न आफूले राजविराजमा मधेस प्रदेश कृषि विश्वविद्यालयको जग खडा गरिसकेकाले यसको सञ्चालनमा प्राथमिकता दिने बताउनुभएको छ । विकासका अन्य एजेण्डाहरुलाई प्राथमिकता दिने उहाँले बताउँदै आउनुभएको छ ।
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले कृषिको आधुनिकीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । एक घर एक रोजगारको व्यवस्था गरी स्थानीय स्तरलाई रोजगारमूलक बनाउने कार्यक्रम उहाँले ल्याउने बताउनुभएको छ । त्यसका साथै सरकारका कामहरू डिजिटल बनाउने पनि उहाँको एजेण्डामा उल्लेख छ । काममा पारदर्शीता, शून्य भ्रष्टाचार, वैज्ञानिक र दीर्घकालीन वातावरण सुहाउँदो विकास गर्ने उहाँले योजना बनाउनुभएको छ ।
निर्वाचन नजिकिँदै गर्दा दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारबाट सार्वजनिक भइरहेका चुनावी घोषणापत्र र एजेण्डालाई निर्वाचन आयोगले पनि सूक्ष्म ढङ्गले हेरिरहेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताउनुभयो । उम्मेदवारका घोषणापत्र भोलिका दिनमा कार्यान्वयनमा जाउन् भन्ने नागरिकको चाहना रहेको उहाँको भनाइ छ ।