• १३ असोज २०८१, आइतबार

प्युठानमा शुरु भयो सराएँ नाँच

blog

सुजल श्रेष्ठ

प्युठान, कात्तिक ११ गते । तिहारको भोलिपल्ट अर्थात् आज जिल्लाकै ठूलो सराएँ मेला लागेको छ । प्युठान नगरपालिका–७ डल्लेमा आज सराएँ नाच नाचिएको हो ।

उक्त सराएँ मेलामा सराएँ नाचको प्रदर्शन, प्रतिस्पर्धा गराउने चलन छ । किम्बदन्ती अनुसार भुरे टाकुरे राज्य सञ्चालनका बेला एक जना राक्षसलाई जनताले लखेटेर मारेको सम्झनामा खुशीयालीसहित त्यस ठाउँमा वर्षेनी भाइटीकाको भोलिपल्ट सराएँ मेला लाग्ने गर्दछ ।

नाङ्गो तरवार, लाठी नचाउँदै विभिन्न ठाउँबाट प्रतिस्पर्धी समूह जम्मा हुने गर्दछन् । पहिले पहिले पुरुषले मात्र सराएँ नचाउने गरेकोमा अहिले महिलाले समेत सराएँ नचाउन थालेका छन् । बाजाको तालमा ‘ऊ खै ऊ खै गर्दै....’ सराएँ नचाउने गरिएको स्थानीय सुशील पोख्रेलले बताउनुभयो ।

मेलामा रमाइलोका लागि विभिन्न स्थानीय नाच, स्थानीय किसान, उद्यमीले उत्पादन गरेका वस्तुहरुको किनबेचसमेत हुने गर्दछ । मेलामा जिल्लाभरबाट र बाहिरी जिल्लाबाट समेत मानिसहरु आउने गर्दछन् । मेलालाई व्यवस्थापन गर्न अहिले स्थानीय सरकारले बजेट छुट्याउने र व्यवस्थापन गर्ने काम गर्न थालेका छन् ।

यो मेला करिब १५ दिनसम्म चल्ने गर्दछ । जहाँ स–साना बालबालिकादेखि बृद्धबृद्धासम्म पुग्ने गर्दछन् । मेलालाई व्यवस्थापनसहित पुरस्कार प्रदान गर्ने गरिएको प्युठान नगरपालिकाका प्रवक्ता सुमन श्रेष्ठले बताउनुभयो । पहिलो हुनेलाई एक लाख रुपियाँ, दोस्रो हुनेलाई ७५ हजार रुपियाँ र तेस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको उहाँले बताउनुभयो । डल्ले मेलामा आठ समूहले भाग लिएका थिए ।