• १२ साउन २०८१, शनिबार

आलुखेतीमा महिला कृषकको आकर्षण बढ्दो

blog

रमेश विश्वकर्मा  

गुल्मी, कात्तिक ९ गते । गुल्मीका ग्रामीण क्षेत्रका कृषक आलुखेती गर्न निकै व्यस्त छन् । जिल्लाको मुसिकोट नगरपालिकाका महिला कृषक समूहमा आबद्ध भएर आलुखेती गर्न उहाँहरु व्यस्त हुनुभएको हो ।  

त्यस नगरपालिकाको वडा नं.–७ वामीटक्सारमा रहेको लक्ष्मीनारायण महिला कृषि सहकारी संस्थाले सामुहिक आलुखेती गर्न महिलालाई प्रोत्साहित गर्दैआएको छ । सो सहकारीमार्फत वडा नं.– ८ मा गठित अमृतपुर आलु तथा अलैंची उत्पादक कृषक समूहले पनि कृषकलाई समूहमा काम गर्न प्रोत्साहित गरेको छ ।

समुहमा आबद्ध आलु कृषकहरुले ६५ क्विन्टल आलु लगाएका छन् । यस वर्ष राम्रो आलु उत्पादन भएको कृषकहरुको भनाइ छ । 

वडा नं.–८ को मैदान, सन्क्यौल, रुक्से र आगोपारेका महिला मिलेर गठन गरेको समूहलाई सहकारीले कृषि ज्ञान केन्द्र गुल्मीको सहयोगमा अनुदान  उपलब्ध गराएको छ । सहकारीमा हालसम्म पाँच सयजना सदस्य आबद्ध छन् । सहकारीले महिलालाई कृषि पेशामा प्रोत्साहित गरेसँगै मासिक बचत गर्न  सजिलो भएको महिला कृषकको भनाइ छ ।

“मासिक रुपमा सहकारी सदस्य तथा समुहका महिलाबाट बचत उठाउँदै आएका छौं” सहकारीकी प्रबन्धक कृष्णा गुरुङले भन्नुभयो, “ऋण उपलब्ध पनि गराएका छौं । सहकारीले पहिलो कृषि हाटबजार समेत सञ्चालनमा ल्याएको छ ।” मौरीपालनसम्बन्धी कार्यक्रम पनि गरेको उहाँले बताउनुभयो । 

२०६६ देखि व्यावसायिक रुपमा आलुखेती गर्दैआएका कृषकलाई सहकारी आफैले बीउ उपलब्ध गराउनुका साथै प्राविधिक ज्ञान र उत्पादित सामग्रीको बजारीकरणमा समेत सहयोग गरेको छ । सहकारीमार्फत सो समुहमा आबद्ध कृषकलाई बीउ लगायतमा अनुदान दिइएको ज्ञान केन्द्रले जनाएको छ । 

आलुखेतीबाट महिलालाई आत्मनिर्भर बनाई कृषिप्रति प्रोत्साहित गर्न र महिला उद्यमी सिर्जना गर्न समूह मार्फत आलु मिसन कार्यक्रम सञ्चालन गरिएको छ । एक सय रोपनी क्षेत्रफलमा ढोरपाटनको आलुको बीउ ल्याएर सहकारी आफैले समुहलाई उपलब्ध गराएको सहकारीकी अध्यक्ष यमुना घिमिरेले बताउनुभयो । “महिलालाई आर्थिक र व्यावसायिक सशक्तिकरणमा अघि बढाउन कृषिसँग जोडेर सहकारीले अन्य थुप्रै कार्यक्रम सञ्चालन गरेको छ” उहाँले भन्नुभयो, “मुसिकोट नगरपालिकालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउँछौं ।” 

सहकारीले आफूहरुलाई बीउ, उत्पादन र बजारीकरण हरेक क्षेत्रमा सहयोग गरेकाले खेती गर्न सजिलो भएको अमृतपुर आलु तथा अलैंची उत्पादक समूहकी सचिव दिलमाया रानाले बताउनुभयो । समूहमा आबद्ध भएर आलुखेती गर्दा प्राविधिक तथा अन्य आवश्यक ज्ञान प्राप्त गर्न समेत सहज भएको उहाँको भनाइ छ ।  त्यस्तै, सहकारीले अनुदान उपलब्ध गराएर खेती गर्न उत्प्रेरित गरेको समूहकी अध्यक्ष कुमारी सिजांलीले बताउनुभयो । महिलालाई आत्मनिर्भर बनाउन सहकारीले ठूलो भूमिका खेलेको उहाँको भनाइ छ ।