सल्यान, कात्तिक ८ गते। सल्यानमा एक पुरुष पोखरीमा डुबेर बेपत्ता भएका छन्। बन्गाड कुपिन्डे नगरपालिका–७ मैदु पोखरीमा डुबेर ४० वर्षीय तिलक कामी बेपत्ता हुनुभएको हो।
दिउँसो एक बजे नुहाउने क्रममा डुबेर बेपत्ता हुनुभएको हो। बेपत्ता कामी डुबेको पोखरीस्थित अहिले बन्गाड कुपिन्डे नगरपालिकाको सल्ली बजारस्थित प्रहरी टोली घटनास्थलमा गएर खोजी कार्य सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दामोदर केसीले गाई बाख्रालाई पानी खुवाउनका लागि स्थानीयले निर्माण गरेको पोखरीमा कामी बेपत्ता भएको बताउनुभयो। उहाँका अनुसार पोखरीको गहिराई ६ फिट रहेको छ। मानव निर्मित भएकाले पोखरीको पानी हटाउन थालिएको छ।
गत असोज १९ गतेदेखि लगातार सातासम्म परेको अविरल वर्षाका कारण अहिले भरिभराउ हुँदा ताल जस्तो भएको छ।