• १९ असार २०८१, बुधबार

‘संविधान र उपलब्धि रक्षाका लागि गठबन्धन’

blog

संयुक्त प्रशिक्षण भेलामा उपस्थित हुनु भएका लोकतान्त्रिक गठबन्धन दलका शीर्ष नेताहरु। तस्बिर : अविनाश

अविनाश चौधरी

धनगढी, कात्तिक ६ गते । सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूले संविधान र उपलब्धि रक्षाका लागि मुलुकमा पाँच दलीय गठबन्धन बनेको बताउनु भएको छ। 

सुदूरपश्चिम प्रदेशको धनगढीमा आइतबार आयोजित संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्नुहुँदै उहाँहरूले संविधान कुल्चने, गणतन्त्रलाई उल्ट्याउने चेष्टा भएपछि प्रतिगमनको विरुद्ध अग्रमणको गठबन्धन भएको उल्लेख गर्नुभयो।  

गठबन्धनको मूल उद्देश्य जनताको सङ्घर्षबाट प्राप्त संविधानको रक्षा गर्नु रहेको उहाँहरूको भनाइ थियो। मुलुकमा जबजब सङ्कटको बादल मडारिएको छ, त्यो बेला कांग्रेस र वामपन्थी शक्ति मिलेर त्यसविरुद्ध लड्दा ठूलठूला परिवर्तन भएको नेताहरूले उल्लेख गर्नुभयो। 

भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीसमेत रहनु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रात्मक सङ्घीय प्रणालीलाई बचाउनका लागि गठबन्धनको आवश्यकता परेको बताउनुभयो। सङ्घीयता बचाउन र विकासका लागि गठबन्धनको जित हुन आवश्यक रहेको उहाँको भनाइ थियो। 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एउटा विशिष्ट परिस्थितिमा गठबन्धन बनेको उल्लेख गर्नुहुँदै  गठबन्धन दलको भाषा, स्पिरिट एउटै रहेको बताउनुभयो। उहाँले गठबन्धन पराजित भएमा मुलुक फेरि दुर्घटनातिर जाने खतरा रहेको उल्लेख गर्नुभयो। 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अग्रगमन पक्षधर दलबीचको एकता र गठबन्धन स्वाभाविक रहेको उल्लेख गर्नुहुँदै गठबन्धनको उद्देश्य पवित्र रहेको बताउनुभयो। ‘जनतालाई विकास र सुशासनको प्रत्याभूति गराउन गठबन्धन गरेका हौँ’, उहाँले भन्नुभयो। 

नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहनु भएका गठबन्धनका संयोजक रामचन्द्र पौडेलले गठबन्धन दलको यो अभियान लोकतन्त्र रक्षाको महा अभियान रहेको बताउनुभयो। यसैगरी, जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले प्रतिगमनविरुद्ध लडाइँका लागि पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्नुभयो।