• १३ साउन २०८१, आइतबार

मतदाताले मागे गाउँमा मोबाइल टावर

blog

बुलबुले समाचारदाता

सुर्खेत, कात्तिक ६ गते । दैलेखको गुराँस गाउँपालिकामा मोबाइल फोनको नेटवर्कसम्म भरपर्दो छैन । दूरीका हिसाबले प्रदेश राजधानीसँगै जोडिएको नजिकको पालिका हो । त्यस क्षेत्रमा नेपाल टेलिकमको टावरले राम्रो काम गर्दैन । सञ्चार सम्पर्कका लागि नेटवर्क खोज्दै अग्ला डाँडा खोज्नुपर्ने यहाँका बासिन्दाको बाध्यता छ । 

फोन सम्पर्क नहुने समस्याले स–साना कामका लागि पनि भौतिक रूपमै उपस्थित हुनुपर्छ । यतिसम्म कि पालिकाको केन्द्र रहेको रानीमत्तामा नै फोनको नेटवर्क छैन । गुराँस गाउँपालिका–३ की सीता विक गाउँमा कोही बिरामी पर्दा एम्बुलेन्स बोलाउनसमेत समस्या हुने गरेको बताउनुहुन्छ । 

उहाँको वडामा मोबाइल नेटवर्कले राम्ररी काम गर्दैन । उहाँ भन्नुहुन्छ, “हामीलाई सञ्चार सम्पर्कका साह्रै दुःख छ । स्वास्थ्य संस्था र प्रहरी चौकी नजिक छैनन् । केही स्वास्थ्य समस्या भइहाले हत्तपत्त खबर गर्नै कठिन हुन्छ ।” यो पालिकामा अहिले सूचनाको भरपर्दो एक मात्र माध्यम भनेकै रेडियो बनेको छ ।

दैलेखको क्षेत्र नं. २ मा पर्ने दुल्लू नगरपालिकालाई २०७४ को चुनावमा स्थानीय तहदेखि प्रतिनिधि सभाका उम्मेदवारसम्मले प्रविधियुक्त नगर (स्मार्ट सिटी) बनाउने प्रतिबद्धता जनाएका थिए । त्यसका लागि इन्टरनेटको पहुँच विस्तार गर्ने उनीहरूका वाचा थिए । सबैतिर विद्युत्को समेत पहुँच नभएको उक्त क्षेत्रमा यो योजना आश्वासनमै सीमित भयो । सडक सञ्जालसमेत भरपर्दो नहुँदा यहाँका नागरिकले निकै सास्ती खेप्दै आएका छन् । यसपालि पनि यस्तै एजेन्डा लिएर उम्मेदवार मतदाताका घरदैलोमा पुगेका छन् ।

पश्चिम सुर्खेतका तीनवटै पालिकामा सञ्चार सम्पर्क गर्न कठिनाइ छ । यी पालिकाका धेरैजसो ठाउँमा मोबाइल फोनले राम्रोसँग काम गर्दैन । 

पञ्चपुरी नगरपालिका–२ का मनबहादुर खत्रीले पश्चिम सुर्खेतका बासिन्दाको सबैभन्दा ठूलो समस्या सञ्चार भएको बताउनुुभयो । त्यहाँ नेपाल टेलिकमको टावरले सबैतिर टिप्दैन । घाम लागेन भने मोबाइलको टावर नै नहुने समस्या छ । मङ्सिर ४ मा हुने संसदीय निर्वाचनका लागि यतिबेला घरदैलो गरिरहेका उम्मेदवारले पनि उही आश्वासन बाँडिरहेका छन् । गएका पाँच वर्षमा पश्चिम कुनै पनि भूगोलमा सञ्चार क्षेत्रको सुधारका लागि केही पनि काम हुन नसकेको खत्रीले बताउनुभयो ।

पश्चिम सुर्खेतमा विकासका अन्य पूर्वाधारको पनि बिजोग छ । धेरै नागरिक अहिले पनि सडक पूर्वाधार र विद्युत्को समेत पहुँचमा छैनन् । निर्वाचनका बेला सधैँ एजेन्डा बन्ने यी विषय निर्वाचित भएपछि नेताले बिर्सिन्छन् । पञ्चपुरी नगरपालिका–३ की डिला चपाईंले अरू सुविधा त धेरै टाढाको कुरा भइहाल्यो, आफूहरूले आधारभूत सेवासमेत पाउन नसकेको गुनासो गर्नुभयो । उहाँका अनुसार गत असोजमा पञ्चपुरीमा झन्डै एक महिना नै मोबाइलको नेटवर्कले काम गरेन । खानेपानी, बिजुली बत्ती, सडक र टेलिफोनको समस्या ज्युँकात्युँ छ । अहिले फेरि त्यही आश्वासन बोकेर उम्मेदवारले मतदाता फकाउँदै छन् ।

२०७४ मा भएको तीन तहकै निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले सूचना प्रविधिमैत्री बनाउने, चोक–चोक र सार्वजनिक स्थलमा इन्टरनेट सेवा (फ्री वाइफाई)को प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका थिए । तर उक्त प्रतिबद्धताअनुसार कुनै पनि क्षेत्रमा काम भएको छैन । अहिले उनै पुराना एजेन्डा लिएर पुनः उम्मेदवारहरू भोट माग्न थालेका छन् । दैलेख क्षेत्र नं. १ प्रदेश सभा (क)मा नेकपा (एमाले)का उम्मेदवार धर्मराज रेग्मी आफ्नो निर्वाचन क्षेत्र रहेका तीनवटै पालिकामा टेलिफोन सेवा प्रभावकारी बन्न नसकेको स्वीकार गर्नुहुन्छ । उहाँ सोही क्षेत्रबाट अघिल्लो प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । गुराँससहित तीनवटा पालिका उहाँको निर्वाचन क्षेत्रमा पर्छन् । त्यतिबेला उहाँले पनि टेलिफोनका टावर निर्माण, विद्युतीकरण, इन्टरनेटको पहुँच विस्तार र सामुदायिक विद्यालयलाई प्रविधियुक्त बनाउने वाचा गर्नुभएको थियो । तीमध्ये केही कामहरू भएको र बाँकी योजनालाई पूरा गर्न आफूले यसपालि फेरि उम्मेदवारी दिएको रेग्मीको दाबी छ ।

सुर्खेत क्षेत्र नं. २ प्रदेश सभा (ख)मा नेकपा (एकीकृत समाजवादी)बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका मोहनसिंह बडुवालको चुनावी एजेन्डा पनि सडकको स्तरोन्नति र सञ्चारको पहुँच विस्तारमा केन्द्रित छन् । पहिलो पटक संसदीय निर्वाचनको उम्मेदवार बनेका उहाँले आफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई सूचना प्रविधिमा जोड्न इन्टरनेट सेवाको विस्तारमा पनि प्राथमिकता दिइने बताउनुुभयो ।