• १९ असोज २०८१, शनिबार

क्षतिपूर्ति कोष स्थापना गर्न आह्वान

blog

काठमाडौँ, कात्तिक ६ गते । एम्नेस्टी इन्टरनेसनलले दुव्र्यवहारमा परेका आप्रवासी श्रमिकको क्षतिपूर्तिका लागि कोष स्थापना गर्न कतार सरकार र फिफालाई आह्वान गरेको छ । 

विश्वकप प्रतियोगिता सुरु हुन एक महिना बाँकी रहे पनि कतारमा रङ्गशाला बनाउने काममा खटिएका आप्रवासी श्रमिकमाथि भएको शोषण र दुव्र्यवहार कायमै रहेको भन्दै एम्नेस्टीले दुव्र्यवहारमा परेका श्रमिकको क्षतिपूर्तिका लागि कोषको स्थापना गर्न कतार सरकार र फिफालाई आह्वान गरेको हो ।  

सन् २०१७ देखि कतारले आफ्नो श्रम प्रणालीमा विभिन्न परिवर्तन गर्दै आएको छ तर यी सुधार पूर्ण रूपमा कार्यान्वयन नहुँदा आप्रवासी श्रमिकमा पार्न सक्ने प्रभावलाई कमजोर बनाइरहेको एम्नेस्टीको ठहर छ ।

एम्नेस्टी इन्टरनेसनलका आर्थिक र सामाजिक न्याय प्रमुख स्टिभ ककबर्नले विज्ञप्तिमार्फत भन्नुुभएको छ, “पछिल्ला पाँच वर्षमा कतारले श्रम अधिकारमा महत्वपूर्ण फड्को मारेको छ तर यति मात्र पर्याप्त होइन । सुधारको दिशामा कतारले अझै धेरै लामो दूरी तय गर्न जरुरी छ, यसका साथै सुधार भएका कानुनको पनि पूर्ण कार्यान्वयन नहुँदा अझैँ पनि हजारौँ श्रमिक शोषण र दुव्र्यवहारमा परेका छन् ।”

एम्नेस्टीले कतारमा सञ्चालित विभिन्न परियोजनामा नेपालसहित धेरै देशका हजारौँ श्रमिक कार्यरत छन् । ती श्रमिकले अझै पनि तलब नपाउने, पाए पनि ढिलो गरी पाउने, आरामका लागि छुट्टी नपाउने, असुरक्षित अवस्थामा काम गर्नुपर्ने, काम परिवर्तन गर्न नपाउने तथा न्यायमा सीमित पहुँचको सामना गरिएको एम्नेस्टीले जनाएको छ । 

एम्नेस्टीका अनुसार कतारको ती परियोजनामा कार्यरत रहेकै अवस्थामा ज्यान गुमाएका हजारौँ श्रमिकको मृत्युको कारणबारे अनुसन्धान हुन सकेको छैन ।  

विश्वकप प्रतियोगिता नजिकिँदै गर्दा आप्रवासी श्रमिकलाई शोषणबाट जोगाउन र दुव्र्यवहारमा परेकालाई क्षतिपूर्ति दिने काम सुरुवात भए पनि यसको निरन्तरताका लागि कतार सरकार प्रतिबद्ध हुनुपर्ने एम्नेस्टी इन्टरनेसनलको भनाइ छ ।   

वैदेशिक रोजगारविज्ञ रामेश्वर नेपालले कतारले पछिल्लो पाँच वर्षको अवधिमा मानव अधिकारका क्षेत्रमा धेरै सुधार गरे पनि अझै धेरै श्रमिक शोषणमा रहेको बताउनुुभयो । उहाँका अनुसार यस अवधिमा कतारले दुईवटा प्रमुख अन्तर्राष्ट्रिय महासन्धिलाई पनि अनुमोदन गरेको छ तर आप्रवासी श्रमिकको ट्रेड युनियनमा सामेल हुने अधिकारलाई भने मान्यता दिएको छैन ।