• १३ साउन २०८१, आइतबार

कर्णाली राजमार्गका ढुङ्गा फुटाइँदै

blog

जुम्ला समाचारदाता

जुम्ला, कात्तिक ५ गते । वर्षापछिको भीषण पहिरोले कर्णाली राजमार्गमा खसेका ठूलाठूला ढुङ्गा फुटाउन ‘ब्लास्टिङ’ (विस्फोट) सुरु गरिएको छ । कर्णाली राजमार्गको नाग्मदेखि राँचुली खण्डमा दुई दिनअघिदेखि नेपाली सेना र डिभिजन सडक कार्यालयको समन्वयमा सडकमा खसेका ठूला ढुङ्गा ‘ब्लास्टिङ’ गरिएकोे हो ।

नेपाली सेना नन्दबक्स गणका गणपति रवीन थापाका अनुसार दुई दिनअघिबाट नेपाली सेनाले सडक डिभिजनको समन्वयमा ‘ब्लास्टिङ’ गरिरहेका छन् । नेपाली सेनाको नन्दबक्स गणका उपसेनानी सन्तोष केसीको नेतृत्वमा ५० जनाको टिम सो क्षेत्रमा खटिएको गणपति थापाले जानकारी दिनुभयो ।

एक्साभेटरले उठाउन नसकिने ढुङ्गा भएकाले ‘ब्लास्टिङ’ गर्नु परेको डिभिजन सडक कार्यालयले जनाएको छ । डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो । उहाँले भत्किएका सडकमा जाली भरेर पर्खाल लगाउने काम पनि सुरु गरिएको जनाउँदैै सबैभन्दा कठिन राँचुलीबाट नाग्म खण्ड बनाउन सकिएमा कर्णाली राजमार्ग नियमित सञ्चालन हुने जानकारी दिनुभयो । यसका लागि कम्तीमा १० दिन लाग्ने अनुमान उहाँले गर्नुभयो ।

कर्णाली राजमार्ग आधा महिनादेखि बन्द हुँदा जुम्लामा खाद्यसामग्री र दैनिक उपभोग्य सामग्री अभाव हुन थालेको छ । पेट्रोलियम पदार्थ सकिएको छ । डिजेल सकिँदा सडकको काम पनि रोकिन सक्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।

राँचुली र कनकासुन्दरीमा खोजी तथा उद्धार

बाढीपछिको पहिरोले कर्णाली राजमार्गको राँचुलीमा मलामी गएका १३ जना बेपत्ता भएका र कनकासुन्दरी गाउँपालिका–५, बारकोटेवाडाका सात जनाको खोजी तथा उद्धार जारी छ । गणपति रविन थापाका अनुसार उक्त स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोज, उद्धार तथा भत्केका संरचना मिलाउने काम गरिरहेको छ । कनकासुन्दरीमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली दुई दिन लगाएर राहत सामग्री लिएर सो स्थानमा खटिएको थियो । कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यले सिन्जामा पहिरोले घर भत्किएर मानवीय क्षति भएको क्षेत्र र विपत् प्रभावित क्षेत्रमा अनुगमन भइसकेको बताउनुभयो ।