• ११ मंसिर २०८१, मङ्गलबार

सांस्कृतिक विविधता संरक्षणमा रेडियो

blog

केही दिनअघि भौतिक जीवनबाट विश्राम लिनुभएका संस्कृतिविद् सत्यमोहन जोशीले हरेक पटक भेट भएको समयमा संस्कृति संरक्षणमा सञ्चार क्षेत्रको ठूलो भूमिका हुने बताउँदै हाम्रोजस्तो विविधता भएको देशमा स्थानीय रेडियोले संस्कृति संरक्षणमा महìवपूर्ण भूमिका खेल्नुपर्ने बताउनुहुन्थ्यो। नेपाल सांस्कृतिक रूपले धनी देश हो र सांस्कृतिक विविधतालाई सम्मान गर्ने देश पनि हो। सबै संस्कृतिको संरक्षण, सम्मान गर्न सकियो भने मात्रै सबैको पहिचानको रक्षा हुन्छ र राष्ट्रिय एकता पनि बलियो हुन्छ। नेपालका अधिकांश नागरिकको आफ्नो मौलिक संस्कृति, भाषा, रीतिथिति, चाडपर्वमा आस्था छ। सांस्कृतिक सम्पदा, धरोहर, मठमन्दिर तथा विभिन्न खाले पर्व, जात्राले यहाँको सांस्कृतिक विविधतालाई अझै धेरै फैलाएको छ। हिमाल, पहाड र तराई क्षेत्रमा बसोबास गर्नेहरूको संस्कृति, परम्परा, पर्व तथा चाडबाडहरू पनि बेग्लाबेग्लै खालका छन्। ती संस्कृति, परम्परा, पर्व तथा चाडपर्वहरूको बारेमा स्थानीय रेडियोहरूले प्रचारप्रसार गर्ने काम गरिनै रहेका छन्। पौराणिक सांस्कृतिक महìव बोकेका सम्पदा, स्मारक, मठमन्दिर र तथा गुम्बाहरू पनि विविधताको सम्मान र प्रतिनिधित्व गर्दै देशभरि फैलिएका छन्। त्यसको प्रचारप्रसार गर्ने कार्य पनि जिल्ला जिल्लामा खुलेका सामुदायिक रेडियो र स्थानीय रेडियोहरूले गरिरहेका छन्। कुनै देश वा भूगोलमा बस्ने जाति–समुदायको संस्कृति भनेको उनीहरूका गीत, सङ्गीत, कलाकारिता, लवाइखुवाइ, चाडपर्व, धर्मकर्म, पूजाआजा, अनुष्ठान मात्र होइनन्, ती सम्पूर्णमा अन्तरनिहित प्रतीकात्मक अर्थपूर्णताले मात्र संस्कृतिको परिभाषा दिन्छ। त्यसलाई बुझाउने र संस्कृतिको संरक्षण गर्ने कार्यमा सबै प्रकारका सञ्चारमाध्यमका साथै रेडियोले पनि अझ धेरै ठूलो भूमिका खेल्न सक्छ। 

नेपालमा एफ.एम रेडियोको स्वामित्वको प्रकृतिमा छ प्रकार देखापर्छ। व्यक्ति वा व्यापारिक प्रतिष्ठान, गैरसरकारी संस्था, सहकारी संस्था, स्थानीय तह, शैक्षिक प्रतिष्ठान र सरकारद्वारा सञ्चालित रेडियोहरू अभ्यासमा छन्। व्यक्ति वा व्यापारिक प्रतिष्ठानको लगानी रहेको रेडियोले आफूलाई व्यापारिक र गैरनाफामुखी उद्देश्यले सञ्चालित भएको भन्दै आफूलाई सामुदायिक भन्ने गरेका छन्। तर जुन प्रकारको रेडियो भए पनि रेडियो नेपाललगायत देशभरि प्रसारणमा रहेका सात सयभन्दा बढी रेडियोले स्थानीय संस्कृति संरक्षणमा ठूलो भूमिका खेल्न सक्छ। सामुदायिक रेडियोहरूले प्रमुख उद्देश्यमै भाषा र संस्कृतिमै जोड दिने भनेर उल्लेख गरेको पाइन्छ। कुनै पनि देशको इतिहास र मानव सभ्यताको सम्पत्तिमध्ये संस्कृति पनि महत्वपूर्ण अंश हो भन्ने कुरा रेडियोले समुदायलाई बुझाएर समुदायलाई संस्कृति संरक्षणमा उत्प्रेरित गराउने काम गर्नुपर्छ। संस्कृति र भाषाकै माध्यमबाट विश्वका ठूला ठूला राष्ट्रहरूको शक्ति कसरी मापन हुन्छ भन्ने कुरा सबैले बुझ्नु पर्छ। 

नेपालको सुदूरपश्चिमको संस्कृतिदेखि पूर्व क्षेत्रका किराँतहरूको संस्कृति अनि काठमाडौँको नेवारहरूको नेवाः संस्कृतिदेखि मधेशको मिथिला वा थारू संस्कृति कति धेरै विविधता छन्। धेरै महत्व बोकेका छन्। त्यसलाई मसिनो ढङ्गले केलाएर रेडियोले सिर्जनात्मक तरिकाले प्रस्तुत गर्दा त्यसले सबैको मानसपटलमा सकारात्मक ऊर्जा दिन्छ र सम्मान र सद्भावको भावनाको विकास गर्दछ। बर्दियामा रहेको गुरुबाबा एफ.एम थारू भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले खुलेको थियो र यसले स्थापनाकालदेखि नै थारू भाषा र संस्कृतिको संरक्षणमा योगदान गर्दै आएको छ। जनकपुरमा रहेको जानकी एफ.एमले पनि मिथिला संस्कृतिको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेलेको छ। काभ्रेको धुलिखेलमा रहेको रेडियो नमोबुद्धले बौद्ध संस्कृति र तामाङ संस्कृतिको संरक्षणलाई प्रमुख उद्देश्य मान्दै काम गर्दै आएको छ। बाँकेको नेपालगञ्जमा मुस्लिम समुदायद्वारा सञ्चालित रुवरु एफएमले मुस्लिम समुदायको संस्कृतिको संरक्षणमा आफ्नो प्रसारणको अधिकांश समय छुट्याएको छ। 

युवा पुस्ताले विदेशी संस्कृतिको अनुकरण गर्दै नेपालका मौलिक संस्कृतिहरू लोप हुन लागेको अवस्थामा अब सबै रेडियोले अभियानात्मक कार्यक्रम गरी मौलिक संस्कृतिको प्रचार प्रसार र संरक्षण गर्नुपर्छ। कतिपय संस्कृति धर्मसँगै जोडिएर आएकोले त्यसलाई सञ्चार माध्यमले उठाउनु हुँदैन कि भन्ने भ्रम पनि हुन सक्छ तर सनातन धर्म, किराँतलगायतका प्राकृतिक धर्म, बौद्ध धर्मलगायत हाम्रै देशमा उत्पन्न भएका धर्म संस्कृतिको संरक्षण भनेको हाम्रो इतिहासको संरक्षण हो, मौलिकताको संरक्षण हो, पहिचानको संरक्षण हो भन्ने कुरा कसैले पनि भुल्नु हँुदैन अझ पत्रकारले त लेख्दा वा बोल्दा सम्झिरहनु पर्छ। समाजको तल्लो तह वा पिँधमा पुगेर हेर्दा सृष्टिको उषाकालदेखि नै हाम्रा ऋषिमुनिहरूले आफ्नो तपस्या, धर्मसाधना र परोपकारबाट आर्जन गरेका बौद्धिक ज्ञान र प्राकृतिक ज्ञान संस्कृतिको रूपमा रहेका पाइन्छन् ती आज पनि उत्तिकै महत्वपूर्ण छन्। त्यस्ता कुराहरूलाई स्थानीय रेडियोले नै उठाएर रेडियोहरूले प्रचार प्रसार गर्नुपर्छ। संस्कृति राउटे, चेपाङ र नेवारको पनि हुन्छ। रेडियोले सबैको संस्कृतिको सम्मान गर्नुपर्छ समान रूपले हेर्न सक्नुपर्छ। पहिले पहिले रेडियो नेपालले एकै भाषा र संस्कृतिलाई प्राथमिकता दियो भनेर आलोचना भएपछि त्यहाँ अन्य भाषा र संस्कृतिलाई पनि समय छुट्याउने काम भयो। त्यस्तै सबै रेडियोले आफ्नो रेडियोको प्रसारण क्षेत्रमा भएका समुदायलाई समान प्राथमिकता दिएर प्रसारण गर्नुपर्छ। 

संस्कृित परिवर्तनशील विषय भएकोले गलत संस्कृतिहरू छन् भने त्यसको परिवर्तनको वकालत पनि रेडियोले गर्दै आएका छन् र गर्नु पनि पर्छ। विभिन्न जाति वा समुदायले अपनाउँदै आएका कतिपय सांस्कृतिक परम्परा आधुनिक र मानववादी दृष्टिकोणबाट हेर्दा सुधार गरिनुपर्ने अवस्था देखिएको छ भने त्यसका लागि पनि रेडियोले छलफल चलाउनु पर्छ। दाइजो प्रथा, छाउपडी, बालविवाहलगायतका विषयमा रेडियोले आवाज उठाउँदै आएका छन्। धार्मिक तथा सांस्कृतिक मूल्य मान्यताको संरक्षण र सुधार एवं सामाजिक न्याय, छुवाछूत र विभेदको अन्त्य गरी समानतामा आधारित, समावेशी र लोकतान्त्रिक समाजको निर्माणमा रेडियोले सघाउँदै आएका छन् र अझै यो कार्य प्रभावकारी ढङ्गले अघि बढ्नु पर्छ। 

त्यस्तै देशमा विद्यमान सांस्कृितक सम्पदाको माध्यमबाट पर्यटन उद्योगलाई सहयोग पु¥याउन र समाजमा रोजगारीको अवसर वृद्धि गर्न, सबै जाति र समुदायका संस्कृतिलाई समान अवसर प्रदान गर्ने नीति अवलम्बन गर्ने खालको नीति निर्माण गर्नका लागि तीनै तहका सरकारलाई दबाब दिने काम पनि रेडियोले गर्न सक्छ। राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्को र सामुदायिक रेडियो प्रसारक सङ्घका विभिन्न प्रकाशन हेर्दा रेडियोका समाचारमूलक, जानकारीमूलक र मनोरञ्जनात्मक कार्यक्रमहरूमा संस्कृतिका सवालहरू उठ्ने गरेका छन्। अधिकांश रेडियोले हरेक दिन बिहानको एक घण्टाको समय धार्मिक तथा सांस्कृतिक कार्यक्रमको लागि छुट्याएको, उनीहरूको प्रसारण तालिका अध्ययन गर्दा देखिन्छ तर त्यसले संस्कृतिको पाटोलाई भनेको जस्तो गरी समेट्न सकेको देखिँदैन। रेडियोबाट योजनाबद्ध तवरले सङ्गीत, मानवआवाज र विभिन्न साउन्ड इफेक्टको प्रयोग गरेर रेडियोबाट संस्कृति संरक्षणका कार्यक्रम गर्न सक्यो भने त्यो रेडियोलाई समुदायले रुचाउँछ र आफ्नो भनेर सुन्ने गर्छ।

एफ.एम रेडियोमा अधिकांश समय गीत बज्ने र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुने भएकोले त्यो मनोरञ्जनसँगै संस्कृति र भाषाको कुरालाई जोड्न सकिन्छ। सांस्कृतिक महोत्सव, मेला वा सांस्कृतिक धरोहरको विषयमा रेडियोले प्रत्यक्ष प्रसारण गरेर त्यसको प्रचार प्रसार गर्न सक्छ। नेपालमा सामुदायिक रेडियोको विकास दक्षिण एसियामा नै नमुनाको रूपमा भएको छ। अब ती रेडियोका कार्यक्रममा अझै धेरै संस्कृतिका कुरालाई प्राथमिकता दिन सकियो भने संस्कृति संरक्षणमा ठूलो योगदान पुग्न सक्छ। रेडियोहरूले आगामी दिनमा यसलाई बढीभन्दा बढी समय छुट्याउनु पर्छ र श्रोताहरूले पनि आफ्नो संस्कृतिको बारेमा नजिकको रेडियोमा गएर जानकारी गराई प्रसारण गर्न लगाउनु पर्छ।