• १२ असोज २०८१, शनिबार

रकम फिर्ता गर्न निर्देशन

blog

काठमाडौँ, कात्तिक ५ गते । वैदेशिक रोजगार विभागले द रिभर ओभरसिज कम्पनीलाई मलेसिया जाने युवाबाट उठाइएको बढी रकम फिर्ता गर्न निर्देशन दिएको छ । 

मौखिक उजुरीका आधारमा वैदेशिक रोजगार विभागले मङ्गलबार अनुुगमन गर्दा रोजगारीका लागि मलेसिया जाने १९ युवाबाट प्रतिव्यक्ति दुुई लाख ३० हजार रुपियाँका दरले पैसा लिएको पाइएको जनाइएको छ । ती युवा बुधबार मलेसिया प्रस्थान गरेका छन् । 

विभागको टोली द रिभर ओभरसिज कम्पनीको अनुगमनको क्रममा ती युवासँग सोधपुछ गर्दा १९ जनाले ४१ लाख ४३ हजार रुपियाँ म्यानपावर कम्पनीको लेखा शाखामा बुझाइसकेको पाइएको विभागले जानकारी दिएको छ । विभागका अनुसार म्यानपावर कम्पनीले लिएको रकम श्रमिकका आफन्तलाई फिर्ता गर्ने लिखित प्रतिबद्धता गरिएको छ । 

अनुुगमनका क्रममा उक्त कम्पनीले मलेसियामा २० जना श्रमिकलाई आफ्नो म्यानपावर कम्पनीमार्फत पठाउन लागेको तर देवान कन्सल्ट्यान्ट प्रालिबाट भिसा र श्रम स्वीकृति लिएको पाइएको छ । 

भिसा र श्रम स्वीकृति देवान कन्सल्ट्यान्ट प्रालिबाट लिएको भए पनि ती युवालाई आफूले नै पठाउन लागेको र मलेसिया पुगिसकेपछि पनि सबै जिम्मेवारी आफूले नै लिने द रिभर ओभरसिज प्रालिले जनाएको छ । 

खाडी मुलुक र मलेसियामा रोजगारीमा जाने श्रमिकसँग अधिकतम १० हजार रुपियाँ मात्र सेवा शुल्क लिन पाउने कानुनी व्यवस्थाको उल्लङ्घन गर्दै वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले खुुलेआम मनलाग्दी पैसा असुल गरेको पाइएको हो । 

निःशुल्क भिसा, टिकट, स्वास्थ्य परीक्षण तथा सबै प्रकारका सेवा शुल्क नलाग्ने गरी शून्य लागतमा श्रमिक छनोट गर्नुपर्ने गरी सम्झौता गरेको देश मलेसियामा समेत श्रमिक पठाउँदा मनलाग्दी पैसा असुल गरेको पाइएको छ । नेपाल र मलेसियाबीच सन् २०१८ मा भएको द्विपक्षीय श्रम सम्झौतामा शून्य लागतमा मलेसियामा नेपाली श्रमिक पठाउने उल्लेख छ ।