• २० असोज २०८१, आइतबार

विदेशी मुद्रा सञ्चिति दबाबमै

blog

काठमाडौँ, कात्तिक ५ गते । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार साउन र भदौमा एक खर्ब ८७ अर्ब रुपियाँ विपे्रषण भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.८ प्रतिशतले बढी हो । 

भदौमा खासगरी चाडपर्व लक्षित विपे्रषण आउने भएकाले पनि यो समय विपे्रषण बढ्ने गरेको छ । भदौमा मात्रै ९५ अर्ब रुपियाँ विपे्रषण आएको छ । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या पनि बढेको छ । राष्ट्र बैङ्कका अनुसार भदौसम्म यस्तो स्वीकृति लिनेको सङ्ख्या १६९.९ प्रतिशतले बढेर एक लाख चार हजार पुगेको छ । त्यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या पनि ७०.६ प्रतिशतले बढेर ३९ हजार नाघेको छ । 

आयात प्रतिबन्ध कायमै

बढ्दो व्यापार घाटाका कारण विदेशी मुद्रा सञ्चितिको दबाबमा परेको नेपालका लागि त्यो अवस्था अझै कायमै छ । असार मसान्तमा नौ अर्ब ५४ करोड रुपियाँ डलर सञ्चिति रहेकामा भदौ मसान्तमा २ प्रतिशतले घटेर नौ अर्ब ३५ करोड डलर कायम छ । यो विदेशी मुद्रा सञ्चिति ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । 

गत साउनसम्म सञ्चित विदेशी मुद्राबाट नेपालले आठ महिनाको वस्तु तथा सेवा धान्न सक्ने अवस्था बनेको थियो । विदेशी मुद्रा सञ्चितिमा परेको दबाबलाई कम गर्न सरकारले केही वस्तुमा लिएको आयात प्रतिबन्धको नीति भने अहिलेसम्म कायमै छ । 

चालू खाता ३७ अर्बले घाटामा

भदौसम्म मुलुकको चालू खाता ३७ अर्ब १८ करोड रुपियाँले घाटामा छ । चालू खाता घाटा गत वर्षको भदौको तुलनामा भने सुधार भएको हो । गत वर्षको भदौमा चालू खाता एक खर्ब छ अर्ब रुपियाँले घाटामा थियो । 

त्यस्तै समीक्षा अवधिमा शोधनान्तर अवस्था २३ अर्ब ६८ करोड रुपियाँले घाटामा रहेको छ । गत वर्षको भदौमा यस्तो स्थिति ९४ अर्ब रुपियाँले घाटामा थियो । 

महँगी बढ्यो 

राष्ट्र बैङ्कका अनुसार भदौ महिनामा महँगी ८.६४ प्रतिशतले बढेको छ । जब कि अघिल्लो वर्षको भदौमा ३.४९ प्रतिशत मात्र थियो । समीक्षा अवधिमा गैरखाद्य तथा सेवा समूहको ९.०२ प्रतिशतले मूल्य बढेको छ भने खाद्य तथा पेय पदार्थमा ८.१७ प्रतिशतले मूल्य बढेको छ । 

घट्यो आयात–निर्यात

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा दुई खर्ब ४४ अर्ब ९२ करोड रुपियाँ पुगेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार सो अवधिमा नेपालले कुल दुई खर्ब ७३ अर्ब ६० करोड रुपियाँको सामान आयात गरेको छ भने २८ अर्ब ६८ करोड रुपियाँको सामान निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात ३४ दशमलव नौ प्रतिशत र आयात १३ प्रतिशतले घटेको छ ।