• २० असोज २०८१, आइतबार

प्रधानाध्यापक कुँवरलाई स्पष्टीकरण

blog

निर्वाचन आयोग

काठमाडौं, कात्तिक ४ गते । निर्वाचन आयोगलले अछामको राष्ट्रिय माध्यमिक विद्यालय, साँफेबगरका प्रधानाध्यापक तिलक कुँवरलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत दल र उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएको भन्ने विषयमा प्रधानाध्यापक कुँवरलाई २४ घण्टामा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

प्रधानाध्यापक कुँवरले नेकपा (एमाले) को चुनाव प्रचारमा संलग्न भएको भन्ने जानकारीका आधारमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ । आयोगले यसअघि नै आचारसंहिता विपरीत कार्य गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई तत्काल विभागीय कारबाही गर्न सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइसकेको छ ।

आयोगले शिक्षक कुँवरलाई ‘तपाईं सरकारी विद्यालयको शिक्षक रहेको व्यक्ति दलको राजनीतिक गतिविधिमा तथा प्रचारप्रसारमा संलग्न हुनुभएको तथा शिक्षक पदमा बहाल रहँदा रहँदै कुनै दलको सदस्य बन्नुभएको होइन भन्ने आधार के छ ? यदि सदस्य बन्नुभएको हो भने तपाईंलाई राजनीतिक निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम कारबाही हुनु किन नपर्ने हो ?’ भनी स्पष्टीकरण पत्र पठाएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ भने आचारसंहितामा निजहरूले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला, गोष्ठी, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रममा भाग लिन नहुने तथा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारमा सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ ।