• २० असोज २०८१, आइतबार

फूलको उत्पादन पर्याप्त नहुँदा आयातमै निर्भर

blog

रुपन्देहीको तिलोत्तमामा गरिएको फूलखेती । तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल
भैरहवा, कात्तिक ४ गते । 
रुपन्देहीमा तिहारका लागि मात्रै करिब ६० हजारभन्दा बढी माला आयात गरी सित भण्डारमा राखिएको छ । कोरोना महामारीले गत वर्ष कम माग भए पनि यो वर्ष फूल तथा मालाको माग बढ्ने हुँदा तिहारमा ८० हजारभन्दा बढी माला भारतबाट नेपाल भित्रिने व्यवसायीहरूको अनुमान छ ।

सीमा नाकामा फूल आयातका लागि सरकारले केही कडाइ गरे पनि विभिन्न माध्यमबाट अवैध तरिकाले समेत फूल भित्रिने गरेको व्यवसायीहरू स्वीकार गर्छन् । बेलहिया भन्सार कार्यालयले भने भारतबाट फूल तथा माला भित्र्याउने क्रममा अनिवार्य क्वारेनटिन प्रमाणपत्र लगायतका कानुनी प्रक्रियाहरूलाई कडाइका साथ पालना गराइएको जनाएको छ । कार्यालयका प्रमुख मनिराम पौडेलले प्लास्टिकका फूलमालाई बाहेक अन्यका लागि अनिवार्य क्वारेनटिन गरी भित्र्याउन  दिने गरिएको बताउनुभयो ।

यसरी भारतबाट भित्रिने माला प्रतिगोटा ८० देखि ९० रुपियाँसम्म पर्ने गर्दछ । हरेक वर्ष तिहारमा रुपन्देहीमा भारतबाट ८०÷९० हजार फूलका माला भित्रिने गरेको व्यवसायी किरण श्रेष्ठले बताउनुभयो । यो अवधिमा नेपाली किसानहरूले मूल्य नपाएको तथा व्यवसायीहरूले महँगोमा नेपाली किसानबाट फूल खरिद गर्नुपर्ने बाध्यता रहेको आ–आफ्नै दाबी रहने गर्दछन् । यसैगरी माग अनुसार आपूर्ति तथा गुणस्तर कायम नहुँदा भारतबाट फूल माला भित्र्याउनु पर्ने बाध्यता रहेको श्रेष्ठले बताउनुभयो ।

गत वर्ष आठ हजार बढी माला बिक्री गर्नुभएका व्यवसायी श्रेष्ठले पाँच हजार बढी माला भारतबाट आयात गर्नुभएको थियो भने तीन हजार माला नेपाली किसानबाट खरिद गरेर बिक्री गर्नुभएको थियो ।

लुम्बिनी फ्लोरिकल्चर अफ एसोसिएसनका संस्थापक उपाध्यक्ष समेत रहनुभएका उहाँले यो वर्ष कोरोना महामारीको प्रभाव नरहेका कारण गत वर्षको तुलनामा बजारमा मालाको माग बढ्ने दाबी गर्नुभयो । यसैगरी, बाजाको मागसँगै मालाको मूल्य समेत बढ्न सक्ने उहाँको अनुमान छ । गत वर्ष न्यूनतम ८० रुपियाँबाट माला बेच्न सुरु गर्नुभएका उहाँले अन्तिममा १५० रुपियाँसम्म परेको उल्लेख गर्नुभयो । यसैगरी, यो वर्ष भने न्यूनतम मूल्य नै सय रुपियाँमाथि कायम रहने उल्लेख गर्नुभयो ।

स्वदेशी उत्पादनले बजारको माग धान्न नपुग्ने भएकाले बाहिरबाट आयात गर्नुपर्ने अवस्था रहेको बुटवलमा विगत एक दशकदेखि फूलको व्यापार गर्दै आउनुभएका व्यवसायी गोपाल शर्माले बताउनुभयो । चाडबाडबाहेक अन्य समयमा पनि स्थानीयस्तरमा उत्पादन वृद्धिमा जोड दिनुको साटो नेपाली पुष्पबजार आयतमै निर्भर छ ।

गत वर्ष कोरोना महामारीका कारण फूल व्यापारमा घाटा व्यहोर्नु परेको बताउँदै व्यवसायी शर्माले यो वर्ष पनि नेपालका विभिन्न किसानहरूबाट फूल अर्डर गरिसकेको र त्यसमा नपुग भएमा भारतबाट भित्र्याउने उल्लेख गर्नुभयो ।

रुपन्देहीको तिलोत्तमा–४ मा रहेको क्षितिज नमुना कृषक समूहकी अध्यक्ष नविना भण्डारीले भारतबाट भित्रिएका फूलमालाको मूल्य थोरै पर्ने हुँदा नेपाली किसान मारमा पर्ने गरेको बताउनुभयो । १० जना महिलाहरू मिलेर १२ कट्ठा जमिनमा फूल खेती गरेका उनीहरूले यो वर्ष वर्षाका कारण पनि तिहारका लागि लगाइएको फूल समयमा नफुल्दा घाटा व्यहोर्नुपर्ने बताएका छन् । तिहारमा माग हुने सयपत्री फुलको ब्याड राख्ने समयमा वर्षा भएपछि खेती नै ढिला हुनुका साथै केहीदिनअघि परेको वर्षाले फूलफूल्न ढिला गरेको समूहकी अध्यक्ष भण्डारीले बताउनुभयो ।

भारतीय फूल भित्रिदा नेपाली फूलको व्यापारमा घाटा लागे पनि भारतबाट निर्यात रोक्न यहाँ उत्पादन पर्याप्त नभएको उहाँले बताउनुभयो । गत वर्ष उहाँको समूहले करिब दुई हजार माला बिक्री गरेको थियो भने यो वर्ष पनि सोही हाराहारीमा बिक्री लक्ष्य रहेको भण्डारीले जानकारी दिनुभयो ।