• ७ वैशाख २०८१, शुक्रबार

नवौं राष्ट्रिय खेलकुद समापन समारोह

खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

blog

बिहीबार साँझ पोखरा रंगशालामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा ।

काठमाडौं, कात्तिक ३ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। बिहीबार साँझ पोखरा रङ्गशालामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो प्रतिबद्धता जनाउनुभएको हो। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको आर्थिक अवस्था सुधार गर्दै खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ। विश्वमा खेलकुदले राष्ट्रको सान, मान र इज्जत राख्ने भन्दै उहाँले खेलाडीको बीमा, मासिक वृत्ति र स्वास्थ्य उपचारको व्यवस्था सरकारले गर्दै आएको उल्लेख गर्नुभयो। 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीको सङ्ख्याका आधारमा ऐतिहासिक प्रतियोगिता भएको उहाँको विश्वास छ। उहाँले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण भएका खेलकुद संरचनाको उचित संरक्षण हुनुपर्नेमा समेत जोड दिनुभएको छ। 



उहाँले यत्ति ठूलो प्रतियोगिता सफलताका साथ सम्पन्न भएको  बताउनुभयो । प्रतियोगितामा विजयी खेलाडीलाई बधाई दिनुहुँदै प्रधानमन्त्री देउवाले खेलाडीको उन्नति र प्रगतिको कामना गर्नुभयो । उहाँले खेलकुद प्रतियोगितामा सहभागी केही खेलाडीको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्रीले नियमित प्रतियोगिता हुन नसक्दा खेलाडी पलायनको समस्या देखिएको तर यस्ता प्रतियोगिताले खेलाडीले अवसर पाएको उल्लेख गर्नुभयो । खेलकुद अनुशासित र स्वास्थ्य जीवनको अभिन्न अङ्ग भएको उहाँको भनाइ छ । 


तस्बिर : विकास द्वारे