• १३ साउन २०८१, आइतबार

बाह्र दिनपछि बत्ती

blog

कालीकोट समाचारदाता

कालीकोट, कात्तिक १ गते ।  कालीकोट जिल्लामा १२ दिनपछि अवरुद्ध विद्युत् प्रसारण लाइन सञ्चालन भएको छ । असोज १९ गते बिहान ११ बजेबाट अवरुद्ध भएको विद्युत् सेवा ३० गते रातिबाट सञ्चालन भएको हो । 

अविरल वर्षापछिको पहिरोले विद्युत् प्रसारणका पोल ढल्दा दैलेखको दुल्लुलगायतका ठाउँठाउँमा विद्युत्का पोल ढल्नुका साथै ‘लाइन सट’ भएका कारण विद्युत् सेवा अवरुद्ध भएको थियो । असोज २४ गतेदेखिको लगातार मर्मतपछि कालीकोटसम्म विद्युत् सेवा सञ्चालन भएको विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले जनाएको छ । कालीकोट वितरण केन्द्रका प्राविधिक प्रकाश शाहीका अनुसार अवरुद्ध विद्युत् प्रसारण लाइन मर्मतका लागि लगातारको पानीले अवरोध गरेकाले मर्मतमा केही ढिलाइ भएको हो । 

असोज २४ गतेबाट वर्षा कम भएपछि दुवैतर्फबाट कर्मचारी खटिएर मर्मत गर्दा सात दिनमा सेवा सञ्चालन भएको हो ।

कालीकोट सदरमुकामसम्म विद्युत् सेवा सञ्चालन भए पनि जुम्लातर्फको लाइन मर्मतमा धेरै समय लाग्ने उहाँको भनाइ छ । पहिरोसँगै पोल ढलेका र धेरै ठाउँमा तार चुँडिएकाले जुम्लाको लाइन मर्मत गर्न केही दिन अझै लाग्ने छ । सडकसमेत अवरोध भएकाले मर्मत गर्न जाने कर्मचारीले पैदल जानुपर्ने र निर्माण सामग्रीसमेत मानिसले ढुवानी गर्नुपर्ने भएकाले थप समस्या हुँदै आएको वितरण केन्द्रको 

भनाइ छ । कालीकोटमा विद्युत् सेवा अवरोध हुँदा जिल्लाका सामुदायिक रेडियोदेखि सरकारी कार्यालयको कामकाजसमेत प्रभावित हुँदै आएको थियो । 

जिल्लामा विद्युत् १२ दिनमा नियमित भए पनि खानेपानी भने अझै नियमित हुन सकेको छैन ।