काठमाडौं, असोज २९ गते । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख अमिष पाठकका अनुसार उपचाररत जोशीको स्वास्थ्य अवस्था शुक्रबारबाट कमजोर बन्दै गएको छ ।
सघन उपचार कक्ष (आइसियु) बाट निकालेर सामान्य शय्यामा राखी उपचार भइरहेको भए पनि जोशीको स्वास्थ्यमा समस्या आएपछि बिहीबारबाट पुनः आइसियुमा सारिएको थियो । प्रमुख पाठकका अनुसार जोशीले बोल्न र खाना खान सक्नुभएको छैन भने शरीरमा अक्सिजन र प्रेसर घट्दै गएको छ ।
छातीमा निमोनिया सङ्क्रमण, मुटुको चालमा घटबढ भइरहेको जोशीलाई जति औषधि चलाए पनि शरीरले रेस्पोन्स नगरेको उहाँले बताउनुभयो । आज शनिबारदेखि अल्बुमीन रिप्लेसमेन्टका लागि औषधि चलाएको जानकारी उहाँले दिनुभयो ।
१०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते अस्पतालको इमर्जेन्सी (आकस्मिक कक्ष) मा भर्ना हुनुभएको थियो । सोही समयमा रगतको जाँच गर्दा उहाँलाई डेंगु पुष्टि भएको थियो ।