• ६ जेठ २०८१, आइतबार

डेंगुका अधिकांश बिरामीमा घाँटीमा घाउ हुने समस्या

blog

काठमाडौं, असोज २९ गते । डेंगुका अधिकांश बिरामीहरूमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरूले आग्रह गरेका छन् । डेंगु सङ्क्रमितहरूले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेको भन्दै सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका हुन् ।

अल्का अस्पतालमा कार्यरत चिकित्सक डा. रक्षा गौतमले डेंगु हुँदा भाइरल फ्लुमा हुने धेरै लक्षण मिल्ने बताउनु भयो । डेंगु हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरू बढी देखिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘डेंगुमा ज्वरो सुरुमा नै धेरै आउने, केही प्रतिशत बिरामीहरूको सामान्य ज्वरो पनि छ । रुघाखोकीको लक्षण त्यति देखिएन । तर धरैलाई घाँटी दुखेको भनेर आउनुभएको छ । घाँटी जाँच गर्दा घाउ भएको धेरैमा भेटेका छौँ । घाँटी र आँखाको नानी दुख्नसक्छ डेंगुमा पनि । टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने लक्षणहरू हामीले बढी देख्न सक्छौँ ।’’

पछिल्ला दिनहरूमा ९० प्रतिशत बिरामी डेंगुका रहेको पनि डा. गौतमको भनाइ छ । डेंगु, फ्लु र सामान्य रुघाखोकी, ज्वरोलगायतमा केही लक्षणहरू एक आपसमा मिल्ने भएकाले रोग विशेषका लक्षणहरूको पहिचान गरी सतर्क रहन पनि सुझाव दिनुभयो । डेंगु सरुवा रोग नभएकाले परिवारको सदस्यलाई डेंगु लाग्यो भन्दैमा आत्तिइहाल्नुपर्ने अवस्था नरहेको भन्नुहुँदै उहाँले ज्वरो घटेन भनेर चिकित्सकको सल्लाह बिना जथाभाबी औषधि सेवन नगर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले ९० प्रतिशत बिरामी डेंगुका आउनुभएको छ । कोही ज्वरो आउने बित्तिकै आत्तिएर आउने बिरामीहरू हुनुहुन्छ भने कोही ७२ घण्टापछि बुझेर आएर जाँच गराउनेहरू हुनुहुन्छ । डेंगु सरुवा रोग होइन, यो लाग्नलाई लामखुट्टेले नै टोक्नुपर्छ । उहाँहरू दोधारमा हुनुहुन्छ । घरको सदस्यलाई टोकेको दुई महिनासम्म त्यही लामखुट्टे घरमा छ भने अरू सदस्यलाई पनि हुने सम्भावना छ । सरेको होइन, त्यसले नै टोकेको हुनसक्छ । सतर्क हुन जरुरी छ ।’’

साथै, उहाँले डेंगुका बिरामीहरूलाई झुलभित्र राख्नु उचित नभएको बताउनुभयो । डा. गौतम भन्नुहुन्छ, ‘‘डेंगुका बिरामीहरूलाई झुलमा राख्नु उचित होइन । लामखुट्टेले टोक्ने भनेको बिहान र दिउँसोको समयमा हो । बिहान ६ देखि १० र साँझ ६ देखि १० मा बढी सक्रिय हुने हो । त्यो समयमा हामीले लापरबाही गरिरहेको छौँ जस्तो लाग्छ । फुल बाउला भएको लुगा लगाउने । राति झुलमा सुतेर डेंगु लाग्दैन भन्ने सोच त्याग्नुपर्छ ।’’

उहाँले ज्वरो घटेन भनेर सिटामोल धेरै खाने काम नगर्न पनि सुझाव दिनुभयो । डा. गौतमले यस वर्ष भदौ महिनादेखि धेरै उच्च तापक्रम (ज्वरो) भएका बिरामीहरू पाइरहेको र अस्पतालहरूमा डेंगुका बिरामीहरूको चाप बढेको बताउनुभयो ।

डा. गौतमले सबैले सामान्यतः सामान्य रुघाखोकी, डेंगु र कोरोनालाई केही हदसम्म भने छुटाउन सकिने बताउनुभयो । सामान्य रुघाखोकी मात्रै भएको खण्डमा भाइरल ज्वरो परिवारको जो कोही सदस्यलाई लागेपछि सबै सदस्यलाई सर्दै जाने उहाँले बताउनुभयो । भाइरल ज्वरोका बिरामीहरू पछिल्लो समय धेरै देखिन थालेको भन्दै स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो । त्यस्तै, धेरै घाँटी दुख्ने, सुरुमा नै धेरै ज्वरो आउने, आँखाको नानी दुख्ने, ज्यान दुख्ने लगायतका लक्षण देखिए डेंगु हुनसक्ने तर ज्वरो आउने बित्तिकै अस्पताल पुगिहाल्नु पर्ने अवस्था नरहेकाले ७२ घण्टापछि मात्रै अस्पताल जान सुझाव दिनुभयो ।

चिकित्सक डा. गौतमले फ्लु बाहेक बास्ना र स्वाद थाहा नपाएमा भने कोरोना सङ्क्रमण हुनसक्ने भएकाले चिकित्सकको सल्लाह लिएर मात्रै औषधि सेवन गर्नुपर्ने बताउनुभयो ।