• १३ साउन २०८१, आइतबार

चर्को ब्याजविरुद्ध व्यवसायी आन्दोलित

blog

सुर्खेत समाचारदाता

सुर्खेत, असोज २९ गते । बैङ्कको चर्को ब्याजविरुद्ध सुर्खेतका उद्योग व्यवसायी आन्दोलनमा उत्रिएका छन् । 

बैङ्कले चर्को ब्याज बढाएर व्यवसायीलाई मानसिक यातना दिएको भन्दै शुक्रबार सुर्खेत उद्योग वाणिज्य सङ्घको अगुवाइमा व्यवसायीले सुर्खेत बन्द गर्नुका साथै जिल्ला प्रशासन कार्यालय र नेपाल राष्ट्र बैङ्कको प्रदेश कार्यालयमा पुगी ज्ञापनपत्रसमेत बुझाएका छन् । 

मुलुकमा पछिल्लो समय चुलिँदै गएको आर्थिक सङ्कटका बीच भरथेग गरेर मुलुकको अर्थतन्त्र धानिरहेको निजी क्षेत्रलाई नेपाल राष्ट्र बैङ्कले जारी गरेको चालू पुँजी मार्ग निर्देशन, २०७९ र मार्गनिर्देशनको आडमा आर्थिकको अवसरलाई छोपेर निजी क्षेत्रलाई धराशायी बनाउने बैङ्कले सिन्डिकेट लगाएर कडाइ गरेको भन्दै आन्दोलनमा उत्रिनुपरेको सुर्खेत उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

ज्ञापनपत्रमा छबुँदे माग राखिएको छ । कर्जाको ब्याजदरमा एकल अङ्क कायम गर्नुपर्ने, बैङ्कले विभिन्न शीर्षकमार्फत लिने सेवा शुल्कलगायतका कुनै पनि शुल्क महसुल लिन नपाउने, पुरानो चालू पुँजी कर्जा निर्देशिकालाई यथावत् राखी नयाँ निर्देशिका क्रमिक रूपले लागू गर्नुपर्ने, कर्जाको ब्याजदर पुनः संरचना गर्न दिनुपर्ने, बैङ्कले अघि बढाएका सम्पूर्ण लिलामी प्रक्रिया २०७९ चैत मसान्तसम्मको लागि रोक्नुपर्ने र राष्ट्र बैङ्कले जारी गर्ने रिपो १ प्रतिशतमा झार्नुपर्ने माग राखिएको छ । 

आफ्ना मागहरू सम्बोधन नभएमा चरणबद्ध आन्दोलन गर्ने सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले बताउनुभयो । उहाँले बैङ्कले मनोमानी रूपमा ब्याज बढाएर व्यवसायीलाई व्यवसाय गर्न नसक्ने बनाएको, मानसिक यातना दिई पलायन गराउने अवस्थामा पु¥याएको भन्दै सम्पूर्ण व्यवसायी बैङ्कको त्यस्तो रबैयाप्रति आन्दोलनमा उत्रन बाध्य भएको जिकिर गर्नुभयो । आफ्ना मागहरू जिल्ला प्रशासन कार्यालय र राष्ट्र बैङ्कको प्रदेश कार्यालयमा बुझाएको र अविलम्ब सम्बन्धित निकायले ती माग सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ । 

मागपत्र बुझाउन सुर्खेत उद्योग वाणिज्य सङ्घका साथै नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य टेकबहादुर भण्डारी, चेम्बर अफ कमर्स, निर्माण व्यवसायी एकता समाज, प्याब्सन, एनप्याब्सन, संयुक्त सार्वजनिक यातायात महासङ्घ, उद्योग व्यापार महासङ्घ, मप ट्रक तथा ट्याक्टर व्यवसायी महासङ्घमा आबद्ध सदस्यहरू गएका थिए । 

व्यवसायीको मागपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मागपत्र सम्बन्धित निकायमा पठाइने प्रतिबद्धता जनाउनुभयो । मागपत्र बुझाउन व्यवसायीले ¥याली निकाली मङ्गलगढी चोकबाट बजार परिक्रमा गरी प्रशासन र राष्ट्र बैङ्कको प्रदेश कार्यालय पुगेका थिए ।