• २० असोज २०८१, आइतबार

अन्डा उत्पादन धेरै उपभोग कम

blog

काठमाडौँ, असोज २९ गते । विभिन्न कार्यक्रम गरी शुक्रबार विश्व अन्डा दिवस मनाएको छ । सन् १९९६ मा विश्व अन्डा आयोग (इन्टरनेसनल एग कमिसन) स्थापना भएपछि अक्टोबर महिनाको दोस्रो शुक्रबार विश्व अन्डा दिवस मनाउँदै आएको हो । यो वर्ष ‘उत्कृष्ट जीवनका लागि अन्डा’ मूल नाराका साथ विश्वभर नै यो दिवस मनाएको हो । नेपालमा चितवनलगायत विभिन्न ठाउँमा यो कार्यक्रम गरी विश्व अन्डा दिवस मनाएको अन्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले जानकारी दिनुभयो । 

नेपालमा मागभन्दा बढी अन्डा उत्पादन हुने गरेको अध्यक्ष केसीले जानकारी दिनुभयो तर विश्वको तुलनामा नेपालमा अन्डाको उपयोग निकै कम रहेको उहाँले बताउनुभयो । त्यस्तै विश्व अन्डा आयोगको रिपोर्टअनुसार विश्वभरि प्रतिव्यक्ति प्रतिवर्ष औसत अन्डा खपत १७९ वटा रहेको छ तर नेपालमा ४४ वटा मात्र छ । अमेरिकामा वार्षिक प्रतिव्यक्ति अन्डाको उपभोग २५१ वटा रहेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा सात करोडभन्दा बढी कुखुरा छन् भने त्यसमध्ये एक करोड ११ लाख फूल पार्ने कुखुरा छन् । गत आर्थिक वर्ष एक अर्ब ४७ करोड वटाभन्दा बढी अन्डा उत्पादन भएको थियो । 

एउटा अन्डाले ७० किलो क्यालोरी शक्ति, करिब ६.३ ग्राम उच्च गुणस्तरको प्रोटिन, पाँच ग्राम चिल्लो पदार्थ, भिटामिन–ए, भिटामिन–बी–२, भिटामिन–बी–५, भिटामिन–बी–६, भिटामिन–बी–७, भिटामिन–बी–९, भिटामिन–बी–१२, भिटामिन–डी, भिटामिन–ई, भिटामिन–के, कोलिन; फस्फोरस, जिङ्क, सेलेनियम, फलाम, आयोडिन गरी विभिन्न प्रकारका आवश्यक भिटामिन र खनिज उपलब्ध गराउँछ । 

एउटा अन्डाभित्र यतिका पौष्टिक तŒव हुने कुरा साच्चै नै अदभूत रहेको अन्डा उत्पादक सङ्घका महासचिव प्रवीण केसीले बताउनुभयो । अन्डामा पाइने समग्र प्रोटिनमध्ये करिब ३.६ ग्राम सेतो भागबाट र करिब २.७ ग्राम पहेलो भागबाट प्राप्त हुन्छ । मानिसलाई दैनिक आवश्यक पर्ने प्रोटिनको मात्राको १७ देखि २० प्रतिशत प्रोटिन एउटा अन्डाले परिपूर्ति गर्ने गरेको उहाँले बताउनुभयो ।