• १३ साउन २०८१, आइतबार

म चिनकाङसाङ फर्केको छु : अध्यक्ष दाहाल

blog

गोरखामा माओवादी अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष दाहाल । तस्बिर : नरेन्द्र ढकाल

नरेन्द्र ढकाल

गोरखा, असोज २८ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफू ४० वर्षपछि फेरि गोरखा फर्किएको बताउनुभएको छ । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएका उहाँले पार्टीका अगुवा कार्यकर्तालाई आज सम्बोधन गर्दै आफू चिनकाङसाङ फर्केको बताउनुभयो । 

‘मैले भावुक हुँदै भनेको छु, म चिनकाङसाङ फर्केको हुँ’ उहाँले भन्नुभयो, ‘फेरि एउटा नयाँ क्रान्ति, फेरि एउटा नयाँ अभियान, रूपान्तरणको निम्ति गोरखा आएको छु ।’ राजनीतिमा आउनु पूर्व गोरखामा बसेर अध्यापन गरेको र पछि यहीँबाट जनयुद्ध सुरु पनि यहाँबाट गरेको अध्यक्ष दाहालले बताउनुभयो । 

अब फेरि समाजवादी क्रान्तिको थालनी गर्न आफू गोरखा आएको उहाँले बताउनुभयो । माओत्सेतुङले गरेको चिनियाँ क्रान्तिको सम्झना गर्दै उहाँले आफू पनि चिनकाङसाङ फर्केको दाबी गर्नुभयो । ‘म यहाँ अध्यापन गर्दा २२ वर्षको थिएँ । हामीले यहाँबाटै भूमिगत रूपमा पार्टी हेडक्वार्टर चलाउँदा, प्रारम्भिक सैन्य तालिम लिएको आजभन्दा झण्डै ४०–४१ वर्षअघिको कुरा हो’ उहाँले भन्नुभयो । 

चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङ पार्टीमा विचलन आएपछि आन्दोलनको थालनी भएको ठाउँ चिनकाङसाङ फर्कनुभएको उहाँले स्मरण गर्नुभयो । जहाँबाट उहाँले सुरु गरेको छापामार युद्धले सफलता प्राप्त गरेको प्रसङ्ग सम्झँदै उहाँले अब नेपालमा शान्तिपूर्ण क्रान्ति हुने बताउनुभयो । 

‘२०२८ सालमा चिनको चिनकाङसाङमा संर्घष भयो, किसान विद्रोह भयो, छापामार युद्ध भए, झण्डै २०६६–०६७ सालतिर उहाँ फेरि एक पटक नयाँ क्रान्ति आवश्यक छ भन्ने सङ्कल्पका साथ चिनकाङसाङ गएको कुरा मैले सम्झिरहेको छु’ अध्यक्ष दाहालले भन्नुभयो, ‘यहीँ सिरानचोक हो, जहाँ हामीले पहिलो सैन्य अभ्यास गरेका थियौँ, पार्टी हेडक्वार्टर जसको घरमा राखियो उहाँ कमरेड यहीँ हुनुहुन्छ ।’ 

खोपबहादुर कँडेल, जहाँ पञ्चायतै थियो, हामीले बन्दुक, बम, पेस्तोल लुकिछिपी कहिले ओडारमा कहिले घरमा राखेर जनयुद्धको तयारी गरियो उहाँले भन्नुभयो । ४० वर्ष लामो उक्त अभियानले देशमा जनयुद्ध, शान्ति, संविधान, गणतन्त्र, जातजाति, वर्ग लिङ्गको  अधिकार प्राप्त भएको उहाँको दाबी छ । 

उक्त आन्दोलन गरेको माओवादी पार्टी अहिले पहिलेकोजस्तो नभएको अध्यक्ष दाहालले बताउनुभयो । अब नयाँ क्रान्तिका लागि गोरखाबाटै नयाँ पार्टी निर्माणको अभियान पनि थाल्ने उहाँको भनाइ छ । ‘हामीलाई चाहिएजस्तो पार्टी अहिले हामीसँग छैन । हामी सबै धेरथोर संसदवादको फोहरसँगको संसर्गमा मैलाधैला भएका छौँ ।’ 

पार्टी जनताको, वर्ग समुदायको श्रमजीवीहरूको, उत्पीडितहरूको मुक्तिका निम्ति नेतृत्व गर्ने पार्टीजस्तो अहिले नरहेको उहाँको भनाइ छ । अध्यक्ष दाहालले भन्नुभयो, ‘कता कता अरू संसदवादीजस्तै हुने हो कि भन्ने खतरा दिनप्रतिदिन बढ्दै गएको छ । यसकारण मैले गोरखा आएर नयाँ रूपान्तरणको बाटो हिँड्ने कोसिस गरेको हुँ ।’आफू गोरखा २ बाट निर्वाचन लड्ने भरतपुर महानगरपालिकाकी मेयर समेत रहनु भएकी छोरी रेणु दाहालको मुडअफ भएको उहाँले बताउनुभयो । निकै भावुक मुद्रामा प्रस्तुत हुनुभएका उहाँले गोरखा आउने निर्णयले परिवारमा समेत खैलाबैला भएको बताउनुभयो । 

आफू गोरखा आउनु जित र हारसँग सम्बन्धित विषयवस्तु नभएको भन्दै उहाँले प्रतिक्रियावादी शक्ति केन्द्रहरूले गलत अफवाह फैलाएको बताउनुभयो । गोरखा आउने निर्णय ठिक रहेको प्रतिक्रिया सबैबाट आएको र गठबन्धन र अन्य दलहरूले समेत सकारात्मक भनेको उहाँले प्रष्ट पार्नुभयो ।