• १४ असोज २०८१, सोमबार

शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्था गम्भीर

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २८ गते । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख अमिष पाठकले उपचाररत जोशीको स्वास्थ्य अवस्था कमजोर बन्दैगएको जानकारी दिनुभयो । 

सघन उपचार कक्ष (आइसियु) बाट निकालेर सामान्य शैय्यामा राखी उपचार भइरहेको भए पनि जोशीको स्वास्थ्यमा समस्या आएपछि बिहीबार पुनः आइसियुमा सारिएको थियो । प्रमुख पाठकका अनुसार जोशी बोल्न र खान सक्नु भएको छैन । शरीरमा अक्सिजन र प्रेसर घट्दैगएको छ । 

छातीमा निमोनिया सङ्क्रमण, मुटुको चालमा घटबढ भइरहेको जोशीलाई जति औषधि चलाए पनि शरीरले रेस्पोन्स  नगरेको उहाँले बताउनुभयो ।  आजदेखि अल्बुमीन रिप्लेसमेन्टका लागि औषधि चलाएको उहाँले जानकारी दिनुभयो ।

१०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते अस्पतालको इमर्जेन्सी (आकस्मिक कक्ष) मा भर्ना हुनुभएको थियो। सोही समयमा रगतको जाँच गर्दा डेंगु पुष्टि भएको थियो ।