• १३ साउन २०८१, आइतबार

जिल्लाभर एक मात्रै महिला उम्मेदवार

blog

एक मात्रा महिला उम्मेदवार मञ्जु शर्मा । तस्बिर : नवीन शिशिर विक

नवीन शिशिर विक
बागलुङ, असोज २८ गते ।
मङ्सिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि जिल्लामा चुनावी सरगर्मी बढेको छ ।

राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरु आ–आफ्ना चुनावी रणनीति बनाउन व्यस्त छन् । स्थानीय चुनावी घोषणपत्र निर्माणदेखि मतदाता भेट्ने र मत माग्न उम्मेदवार र नेताहरु जुटेका हुन् ।

सङ्घतर्फ दुई वटा र प्रदेशतर्फ चार वटा निर्वाचन क्षेत्र भएको बागलुङमा यस पटकको निर्वाचनमा एक जना मात्रै महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

नेकपा (एमाले)ले गण्डकी प्रदेश कमिटी सदस्य मञ्जु शर्मालाई चुनावी मैदानमा उतारेको हो । उहाँले सत्ता गठबन्धनको साझा उम्मेदवार शिक्षामन्त्री देवेन्द्र पौडेलको सामना गर्नुपर्नेछ ।

 उहाँले विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । विस २०४९ सालमा नेपाल विद्यार्थी सङ्घको तर्फबाट नर्सिङ क्याम्पस काठमाडौंको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्यबाट चुनावी यात्रा तयार भएको थियो ।

जीवनको लामो समय नेपाली कांग्रेसको राजनीतिमा बिताउनुभएकी शर्माले गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेस पार्टी त्याग गरी गल्कोट नगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

नेपाली कांग्रेसको राजनीतिमा स्वास्थ्यकर्मी सङ्घको केन्द्रीय सदस्य, नेपाल कर्मचारी युनियन सङ्घको केन्द्रीय सदस्य, नेपाली कांग्रेस जिल्ला कार्य सम्पादन समिति, पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्नुभएको थियो । स्थानीय तह निर्वाचनमा पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै पार्टी त्याग्नुभएको हो । स्थानीय तह निर्वाचनको बेला गलकोट नगरपालिका कांग्रेसको भागमा परेको थियो ।

पार्टी नेतृत्वले पुरानै नगरप्रमुख भरत शर्मा गैरेलाई टिकट दिएको थियो । शर्मा अहिले एमाले पार्टीको राजनीतिमा सक्रिय हुनुहुन्छ । आफ्नो उम्मेदवारीले महिला प्रत्यक्ष निर्वाचनको सामना गर्न सक्षम छन् भन्ने सन्देश दिने उम्मेदवार शर्माको भनाइ छ । ‘‘अवसर पाए महिलाहरू प्रत्यक्ष निर्वाचन लड्न सक्छन,’’ उहाँले भन्नुभयो, ‘‘महिला अधिकार, हकहित र भावनाको प्रतिनिधित्व गर्न महिला नै आवश्यक छ । उहाँले बीएस्सी नर्सिङसम्मको अध्ययन पूरा गर्नुभएको छ । गलकोट नगरपालिका गलकोट बजारमा शर्माले निजी अस्पताल सञ्चालन गर्नुभएको छ ।

‘‘बहालवाला शिक्षामन्त्रीसँगको प्रतिस्पर्धामा अवसर र जोखिम दुवै छ’’ उहाँले भन्नुभयो, ‘‘मैले यहाँको शिक्षा, स्वास्थ्य, विकास निर्माण र सामाजिक सेवाको क्षेत्रमा गरेको योगदान जनताले अनुमोदन गर्नेछन् ।’’

नेकपा (माओवादी) का उम्मेदवार शिक्षामन्त्री पौडेले यस अघिको निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरी निर्वाचित हुनुभएको थियो । उहाँको स्थायी ठेगाना निर्वाचन क्षेत्र–१ बागलुङ नगरपालिका–१२ मा पर्छ । चुनावी गठबन्धन हुँदा माओवादीको भागमा क्षेत्र २ परेको थियो । मन्त्री पौडेलको नाम बागलुङको दुवै क्षेत्रबाट सिफारिस भएको थियो ।

‘‘शिक्षामन्त्री टेस्टेड उम्मेदवार हो, उहाँले भन्नुभयो, ‘‘स्थानीय माओवादी नेताले टिकट नपाउँदा असन्तुष्टि छ त्यसको लाभ लिन सकिन्छ ।’’ सो क्षेत्रमा पुराना माओवादी नेता तुलसी अर्यालले प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।