• ८ जेठ २०८१, मङ्गलबार

सुदूरपश्चिमका प्रभावशाली नेता र मन्त्रीहरु उम्मेदवारीबाटै बञ्चित

blog

प्रकाशविक्रम शाह 

धनगढी, असोज २६ गते । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता प्रक्रिया पूरा भईसकेको छ । बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ । विस्तारै चुनावी माहोल पनि तात्न थालेको छ । 

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला र निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र गठबन्धनबाट टिकट पाएका तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा ओर्लिसक्नु भएको छ । तर, यस पटक सुदूरपश्चिम प्रदेशमा केही अप्रत्याशित घटना देखिएका छन् । राष्ट्रिय राजनीतिमा समेत प्रभाव राख्ने नेतादेखि पाँच वर्ष अनवरत मुख्यमन्त्री रहेका नेता र मन्त्रीहरु यस पटक निर्वाचन लड्नबाट बञ्चित हुनुभएको छ । 

अछाम क्षेत्र नम्बर १ बाट २०४८ सालदेखि प्रतिनिधि सभा सदस्य निर्वाचन लड्दै आएका एमालेका प्रभावशाली नेता डा.भीमबहादुर रावल यसपटक चुनावी मैदानमा ओर्लिन पाउनु भएन । 

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि टिकटबाट बञ्चित हुनुभएको छ । पाँच वर्षको अवधिमा सुदूरपश्चिम प्रदेश सरकारमा २५ जना मन्त्री (राज्यमन्त्रीसहित) बन्नुभयो । तीमध्ये यसपटक आठ जनाले मात्रै आ–आफ्नो राजनीतिक दलबाट आधिकारिक रुपमा चुनाव लड्ने अवसर पाउनु भएको छ । 

एमाले नेता रावलले २०४८ देखि २०७४ सालसम्म अछाम–१ बाट पाँच पटक प्रतिनिधि सभा (संविधान सभा समेत) चुनाव लड्नुभयो । २०५१, २०७० र २०७४ सालको निर्वाचनमा विजयी हुनुभएका उहाँ २०४८ र २०५६ को निर्वाचनमा पराजित हुनुभएको थियो । २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा भने उहाँ समानुपातिकतर्फबाट सभासद् बन्नुभएको थियो । 

नेता रावल शुरुदेखि नै एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँग खुलेरै असहमति राख्दै आउनु भएको छ । एमाले एक हुँदा उहाँ माधवकुमार नेपाल पक्षका प्रभावशाली नेता हुनुहुन्थ्यो । एमाले विभाजन भएर नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि रावल नेपालतिर जानुभएन, एमाले मै रहनुभयो । 

एमालेको पछिल्लो महाधिवेशनमा अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्नुभएका रावललाई एमालेले अछाम जिल्ला र सुदूरपश्चिम प्रदेश कमिटिबाट प्रतिनिधि सभा सदस्यको एकल उम्मेदवारका रुपमा सिफारिस गरे पनि उहाँलाई टिकट दिइएन । उहाँको सट्टा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका प्रदेशका पूर्वमन्त्री झपटबहादुर बोहरालाई उम्मेदवार बनाइएको छ । 

एमाले नेता रावल मात्रै नभएर माओवादी केन्द्रका नेता समेत रहनुभएका मुख्यमन्त्री भट्ट, एमाले केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर शाह, एकीकृत समाजवादीका पूर्णा जोशी, माओवादी केन्द्रका नेता तथा मन्त्री विनिता चौधरी, एमाले नेता तथा पूर्वमन्त्री कृष्णराज सुवेदी, माओवादी नेतृ तथा पूर्वमन्त्री माया भट्टले पनि चुनाव लड्ने अवसर पाउनु भएन । 

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावल र पूर्वमन्त्री लालबहादुर खड्का भने गठवन्धनबाट उम्मेदवार हुन नसकेपछि पनि चुनाव उठ्नु भएको छ । उहाँहरु दुवै जना एकीकृत समाजवादीमा हुनुहुन्छ । 

त्यस्तै वर्तमान राज्यमन्त्रीहरु टेकबहादुर रैका, मानबहादुर सुनार, बलबहादुर सोडारी र शुशिला बुढाथोकी चुनाव उठ्न पाउनु भएन । पूर्व राज्यमन्त्रीहरु मनाकुमारी साउँद, अर्चना गहतराज र चुनकुमारी चौधरी पनि उम्मेदवार हुन सक्नु भएन । यसअघि कञ्चनपुर क्षेत्र नम्बर १ को (क) बाट प्रत्यक्ष चुनाव जित्नु भएका पूर्व राज्यमन्त्री कुलवीर चौधरी भने एमालेको प्रदेशको समानुपातिक सूचीमा पर्नु भएको छ । 

एमाले नेता भीम रावललाई टिकट नदिएपछि पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ । मनोयनपत्र दाखिला गर्ने दिन अछाम क्षेत्र नम्बर १ मा स्वयं एमालेका नेताकार्यकर्ताहरुले कालोझण्डासहित विरोध प्रदर्शन गरेका थिए । 

बाजुराबाट प्रतिनिधि सभा सदस्यका लागि दाबी गर्नु भएका केन्द्रीय सदस्य प्रकाशबहादुर शाहले बाजुरेली जनताको चाहना र माग आफ्नो पक्षमा भए पनि पार्टीले टिकट नदिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘‘मैले आफ्ना लागि भन्दा पनि पार्टीमा सबैलाई समान अवसर र न्याय प्राप्त हुनुपर्छ भनेर संघर्ष गरेको हुँ । पार्टीले गरेको निर्णयमा मलाई केही भन्नु छैन ।’’ 

तर, उहाँले नेता भीम रावललाई जिल्ला र प्रदेश कमिटीबाट एकल सिफारिस हुँदा पनि टिकटबाट बञ्चित गरिएकोमा उहाँले आक्रोस व्यक्त गर्नुभयो । भन्नुभयो– ‘‘उहाँ (भीम रावल) सुदूरपश्चिमको मात्र नभएर राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने प्रखर राष्ट्रवादी नेता हो । तल्ला कमिटिहरुबाट एकल नाम सिफारिस हुँदा पनि पार्टी नेतृत्वले उहाँ र हामी सबैको तेजोबध गरेको छ ।’’

यसपटक चुनाव लड्नबाट वञ्चित पारिनु भएका नेता रावलसँग सम्पर्क गर्दा उहाँले “एकदुई दिन कुनै प्रतिक्रिया नदिने” बताउनुभयो । यसपटक सुदूरपश्चिम प्रदेशमा अर्को अप्रत्यासित घटना मुख्यमन्त्री भट्ट चुनाव लड्नबाट बञ्चित गरिएकोलाई लिइएको छ ।

पाँच वर्षसम्म अनवरत मुख्यमन्त्री बनेका उहाँले डोटीबाट प्रतिनिधि सभा सदस्यका लागि इच्छा देखाउनु भएको थियो । पाँच दलीय गठबन्धनबाट डोटी एकीकृत समाजवादीको भागमा परेपछि मुख्यमन्त्री भट्टले प्रदेश सभा सदस्यको टिकट माग्नु भएको थियो । तर, अन्त्यमा उहाँको टिकट खोसियो र उहाँकै स्वकीय सचिव शिव ओलीलाई दिइयो । 

त्यस्तै, अवस्था पाँच वर्षसम्म भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बन्नुभएकी माओवादी केन्द्रका नेतृ विनिताको पनि भएको छ । उहाँ प्रतिनिधि सभा वा प्रदेश सभा सदस्यमा उम्मेदवार बन्नुहुने सबैको अनुमान गलत सावित भएको छ । उहाँका स्वकीय सचिव दीर्घराज विनाडी कैलाली क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । विनाडी स्थानीय तहको चुनावमा जोशीपुर गाउँपालिकामा पराजित हुनु भएको थियो । 

यस पटकको निर्वाचनमा प्रदेश सरकारका मन्त्री तथा एकीकृत समाजवादीका केन्द्रीय सदस्य नेता दीर्घबहादुर सोडारी, मन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रणबहादुर रावल, मन्त्री तथा काँग्रेस नेता गोविन्दराज बोहरा, मन्त्री तथा माओवादी केन्द्रका नेता मानबहादुर धामी, पूर्वमन्त्रीहरु एमाले नेताहरु तारा लामा तामाङ, झपटबहादुर बोहरा र पठानसिंह बोहरा र पूर्व राज्यमन्त्री अमरबहादुर साउँदले भने चुनाव लड्ने अवसर पाउनु भएको छ ।