• १३ साउन २०८१, आइतबार

सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति

blog

काठमाडौँ, असोज २५ गते । काठमाडौँ जिल्ला अदालतले नाबालिग किशोरीमाथि बलात्कार आरोपमा राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश दण्डपाणि शर्माको इजलासले लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिनुभयो। 

बलात्कार आरोप लाग्दा क्यारेबियन प्रिमियर लिग खेल्न नेपालबाहिर रहेका खेलाडी लामिछानेलाई असोज २० गते स्वदेश फर्किंदा अध्यागमन कक्षबाटै नियन्त्रणमा लिइएको थियो। दशैँ बिदा परेकाले सोमबार मात्र प्रहरीले लामिछानेलाई अदालतमा उपस्थित गराई पक्राउ समर्थन र म्याद थप गरेको छ। असोज २० बाटै कायम हुने गरी अदालतले पहिलो पटक सात दिन थुनामै राखेर अनुसन्धानको अनुमति दिएको हो।

राष्ट्रिय टिममा कप्तान रहेका लामिछानेले नेपालको प्रतिनिधित्व गर्दै केन्यासँग मैत्रीपूर्ण एकदिवसीय र टी–२० प्रतियोगिता खेल्न जानुभन्दा अघिल्लो रात एक किशोरीले आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन्। गत भदौ ५ गतेको घटनामा युवतीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। नगरकोट र काठमाडौँको होटलमा आफूलाई लामिछानेले पटक–पटक करणी गरेको आरोप ती युवतीको छ। 

जाहेरीपछि प्रहरीले लामिछानेलाई पक्राउ अनुमति भने जिल्ला अदालतबाट भदौ २३ गते नै लिएको थियो। प्रहरीले पक्राउ अनुमति लिएको भोलिपल्टै चाँडै स्वदेश फर्कने घोषणा गरेका लामिछाने सम्पर्कविहीन भएपछि ‘डिफ्युजन नोटिस’समेत जारी भएको थियो। करणी मुद्दा अनुसन्धानका लागि प्रहरीलाई २५ दिनको समय हुनेछ।