• ११ मंसिर २०८१, मङ्गलबार

कांग्रेस सभापति देउवाको उम्मेदवारी रद्द गर्न उजुरी

blog

पुष्कर भण्डारी

डडेल्धुरा, असोज २४ गते । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी रद्द गर्न निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिनुभएका देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै उजुरी परेको हो । 

सभापति देउवाको जन्ममिति नागरिकतामा २००३ जेठ ३१ गते रहेको फोटोसहितको मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको भन्दै उजुरी परेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । 

मुख्य निर्वाचन अधिकृत वाग्लेका अनुसार नागरिकता र मतदाता नामावलीमा फरक–फरक मिति रहेको भन्दै बीपी कांग्रेसका तर्फबाट उम्मेदवार रहेका कर्ण मल्लले देउवाविरुद्ध उजुरी हाल्नु भएको हो । 

कांग्रेस डडेल्धुराका पूर्व सभापति समेत रहनु भएका मल्ल अहिले बीपी कांग्रेसका वरिष्ठ उपसभापति रहनु भएको छ । देउवा प्रधानमन्त्री हुँदा २०५८ मा मल्ल स्वकीय सहसचिव समेत रहनुभएको थियो । 

डडेल्धुराका मुख्य निर्वाचन अधिकृत वाग्लेले देउवाविरुद्ध उजुरी परेको पुष्टि गर्नुभएको छ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि डडेल्धुरामा देउवासहित ११ जना उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । यसैगरी प्रदेशसभा सदस्यतर्फ १४ जनाले उम्मेदवारी दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।