• १३ साउन २०८१, आइतबार

मुगुमा पहिरो

पहिरोमा परेर आठ जनाको मृत्यु

blog

मुगु छाँयानाथ रारा नगरपालिका –११ को तल्लो सालिमगाउँमा गएको पहिरो ।

हरिकृष्ण ऐडी
मुगु, असोज २४ गते ।
 मुगु छाँयानाथ रारा नगरपालिका–११ मा पहिरोमा पुरिएर आठ जनाको मृत्यु भएको छ । सोमबार बिहान नगरपालिकाको तल्लो सालिमगाउँको माथिबाट आएको पहिरोमा परी आठ जना बेपत्ता भएका थिए ।

बेपत्ता सबैजनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । पहिरोमा परी मृत्यु हुने सबै सालिमगाउँका रहेका छन् । मृत्यु हुनेमा कृष्ण सावत, सत्ता सावत, गोरिकला बोहरा, चक्रवीर बोहरा, होइजाली भग्री,  हाजिरा भग्री, सुस्मिता भग्री र वीरबहादुर भग्री रहेका छन् ।

निरन्तरको वर्षाले नगरपालिकाको गमगाढमा रहेका काठेसाँघु, झोलुङ्गेपुल बगाएको छ भने गमगाढ वितरण केन्द्रमा क्षति पुर्‍याउँदा विद्युत् अवरुद्ध भएको छ ।

प्रजिअ महतका अनुसार वडा नम्बर ८ झ्यारीगाउँ, वडा नम्बर ७ टोप्लागाउँ, वडा नम्बर ४ को ढुम, वडा नम्बर ५ को भियालवाडा गाउँ र सदरमुकाम गमगढीको कालिका मालिका दक्षिण खण्डमा वर्षाले क्षति पुर्‍याएको छ । पहिरोले करिब पाँच सय परिवार विस्थापित भएको अनुमान गरिएको उहाँले बताउनुभयो ।