• २ माघ २०८१, बुधबार

काभ्रेमा प्रदेशभन्दा प्रतिनिधिसभामा उम्मेदवारी बढी

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, असोज २३ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या बढी रहेको छ । आइतबार भएको उम्मेदवारी मनोनयन दर्ता गराउने क्रममा प्रदेश सभाभन्दा प्रतिनिधि सभामा उम्मेदवारी दिनेको सङ्ख्या बढी रहेको छ । 

काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का लागि १७ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ का लागि १६ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । दुवै क्षेत्रको प्रदेश सभा (१) र (२) मा उम्मेदवारी दिने उम्मेदवारको सङ्ख्या र प्रतिनिधिसभामा मात्रै उम्मेदवारी दिन्को सङ्ख्या बराबरजस्तै रहेको छ । 

जिल्लाको प्रतिनिधिसभा १ अन्तर्गतको प्रदेश सभा (१) का लागि नौ जना, प्रदेश सभा (२) का लागि नौ जनाले उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश सभा (१) का लागि छ जना र प्रदेश सभा (२) का लागि आठ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । 

जिल्लाका दुवै क्षेत्रमा गठबन्धनमा रहेका दल, नेकपा एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपालगायत उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट नेकपा माओवादीका केन्द्रीय सदस्य सूर्यमान दोङ, एमालेका तर्फबाट केन्द्रीय सदस्य रेशम लामाले उम्मेदवारी दर्ता गराउन्ुभएको छ । यसैगरी क्षेत्र १ अन्तर्गतको प्रदेश सभा (१) मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका रत्न ढकाल, एमालेका तर्फबाट दिलिप लामा, प्रदेश सभा (२) मा गठबन्धनका तर्फबाट काङ्ग्रेस जिल्ला सभापति तीर्थ लामा, एमालेका तर्फबाट जिल्ला उपाध्यक्ष चन्द्रबहादुर लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

यसैगरि प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट काङ्ग्रेसका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, एमालेका तर्फबाट केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (१) मा गठबन्धनका तर्फबाट नेकपा एसका लक्ष्मण लम्साल, एमालेबाट बागमती प्रदेश सदस्य कुमार खकुरेल, प्रदेश सभा (२) मा गठबन्धनका तर्फबाट काङ्ग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे र एमालेबाट बागमती प्रदेश सदस्य कुमार थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।