• १३ साउन २०८१, आइतबार

स्याङ्जा २ मा गुरुङ र अर्यालको मनोनयन दर्ता

blog

राधाकृष्ण डुम्रे

वालिङ, असोज २३ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको चुनावका लागि नेपाली कांग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङ र नेकपा (एमाले) की केन्द्रीय सचिव पद्माकुमारी अर्यालले मनोनयन दर्ता गराउनुभएको छ ।  

स्याङ्जाको क्षेत्र नम्बर २ का लागि उहाँहरु दुवैले मनोनयन दर्ता गराउनुभएको हो । वालिङ नगरपालिकाको कार्यालमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गुरुङ र अर्यालले मनोनयन दर्ता गराउनुभयो ।  

यस्तै, कांग्रेसबाट २ को (क) मा भोजराज अर्याल र (ख) मा महेश भट्टराईले मनोनयन दर्ता गराउनुभयो । २ को (क) गठबन्धन अन्तर्गत नेकपा (एकीकृत समाजवादी) लाई परेको भन्दै समाजवादीका जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले समेत मनोनयन दर्ता गर्नुभयो । 

यस्तै, एमाले तर्फबाट प्रदेश (क) मा निवर्तमान प्रदेश सांसद मोहनप्रसाद रेग्मी र (ख) मा डा. बुद्धिमान श्रेष्ठले उमेद्वारी दर्ता गराउनुभयो । सोहीअनुसार स्याङ्जा क्षेत्र नं १ मा कांग्रेसका तर्फबाट पूर्व सांसद राजु थापा र एमालेका तर्फबाट पूर्व सांसद नारायणप्रसाद मरासिनीले मनोनयन दर्ता गराउनुभयो ।  

सोहीअनुसार कांग्रेस तर्फबाट प्रदेश (क) मा प्रदेशका पूर्व सांसद मेखलाल श्रेष्ठ र (ख) मा कांग्रेस पूर्व कार्यवाहक सभापति कुमार रानाले मनोनयन दर्ता गराउनुभयो । गठबन्धन अन्तर्गत प्रदेश (क), माओवादी केन्द्रलाई परेको भन्दै अमृता थापाले समेत उम्मेदवारी दर्ता गराउनुभएको छ । 

यस्तै, एमालेले प्रदेश (क) मा सीता सुन्दास र (ख) मा सुधीर पौडेलले मनोनयन दर्ता गर्नुभयो । सोहीअनुसार २ नं क्षेत्रमा स्वतन्त्र पार्टीको तर्फबाट टिकराज गुरुङले मनोनयन दर्ता गर्नुभएको छ ।