• १३ साउन २०८१, आइतबार

नवौँ राष्ट्रिय खेलकुद : खेल मैदान तयार गर्न जुटे वालिङका युवाहरू

blog

खेल मैदानमा दुवो विच्छ्याउने काम गर्दै वालिङका युवाहरु । तस्बिर : गोरखापत्र

राधाकृष्ण डुम्रे

वालिङ, असोज २२ गते । अविरल वर्षाको कारण जनजीवन कष्टकर भइरहेका छ । तर वालिङका युवाहरू भने निरन्तरको झरीको कुनै वास्ता नगरी खेल मैदान निर्माणमा जुटेका छन् । यही असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुँदै छ । जसअन्तर्गत हुने ३६ वटा विधामा प्रतियोगिता गण्डकी प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गरिँदै छ ।  

जसअन्तर्गत ‘राष्ट्रिय महिला फुटबल प्रतियोगिता’ स्याङ्जाको वालिङमा सञ्चालन हुनेछ । जसका लागि खेल मैदान सम्म्याएको छ । दुबो विच्छ्याउने काम अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति अध्यक्ष मोहन गुरुङले जानकारी दिनुभयो ।

दुबो बिछ्याउने कामका लागि वालिङ नगर प्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी गैह्रे, जनप्रतिनिधिहरू सहित खेलाडी, सशस्त्र प्रहरीको टोली तथा स्थानीय युवाहरू निरन्तर खटिँदै आएका छन् । दशैको माहौल र अविरल वर्षाको बीच युवाहरू सक्रिय रूपमा खेल मैदानमा दुवो बिछ्याउने काम गरिरहेका छन् । 


नगरपालिकाले स्वतःस्फूर्त रूपमा काम गरिदिन आव्हान गरेपछि युवाहरुले खेलमैदानको निर्माणका लागि सक्रियता देखाएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । मैदानमा बिछ्याउने दुबोलाई मात्रै करिब ४५ लाख रुपियाँ लाग्ने वालिङ नगर प्रमुख खाँणले बताउनुभयो । खेल मैदानको सम्पूर्ण तयारीका लागि १ करोडको हाराहारीमा खर्च लाग्ने खाँणको भनाइ छ ।

जिल्ला समन्वय समितिको समन्वयमा जिल्लाका ११ वटै पालिकाले सहयोग तथा प्रतियोगिता सम्पन्न गर्नका लागि सहकार्य गर्ने सहमति जनाएका छन् । नगर उपप्रमुख कविता तिवारीले सबैको सहयोग र सहकार्यमा नै प्रतियोगिता सफल पार्न सकिने कताउनुभयो । 

खेल मैदानको स्तरोन्नतिसँगै झण्डै ४० वर्षको अन्तरालमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता सञ्चालन गर्ने अवसर वालिङमा जुटेको हो । यो अवसरबाट वालिङवासी खेलाडी तथा खेलप्रेमी सबैलाई उत्साही बनाएको छ । आगामी ५ वर्षसम्म मिनी रङ्गशालाको रूपमा विकास गर्ने लक्ष्य लिएर नगरपालिकाले काम गरिरहेको नगरपालिकाले जनाएको छ । 

राष्ट्रिय महिला फुटबल प्रतियोगिता वालिङमा सञ्चालन हुन्छ कि हुँदैन भन्ने अन्यौलता समाप्त भएको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य गिरमान गुरुङले बताउनुभयो । ‘प्रदेशसँगै राष्ट्रिय खेलकुद परिषद्ले पनि स्याङ्जामा खेल सञ्चालन गर्न ठुलो भूमिका खेलेको छ गुरुङले थप्नुभयो । 

नगरपालिकाले प्राथमिकतामा राखेका सातवटा योजनामध्ये खेलमैदान पहिलो प्राथमिकतामा रहेको नगरप्रमुख खाँणले बताउनुभयो । अहिले अपुग जग्गा व्यक्ति तथा सङ्घ संस्थासँग भाडामा लिएर काम गरिएको भन्दै खाँणले यसलाई स्थायीरुप दिन सबै सकारात्मक रहेको बताउनुभयो । 



राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टङ्कलाल घिसिङ, सदस्य अञ्जन धमला, खेल निर्देशक कृष्ण तिमिल्सिना लगायतले शुक्रबार वालिङ खेल मैदानको अवलोकन गर्नुभएको थियो । राखेप सदस्यसचिव घिसिङ समक्ष नगरप्रमुख खाँणले असोज २७ अगाडि नै खेलमैदान तयार भईसक्ने जानकारी गराउनु भएको थियो ।

खेल मैदानको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री लगायतले पनि निरन्तर अनुगमन र प्रगतिको बारेमा जानकारी लिइरहनु भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । सात प्रदेशका सात टोली, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र एनआरएनएको एक टिम गरी कूल ११ टिम बीच महिला फुटबलको प्रतिस्पर्धा हुनेछ  ।