• १० मंसिर २०८१, सोमबार

सन्तान बेच्न बाध्य केन्याली आमाहरू

blog

दामा आफ्नो गाउँमा फर्किएकी छन् । उनी भन्छिन्, “जीवन बाँच्न निकै गाह्रो भयो ।” आमाबुवा हुँदा आफ्नो जीवन केही सहज भएको उनी बताउँछिन् । पैसा हुँदैनथ्यो, उनका लागि विकल्प त्यतिबेला नै सीमित थिए ।

उनी विद्यालय गइन् । उनका बुवा उनी १२ वर्ष हुँदा बिते र केही वर्षमा आमाले पनि बिदा लिइन् । त्यसपछि जीवन झनै कठिन भयो । पश्चिम केन्याको ग्रामीण भेगमा रहेको गाउँमा उनी बस्छिन् ।

२२ वर्षकी हुँदा अदामाको एक जना पुरुषसँग भेट भयो । उनी गर्भवती भइन् तर उनीहरूको छोरी जन्मिएको तीन दिनपछि ती व्यक्तिको मृत्यु भयो । उनको एक्लोपन अझ बढ्यो । बिरामी भइरहने शिशुलाई उनले जेनतेन १८ महिनाको बनाइन् । त्यसपछि जीवन निर्वाहका लागि उनलाई तत्काल पैसा चाहिने भयो । उनले सानी छोरीलाई  हजुरआमासँग छोडेर काम खोज्न नैरोबीको बाटो तताइन् । 

अदामा नैरोबी पुगिन्, अनि  त्यहाँका गल्लीमा खरबुजा बेच्न थालिन् । तर त्यसबाट त्यति कमाइ हुँदैनथ्यो ।

त्यसपछि उनी निर्माणकार्य भइरहेको ठाउँमा काम गर्न गइन्  जहाँ उनलाई पैसा दिइएन । अनि कामका लागि उनी नाइट क्लबमा पुगिन् । त्यहाँका हाकिमलाई उनले काम गरेबापत आफूले पाउने ज्याला  गाउँमा रहेकी हजुरआमालाई सिधै पठाइदिन भनिन् ।

त्यसको केही समयपछि डेरा गरेर बस्न सकियोस् भनेर उनले अलि धेरै तलब आउने नयाँ काम खोजिन् । निर्माणकार्य हुने त्यो ठाउँमा भने अलि राम्रो पैसा आउँथ्यो र त्यहाँ उनले एक जना मानिस भेटिन् । उनीहरू एकअर्कासँग नियमित भेट गर्न थाले र ती पुरुषले एक दिन आफूलाई बच्चा चाहिएको बताए ।

अदामाले पनि एउटा प्रस्ताव गरिन्, “यदि मेरी छोरीलाई सँगै राख्ने भए बच्चा जन्माउन सकिन्छ ।” यसमा ती पुरुषले सहमति जनाए ।

उनले अदामा गर्भवती भएको पाँच महिनासम्म डेराको भाडा र खानेकुराको पैसा तिरिदिए । अदामा भने आफ्नी छोरी सहरमा कहिले आइपुग्लिन् भनेर कुरिरहेकी थिइन् तर एकदिन ती पुरुषले उनलाई छोडेर गए र फर्केर आएनन् ।

केन्यामा प्रत्येक वर्ष हजारौँ किशोरी गर्भवती हुन्छन् । कोभिड सर्वमहामारीका बेला यो अवस्था झनै खराब भएको थियो । केन्यामा गरिबीका कारण महिलाहरू बच्चा बेच्न तस्करसम्म पुग्न बाध्य भइरहेका छन् ।

कुनै अपरिचितलाई आफ्नो बच्चा बेच्नेबारे धेरैले सोच्न पनि सक्दैनन् तर केन्यामा गरिबीमा रहेका केही त्यस्ता आमा छन् जसका लागि बाँच्ने सीमित विकल्पमध्येको अन्तिम भनेको आफ्नो बच्चा तस्करलाई बेच्नु हो । तस्करले निकै कम पैसा दिन्छन् ।

आफ्नो दोस्रो गर्भ रहँदा सारा १७ वर्षकी थिइन् । उनका अनुसार बच्चा हुर्काउनका लागि उनीसँग कुनै स्रोत थिएन । उनले आफ्नो सन्तान एक महिलालाई बेच्ने भइन्, जसबापत उनलाई करिब २० पाउन्ड दिने प्रस्ताव राखियो । 

सानै उमेरकी सारालाई त्यो काम गलत हो भन्ने लागेन । पाँच वर्षपछि चाहिँ उनी त्यस घटनाले साह्रै दुःखी भइन् । पैसाको लोभमा पारेर तस्करले बच्चा लग्ने गरेको तथ्य उनले पछि मात्र बुझिन् ।

“यस्तो अवस्थामा रहेका थुप्रै महिला र किशोरीका कथा मैले सुनेकी छु । भर्खरका युवती जागिरको खोजीमा सहर आउँछन् । सम्बन्धमा रहन्छन् र गर्भवती हुन्छन्, अनि उनीहरूलाई पुरुषले छोडेर भाग्छन् ।”  केन्याको मानव अधिकारको क्षेत्रमा कार्यरत वकिल प्रुडेन्स मुटिसोले भनिन् ।

अदामाले निर्माण क्षेत्रमा काम गर्दा आफूले सिमेन्टका गह्रौँ भारी बोक्न सक्दासम्म आफू गर्भवती भएको कुरा लुकाइन् तर पछि उनले भाडा तिर्नै सकिनन् । तीन महिनासम्म त घरधनीले  केही भनेन तर त्यसपछि चाहिँ निकालिदिए ।

बच्चा जन्मिनु केही साताअघि अदामालाई कसैले एक जना राम्रो पहिरनमा रहेकी म्यारी अबुमा नाम गरेकी महिलासँग चिनाइदिएको रहेछ । ती महिलाले उनलाई गर्भपतन गर्ने वा आत्महत्या गर्ने विषयमा सोच्दै नसोच्न भनिन् । म्यारी अबुमाले नैरोबीको सुकुम्बासी बस्ती कयोलीमा गैरकानुनी एउटा क्लिनिक चलाउँछिन् । उनले अदामालाई केन्याली मुद्रा सय दिइन् र अर्को दिन आफ्नो क्लिनिकमा आउन भनिन् ।

म्यारी अबुमाको अस्थायी क्लिनिक खासमा क्लिनिक होइन । दुईकोठे उक्त ठाउँमा बाहिरपट्टि खाली फ्ल्याक छन् । जहाँ केही औषधि छरिएका देखिए । भित्रका कोठामा चाहिँ बच्चा जन्माउने गरिन्छ । आफ्ना सहयोगीका साथमा अबुमा त्यहीँ बस्छिन् । कसले केका लागि बच्चा किनिरहेको छ भन्ने झन्झटतिर नलागी आफ्नो फाइदाका लागि उनले बच्चा किन्ने र बेच्ने गरिरहेकी छन् । 

उनले अदामालाई सन्तान नभएको एउटा जोडीले उनको बच्चा किनेको बताएकी थिइन् तर यथार्थमा चाहिँ राम्रो पैसा दिने जो कसैलाई म्यारी अबुमाले बच्चा बेचिदिन्छिन् । बच्चा जन्माउने बेला भएका आमालाई अबुमा आफू पहिला नर्स भएको पनि बताउँछिन् तर उनीसँग बच्चा जन्माउँदा चाहिने स्वास्थ्य सामग्री, दक्षता र सफाइ  केही पनि सामान छैनन् ।

अदामा क्लिनिकमा पुगेपछि म्यारी अबुमाले उनलाई बेथा लाग्ने दुईवटा चक्की खान दिइन् । त्यतिबेला अबुमाको क्लिनिकमा बच्चा किन्ने मानिसहरू पालो कुरिरहेका थिए र उनी बेच्न आतुर थिइन् तर जब अदामाले छोरा जन्माइन् उसमा छातीको समस्या देखियो । तत्कालै उपचार गर्नुपर्ने भयो । अबुमाले अदामालाई नवजात शिशुलाई अस्पताल लैजान भनिन् । 

एक साता अस्पतालमा राखेपछि बच्चालाई निको भयो । पहिला घरबाट निकाल्ने घरधनीले उनलाई फेरि बस्न दिने भए र उनले बच्चाको हेरचाह गरिन् । त्यसकै केही समयपछि उनले फेरि मेरी अबुमालाई बजारमा भेटिन् । तिनले अदामालाई थप सय सिलिङ दिइन् र अर्को दिन क्लिनिकमा आउन भनिन् । 

यसको खबर अबुमाले आफ्ना ग्राहकलाई पठाइन् ।  

म्यारी अबुमाले ४५ हजार सिलिङ अर्थात् झन्डै तीन सय पाउन्डको कुरा गरेकी थिइन् तर अदामाले केवल ७० पाउन्ड पाइन् ।

अदामाजस्ता हजारौँ गरिब महिला केन्यामा अझै पनि विवशताले आफ्ना सन्तान बेच्न बाध्य छन् । 


Author

रामप्रसाद आचार्य