• २८ वैशाख २०८२, आइतबार

मिथिलाको दशैँका सांस्कृतिक पाटाहरू

blog

हिलो–मैलो–गर्मीबाट मुक्ति दिलाउँदै अनि शान्त–सुशीतल मौसम लिएर आउने चाड हो– विजया दशमी । भौगोलिक र सांस्कृतिक वैविध्यले सम्पन्न हामीकहाँ दशैँ मान्नेहरू यथेष्ट छन् । उसो त पछिल्लो समयमा विजया दशमी-दशैँ नमान्ने वा मान्न नहुने भनी जिरह गर्नेहरू पनि देखिन थालेका छन् । तर दशैँको प्रभाव र उल्लासबाट वञ्चित वा विमुख भने कोही देखिन्नन् । यस्तो हुनुमा दशैँ राज्यद्वारा अँगालिएको वा उचालिएको चाड हुनु मात्र कारण होइन, बरू यसले हरेक क्षेत्रका जनमानसलाई कुनै न कुनै रूपले प्रभावित तुल्याएकाले पनि हो ।

सामान्यतया दशैँ भन्नाले नेपालको पर्वतीय पृष्ठभूमिका खसआर्य समाजमा देवीको पूजा–आराधना, खानपिन, वस्त्राभूषण, भेटघाटमा रम्ने तथा टीका–जमराका साथ आशीर्वाद लिने–दिने पर्व भन्ने बुझिन्छ । पछिल्ला समयमा दशैँको यस पाटोको अनुकरण-अनुसरण जानेर–नजानेर वा दशैँको मर्मलाई मानेर–नमानेर देशैभरि धेरथोर मात्रामा गरिन थालेको छ । अथवा भनौँ यो दशैँको मूल चेहरा हो । पश्चिमी तराई-मधेशतिर दशैँमा रावण दहन गरेर हर्षोल्लास मनाउने पाटो अपेक्षाकृत बढी मुखर देखिन्छ । मिथिलामा भने दशैँको आध्यात्मिक र सांस्कृतिक वैशिष्ट्य उल्लेख्य छ । त्यहाँ दशैँको पूजा–उपासना विशिष्ट प्रकृतिको हुन्छ । 

दशमी, दुर्गापूजा, दशहरा आदि नामले सम्बोधन गरिने दशैँ वस्तुतः मिथिलाको एउटा यस्तो महापर्व हो, जसले मैथिलहरूको मन–मनमा अभूतपूर्व ऊर्जा एवं उल्लासको सञ्चार गर्दछ । मिथिलाका अन्य महìवपूर्ण चाड–पर्वको विशाल स्वागत–द्वारको निर्माण दशैँले नै गर्दछ । सुकराती (तिहार), छठी, सामा–चकेवा आदि मिथिलाको सोच तथा संस्कृतिलाई प्रतिबिम्बन गर्ने चाडपर्वहरू दशैँपछि लगत्तै आउन थाल्छन् ।

मिथिलामा दुर्गापूजाका समयमा मूर्ति नबनाइने प्रायः कुनै गाउँ, टोल हुँदैन । मूर्ति निर्माणका दिनदेखि त्यसको प्राण प्रतिष्ठा र त्यसअन्तर्गतका सांस्कृतिक तथा धार्मिक क्रियाकलापले दशैँलाई उल्लासमय बनाइरहेको हुन्छ । मूर्ति बनाउने काम मात्र एउटा प्रक्रियाको रूपमा नभई अनुष्ठानकै रूपमा हुने गर्दछ । यस क्रममा मूर्ति बनाइने माटो खन्ने बेला साइत हेराइन्छ । 

मिथिला क्षेत्रमा अनेकौँ शक्तिपीठहरू हुनुका साथै, गाउँगाउँमा भगवतीका मन्दिरहरू पनि अवश्य पाइन्छन् । त्यति मात्र नभई मिथिलाको कुनै गाउँ यस्तो पाइँदैन, जहाँ दशैँको समयमा दुई–चार ठाउँमा भगवतीका मूर्तिहरू बनाइएका नहोउन् वा दुर्गापूजाको मेला (जात्रा) नलाग्दोहोस् । समय–क्रममा मैथिलहरूको बसोबास रहेका ठाउँहरूमा पनि यस्ता परम्पराले झाँगिने मौका पाए । फलतः पछिल्ला ३–४ दशकमा राजधानी काठमाडौँ तथा नेपालको पश्चिमी तराईतिर पनि दशैँको यो स्वरूप विस्तृत हुन थालेको पाइन्छ । 

दशैँको सुरुवात : कलशस्थापन

नेपालका अन्य क्षेत्रहरूमा झैँ मिथिलामा पनि विजया दशमीको सुरुवात घटस्थापनाबाटै हुन्छ । घटस्थापनालाई ‘कलशस्थापन’ भनिन्छ । कलशस्थापन मूर्ति निर्माण गराइएका मन्दिरहरू, दुर्गाका स्थायी मन्दिरहरू तथा व्यक्तिको गोसाउनी-भगवती घरमा गर्ने गरिन्छ । 

मिथिलामा लोक–वेद शब्द निकै प्रचलित छ । यस शब्दले आम मानिसको बोध गराउँछ । अर्थतिर जाँदा शास्त्रमा उल्लिखित वा शास्त्रसम्मत विषयवस्तुको लोकले अनुसरण र सहजीकरण गरेको प्रक्रिया भन्ने बुझिन्छ । त्यसैले आम मानिसले उपलब्ध स्रोत–साधन र सुविधाअनुसार बालुवामा जौ (जयन्ती) छरी त्यसैमाथि माटाको कलश राख्छन् । तर अलि विशेष विधानपूर्वक पूजा गरिँदा भने गोसाउनी घरमा काठको तख्तामाथि रातो कपडा राखेर त्यसमाथि अक्षताले गणेश, षोडशमातृका तथा नवग्रहको निर्माण गरिन्छ । त्यसैमाथि बालुवा र गाईको गोबरको मिश्रणमा जयन्ती (जमरा) छरिन्छ । यसमाथि प्रायः इशान कोणमा पर्नेगरी कलशको स्थापना गरिन्छ ।

कलशस्थापनपछि विशेष पूजा–अर्चनाको सिलसिला प्रारम्भ हुन्छ । मैथिलहरू कलशस्थापनदेखि नै दशैँको भक्तिमयतामा डुब्छन् । कतिपय श्रद्धालुहरू दस दिनसम्म शवासनको मुद्रामा सुतेर छातीमाथि जयन्ती उमार्छन् । अनेकौँ व्यक्ति नवरात्राभरि उपवास बस्छन् भने कतिपयले मात्र फलाहार गरेर पूरा दशैँ बिताउँछन् । 

यसबीचमा अधिकांश घरमा प्रतिदिन पार्थिव महादेवको पूजा गरिन्छ । प्रतिदिन केही सय वा केही हजारको सङ्ख्यामा साङ्केतिक शिवलिङ्ग निर्माण गरेर पूजा गरिने र उही दिन सेलाइने प्रक्रिया यसअन्तर्गत हुने गर्दछ । मैथिल पुरुषहरू प्रायः नौरथाभरि शक्तिपीठ वा भगवती मन्दिरहरूमा गई दुर्गाकवच पाठ गर्दछन् । कतिपय व्यक्ति आफ्नै गोसाउनी घर (पूजा कोठा) मा पनि यसरी दुर्गा कवच पाठ गर्छन् । महिलाहरू पनि नित्य दिन भगवतीको पूजा–आराधना गर्नुका साथै भगवतीलाई ‘पातरी दिने’ काममा संलग्न हुन्छन् । भगवतीलाई भोग लगाई कुमारी भोजन गराउने प्रक्रियालाई पातरी (पातैर) दिने भनिन्छ । पातरीमा खीर पकाएर भोग लगाइन्छ । 

बेलनोती र बेलतोडी

मिथिलामा दुर्गापूजाका समयमा मूर्ति नबनाइने प्रायः कुनै गाउँ, टोल हुँदैन । मूर्ति निर्माणका दिनदेखि त्यसको प्राण प्रतिष्ठा र त्यसअन्तर्गतका सांस्कृतिक तथा धार्मिक क्रियाकलापले दशैँलाई उल्लासमय बनाइरहेको हुन्छ । मूर्ति बनाउने काम मात्र एउटा प्रक्रियाको रूपमा नभई अनुष्ठानकै रूपमा हुने गर्दछ । यस क्रममा मूर्ति बनाइने माटो खन्ने बेला साइत हेराइन्छ । त्यस्तै मूर्ति बनाउन सुरु गर्दा पनि साइत हेराइन्छ । सबै काम निश्चित नियम–निष्ठा र तालिका अनुसार हुने गर्दछ ।

मूर्ति बनाइने ठाउँहरूमा बेलनोती र बेलतोडीको प्रक्रियाले दशैँको उल्लासमा अझ रौनक थपेको हुन्छ । यी दुवै परम्पराका आफ्नै सांस्कृतिक वैशिष्ट्य छन् । बेलनोती र बेलतोडीको अर्थ बेललाई निम्त्याउने र बेल टिपेर ल्याउने भन्ने हुन्छ । यी क्रमशः षष्ठी र सप्तमी तिथिका दिन गरिने धार्मिक, सांस्कृतिक प्रक्रिया हुन् । 

धार्मिक विश्वासअनुसार भगवती दुर्गा बेलको रुखमा आएर बसेकी हुन्छिन् । त्यहाँबाट मूर्ति बनाइएको स्थानसम्म विशेष निम्ता र पूजा–अनुष्ठानका साथ दुर्गालाई ल्याइने काम बेलनोती र बेलतोडीमा गरिन्छ । षष्ठीका दिन बाजागाजासहितको टोली बेलको रुख भएको ठाउँमा पुग्छ । त्यहाँ विशेष प्रकारको बेललाई रातो टालोले बाँधेर निम्तो दिइन्छ । निम्त्याइने बेल एउटै हाँगामा जोडिएर फलेको हुनुपर्ने हुनाले त्यस्तो बेलको खोजीमा कहिलेकाहीँ निकै टाढा र विकट स्थानसम्म पनि पुग्नुपर्ने हुन्छ । 

सप्तमीका दिन पुनः निश्चित साइतमा बाजा–गाजा र पण्डित–पुरोहितसमेतको जनसमूह अघल्लो दिन निम्त्याइएको बेल टिप्न जान्छ । बेल टिप्न जाँदा श्रद्धालुहरू साज–शृङ्गारयुक्त पालकी (डोली) लिएर जान्छन् । कहिलेकाहीँ त्यस्तो बेल निकै अग्लो ठाउँमा पाइएको अवस्थामा बाँसको २०–२५ फिटसम्मको अग्लो सिढी बनाएर निकै जोखिमपूर्ण ढङ्गले पनि बेल निम्त्याउने र टिप्ने गरिन्छ । बेल निम्त्याउने र टिप्ने व्यक्ति नुहाइधुवाई पवित्र भएर नयाँ धोती लगाई यस काममा संलग्न हुन्छन् । बेल टिपेर ल्याएपछि त्यसलाई पालकीमा सजाएर भगवतीको जयकारा लाउँदै मूर्ति भगवती मन्दिरसम्म ल्याइन्छ । नेपाली जनमानसमा प्रचलित फूलपाती भन्ने शब्द यही बेलतोडीकै अर्को रूप हो । 

सप्तमीको मध्य रातमा मूर्ति बनाइएका ठाउँहरूमा भगवतीको आँखाको नानी बनाइन्छ । त्यसपूर्व मूर्तिका बाँकी सबै निर्माण–कार्य गरिसकिए पनि आँखा बनाउन बाँकी राखिएको हुन्छ । टिपेर ल्याइएको बेलपत्रको सिन्काले आँखाको नानी हाल्ने विधि सम्पन्न गरिन्छ । यसपछि नै भगवतीको जन्म भएको मानिन्छ । 

अष्टमीका दिन घरको दैला–दैलामा भगवतीको चित्र बनाइन्छ । सामान्यतया भित्ताको सतहलाई पिठार (ढड्याइएको चामल पिनेर बनाइएको लेदो) ले पोतेर त्यसमाथि सिन्कोमा कपास बेरेर बनाइएको कुचीले रातो रङ चोप्तै देवीको प्रतीकात्मक चित्र बनाइन्छ । यो काम घरघरमा चेलीहरू वा गृहिणीहरूले गर्दछन् । सप्तमीदेखि नवमीसम्म दुर्गापूजाको विशेष अनुष्ठान हुन्छ भने पातरी दिने वा बलि प्रदान गर्ने कार्यहरू यिनै दिनहरूमा गरिन्छन् । 

खोइँछ भराइ

दशैँमा भगवती मन्दिर वा मूर्ति बनाएर पूजा गरिने ठाउँहरूमा सबैभन्दा महìवपूर्ण प्रक्रियाका रूपमा ‘खोइँछ भराइ’ हुने गर्दछ । सामान्यतया अष्टमीका दिनबाट महिलाहरूले भगवतीको खोइँछ भर्ने कार्य सुरु गर्छन् । खोइँछ भराइको प्रक्रियाले मिथिलामा दुर्गा मातालाई पनि भगवतीका रूपमा पूजा गर्ने मात्र नभई आत्मीय चेलीलाई सगुन उपहार दिने गरिएको परिपाटीलाई रेखाङ्कित गर्दछ । देवीभागवत् पुराणका अनुसार त्रिशक्ति अर्थात् महासरस्वती, महालक्ष्मी र महाकाली नै संसारकी पराशक्ति हुन् । देवी लक्ष्मीका विस्तृत रूप दुर्गा, पार्वती, सती, वैष्णवी तथा अन्य हुन् । लक्ष्मीले मिथिलामा सीताका रूपमा जन्म लिएका कारण शाक्त परम्पराअनुसार सीतालाई देवी शक्ति पनि मानिन्छ । दशैँको समयमा गरिने साङ्गीतिक आराधनाहरूमा पनि दुर्गा र सीता एकाकार भएका पाइन्छन् । वस्तुतः मिथिलामा जनकसुता सीतालाई नै शक्तिस्वरूपमा मानी दशैँको समयमा समेत यिनको विशेष उपासना गरिन्छ । देवीको सोही रूप ‘गोसाउनी पूजा’मा पाइन्छ । मिथिलाका घरघरमा गोसाउनीको पूजा नित्य हुने गर्दछ । महाकवि विद्यापति रचित मिथिलाको सर्वव्यापक यस गोसाउनी गीतले पनि यस कुरालाई आधार प्रदान गर्दछ– 

जय जय भैरवी असूर भयाउनी, पशुपति भामिनी माया

सहज सुमति वर दिय हे गोसाउनी, अनुगति गति तुअ पाया

वासर रैनि शवासन शोभित चरण चन्द्रमणि चूड़ा

कतओक दैत्य मारी मुह मेललि कतओ उगिली करु कुडा

देवी सीताकै अर्को रूप मानिने भएर पनि मिथिलामा भगवती दुर्गाको खोइँछ भराइको प्रचलन रहेको हो । उसो त धार्मिक रूपले दुर्गाको खोइँछ भर्नु भनेको भगवतीको खोइँछ भरिएझैँ आफ्नो जीवन पनि धनधान्य र कृपादृष्टिले भरिरहोस् भनेर भनिन्छ । तर सूक्ष्म रूपले अवलोकन गर्दा यस्ता प्रक्रियामा मिथिलाको विदेह परम्पराकै पुनरावृत्ति पाउन सकिन्छ । विदेह अर्थात् देह भावना-अभिमानले रहित । आत्मिक भावमा रमाउने, कर्ममा विश्वास गर्ने विशिष्ट परम्परा । चेलीलाई खोइँछाका रूपमा सगुन दिने र जतरा अर्थात् विजया दशमीको दिन अश्रुपूरित नयनले बिदाइ गर्ने परम्परा ।

खोइँछ भनेको सारीको सप्को, आँचल वा अन्य कुनै वस्त्र विशेषमा चामल-धान दुबो बेसार सुपारी पैसा आदि पोको पारेर दिइने सगुन हो । यस्तो सगुन वा खोइँछ भराइ आफ्ना छोरी–चेलीलाई बिदा गर्दा मङ्गलकामनाका साथ दिने गरिन्छ । 

झिझिया नृत्यको परम्परा

मिथिलामा दशैँले लोक गीत–नृत्यको विशिष्ट अनुष्ठान झिझियालाई संरक्षण दिएको छ । घटस्थापनाकै दिनदेखि गाउँका किशोरी, युवती, महिलाहरू राति खाना खाएर एक ठाउँ भेला हुन्छन् र झिझिया गाउने अनि नाच्ने गर्छन् । गीत–नृत्य सुरु गर्नुभन्दा पहिले महिलाहरूको समूह ग्रामदेवता (डिहबार, ब्रह्मस्थान) को स्थानमा पुगेर पहिले डल्ले सुपारी सलामी चढाएर पूजा गर्छन् अनि नाच्दै–गाउँदै गाउँ भ्रमण गर्छन् । यसमा प्वालैप्वाल पारिएको घैँटोभित्र दियो बालेर उक्त घैँटो टाउकोमा राखेर नृत्य गरिन्छ । झिझिया नाच गर्नाले बोक्सी वा दुष्टात्माहरूको प्रभावबाट मुक्त भइने विश्वास राखिन्छ । वस्तुतः यो विभिन्न किसिमको बन्धनमा थिचिएका महिलाहरूले दशैँको शारदीय सन्ध्यामा उन्मुक्त रूपले ग्राम–भ्रमण गर्ने तथा आफ्नो कला पस्किने विशिष्ट अवसर स्वयंले निर्माण गरेको एउटा उपक्रम हो । 

दशमी अर्थात् जतरा

हरेक शुभ कार्य साइत हेरेर मात्र गरिने मानसिकता र परम्परा रहेको मिथिलामा दशमीको दिनलाई ‘जतरा’ भनेर पनि सम्बोधन गरिन्छ, जसको अर्थ नै ‘साइत’ हुन्छ । भनिन्छ– यस दिन दसै दिशा खुला हुन्छ । त्यसैले कुनै पनि कामका लागि साइत हेरिराख्नु आवश्यक हुँदैन । यस्तै जतराको दिन एकाबिहानै उठेर नीलकण्ठको चराको दर्शन गर्ने प्रचलन छ । यसले कतै न कतै घर छेउछाउ रुख–बिरुवाको प्रचुरता रहोस् र चराचुरुङ्गीहरू पनि सबै प्रकारका रहून् भन्ने कुरालाई आधार दिएको छ । 

दशैँको सम्पूर्ण अवधिभर खासगरी महिलाहरूले भगवतीका विभिन्न रूपको पूजा–आराधना गर्दै तत्सम्बन्धी संस्कार गीतहरू गाउने गर्दछन् । समूहमा गाइने यस्ता गीतहरूले नौरथा लागेदेखि नै बेग्लै प्रकृतिको भक्तिमयता सिर्जना गर्दछ । जतराको दिन भगवतीलाई बिदा गरिन्छ । यसमा पनि मिथिलाको परम्पराअनुसार बिदाइको घडीमा गाइने शोकगीत समदाओन गाइने परम्परा छ । 


Author

धीरेन्द्र प्रेमर्षि