• ६ जेठ २०८१, आइतबार

प्रभावकारी बन्दै पूर्वाधार एम्बुलेन्स

blog

भउचप्रसाद यादव

काठमाडौँ, असोज १७ गते । काठमाडौँ महानगरपालिकाले सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्सले एक हजार चार सय वर्गमिटर सडक मर्मत गरेको छ । तत्काल सडकको खाल्टाखुल्टी पुर्न तथा सडकपेटीको मर्मतसम्भार गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्सले  ८० घनमिटर खाल्टाखुल्टी पुर्ने काम पनि गरेको छ ।

महानगरपालिकाका पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले पूर्वाधार एम्बुलेन्स सञ्चालनमा आएको तीन महिनाको अवधिमा कालोपत्रे उप्किएको ठाउँमा एक हजार चार सय वर्गमिटर ‘प्याचिङ’ गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार असारदेखि भदौसम्म ८० घनमिटर खाल्टाखुल्टी पुरिएका छन् । 

उहाँले भन्नुभयो, ‘‘आवश्यक जनशक्ति, निर्माण सामग्री र उपकरणसहित अहिले दुईवटा एम्बुलेन्स दैनिक रूपमा सडक मर्मत गर्ने काम गर्दै आएका छन् । महानगरका ३२ वटै वडामा प्राथमिकता र आवश्यकताका आधारमा कालोपत्रे उप्केका ठाउँमा ‘प्याचिङ’ र खाल्टाखुल्टी परेको ठाउँमा पुर्ने काम हुँदै आएको छ ।’’

सबैभन्दा बढी बडा नम्बर ४, ६, ७, १६ र २६ मा मर्मतसम्भारको काम गरिएको छ । काठमाडौँ महानगरपालिकाअन्तर्गत चार मिटर चौडाइ भएका कुल एक हजार ५० किलोमिटर सडक रहेका छन् । त्यसैगरी चार सय किलोमिटर सडक विभागअन्तर्गतका सडक छन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पदभार ग्रहण गरेपछि जेठ १६ गते सञ्चालन गरिएको पहिलो बैठकमा सडकमा पर्ने खाल्टाखुल्टी पुर्न तथा सडकपेटी मर्मतका लागि भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव गर्नुभएको थियो । महानगरले असारदेखि सो एम्बुलेन्स नियमित रूपमा सञ्चालनमा ल्याएको छ ।

महानगर प्रमुख शाहका सचिवालय सदस्य सुनिल लम्सालले सडक मर्मतका लागि अहिलेको दुईवटा पूर्वाधार एम्बुलेन्स अपर्याप्त रहेको बताउँदै थप एम्बुलेन्स खरिदका लागि प्रक्रिया अगाडि बढाइसकिएको बताउनुभयो ।

करिब १७ हजार कल

महानगरबासीको गुनासो सुन्न र सकेसम्म तत्काल समस्याको सम्बोधन गर्न महानगरपालिकाले सञ्चालनमा ल्याएको कल सेन्टरमा अहिलेसम्म झन्डै १७ हजार कल आएको सचिवालय सदस्य लम्सालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘महानगरलाई जिम्मेवार र जनतामैत्री बनाउन सञ्चालनमा ल्याइएको कल सेन्टरमा चार महिनाको अवधिमा १६ हजार सात सय कल आएका छन् । ती कललाई सम्बन्धित विभागमा पठाइएको छ ।’’ आएका कलहरूमध्ये ८० प्रतिशतको सम्बोधन भइसकेको उहाँले दाबी गर्नुुभयो ।

सो कल सेन्टरमा नयाँ सफ्टवेयर विकासको क्रममा रहेको छ । त्यसपछि कल सेन्टरको नयाँ प्रणाली स्वचालित हुनेछ जसअनुसार आएका गुनासाहरू महानगरको सम्बन्धित विभाग तथा निकायमा स्वतः पुग्ने छन् र त्यहीबाट समाधानका लागि काम अघि बढाइने भएको छ । कल सेन्टरबाट सम्बोधन भइसकेका गुनासामा हरियो चिह्न देखाउनेछ भने सम्बोधन नभएकामा रातो चिह्न देखाउनेछ ।

महानगरले जेठ २४ गतेदेखि राष्ट्रिय सभागृहमा कल सेन्टर सञ्चालन गरेको थियो । महानगरसँग कुनै गुनासो भए टेलिफोन नम्बर १६६००१०५५११ मा निःशुल्क फोन गर्न सकिने व्यवस्था गरिएको छ ।