• १२ साउन २०८१, शनिबार

भन्सार राजस्व सङ्कलनमा कमी

blog

बेलहियामा रहेको भैरहवा भन्सार कार्यालय । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, जेठ ६ गते । चालु आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा भैरहवा भन्सार कार्यालयले राजश्व सङ्कलनमा ५१ प्रतिशत मात्रै लक्ष्य पूरा गरेको छ । भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई चालु आर्थिक वर्षका लागि एक खर्ब २७ अर्ब ८३ करोड ६६ लाख ७९ हजार रुपियाँ राजश्व सङ्कलनको लक्ष्य तोकेको छ । 

तर चालु वर्षको १० महिना पूरा हुँदा भन्सार कार्यालयले जम्मा ६५ अर्ब ९० करोड ७० लाख ९६ हजार रुपियाँ राजश्व सङ्कलन गरेको छ । भैरहवा भन्सार कार्यालयले चालु वर्षका कुनैपनि महिनामा राजश्व लक्ष्य पूरा गर्न सकेन । वर्षको सुरुकै साउन महिनामा कार्यालयले ६ अर्ब ४९ करोड पाँच लाख ३१ हजार राजश्व सङ्कलन गरेको थियो । 

साउन महिनामा सङ्कलित राजश्व लक्ष्यको ७८ दशमलव ३० प्रतिशत हो । अरू महिनामा भने लक्ष्यको ७३ प्रतिशत भन्दा माथि राजश्व सङ्कलन गर्न सकेको छैन । रकमको हिसाबले भने असोज महिनामा नौ अर्ब तीन करोड ८६ लाख ७३ हजार राजश्व सङ्कलन भएको छ । यो रकमका हिसाबले अरू महिनाभन्दा बढी हो । असोजका लागि भन्सार विभागले १२ अर्ब ३२ करोड ९७ लाख ५६ हजार रुपियाँ राजश्व सङ्कलनको लक्ष्य तोकेको थियो । 

विगतका वर्षहरूमा भन्दा बाहिरबाट आयात हुने वस्तुहरूको परिमाण घट्दै जाँदा राजश्व सङ्कलन पनि घट्दै गएको छ । यद्यपि गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षको १० महिनामा मुख्य १० वटा वस्तुको आयात भने बढेको देखिएको छ । 

भन्सार कार्यालयका अनुसार गत वर्ष भन्दा चालु आर्थिक वर्षमा मोटरसाइकल, जिप, कार र भ्यान, एलपी ग्याँस, विद्युतीय कार, जिप र भ्यान, पिकअप तथा डेलिभरी भ्यान लगायतको आयात बढेको छ । त्यस्तै पेट्रोल, ग्लेज टायल, एमएस विलेट, हाइस्पीड डिजेल, मार्वल लगायतको आयात भने घटेको छ । 

भन्सार कार्यालय बेलहियाका प्रमुख नारद गौतमका अनुसार आयात हुने मुख्य १० वटा वस्तुबाट चालु वर्षको १० महिनामा २८ अर्ब ३६ करोड ८४ लाख ५४ हजार रुपियाँ राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्षमा भने मुख्य १० वटा वस्तुबाट २५ अर्ब तीन करोड चार लाख ४९ हजार रुपियाँ राजश्व सङ्कलन भएको थियो । त्यस्तै मुख्य १० वटा वस्तुको निकासी पनि चालु आर्थिक वर्षमा बढेको छ । आर्थिक वर्ष २०७८÷७९ मा भैरहवा भन्सार कार्यालयले पाँच अर्ब ८६ करोड ९९ लाख ७७ हजार रुपियाँ बराबरका मुख्य १० वटा वस्तुको निकासी गरेको थियो ।  

आर्थिक वर्ष २०८०-८१ मा भने आठ अर्ब ३९ करोड ६३ लाख दुई हजारका मुख्य दश वस्तु निकासी गरेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०७९-८० मा सात अर्ब ४३ करोड ५९ लाख ८० हजारका मुख्य दश वस्तु निकासी गरेको थियो । बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयबाट मुख्य गरी सन्थेटिक यार्न, खैरो सिमेन्ट, सिमेन्ट क्लिङ्कर, विभिन्न वनस्पति उत्पादन, पिना, अल्कीड रेजिन तथा पिभिसी रेजिन, खोटो, चाउचाउ, प्लाईउड, जडीबुटी लगायत निर्यात हुँदै आएको छ ।