• १८ पुस २०८१, बिहिबार

पोखरा–बागलुङ–बेनी सडकमा ‘टाइमकार्ड’

blog

म्याग्दी, असोज १७ गते । गण्डकी प्रदेशको राजधानी पोखरादेखि धौलागिरिका तीन जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारी साधनका लागि ‘टाइमकार्ड’ कार्यान्वयनमा आएको  छ । 

दुर्घटना न्युनीकरणका लागि म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मादेखि पोखरा जाने–आउने जिप, ट्याक्सी, मिनिबस, हाइस, माइक्रो बसका लागि मंगलबारदेखि लागू हुने गरी समय टाइमकार्ड कार्यान्वयन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

कार्यालयका प्रहरी सहायक निरीक्षक इन्द्रजंग थापाले भूपी शेरचन राजमार्ग तथा मालढुङ्गा बेनी सडक खण्डमा लामो तथा छोटो दुरीमा चल्ने सार्वजनिक यात्रुवाहक सवारी साधनहरूलाई टाइम कार्ड लागू गरिएको जानकारी दिनुभयो । 

“यहाँबाट छुट्ने र पोखराबाट धौलागिरि क्षेत्रमा भित्रने सवारी साधनले डिमुवा र पोखराको जौवारी चेक प्वाइन्टमा टाइमकार्ड देखाएर इन्ट्री गर्नुपर्नेछ,” उहाँले भन्नुभयो “तोकिएको समय भन्दा छिटो जाने आउने गरेमा र इन्ट्री नगरेमा जरिवाना हुन्छ ।”

प्रहरी सहायक निरीक्षक थापाका अनुसार ढिला कुदाउने हुँदा ठुला बसका लागि भने टाइमकार्ड लागु गरिएको छैन । डिमुवा–बेनी १ घण्टा ४० मिनेट, बागलुङ–डिमुवा ५५ मिनेट र कुश्मा–डिमुवा २५ मिनेट समय तोकिएको छ । ४५ किलोमिटर दुरीका डिमुवा–जौवारी खण्डका लागि एक घण्टा २० मिनेटको समय तोकिएको छ । 

प्रत्येक सवारी साधनका लागि टाईमकार्ड उपलब्ध गराइएको छ । चाडपर्वका समयमा तीव्र गतिमा सवारी साधन कुँदाउँदा दुर्घटना हुने भएकाले न्युनीकरणका लागि टाइमकार्ड लागू गरिएको ट्राफिक प्रहरीले जनाएको छ । मध्य पहाडी लोकमार्ग अन्तरगत पर्ने भूपी–शेरचन राजमार्ग प्रयोग गरेर पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा आवत जावत हुन्छ ।