• १२ साउन २०८१, शनिबार

गुड्दागुड्दै बसमा आगलागी

blog

काठमाडौंबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा ३ ख ८९८१ नम्बरको बसमा लागेको आगो निभाउँदै । तस्बिर : रासस

खोटाङ, असोज १५ गते। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ। काठमाडौँबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा ३ ख ८९८१ नम्बरको यात्रुवाहक बसमा आज साँझ एक्कासी आगलागी भएको हो।

बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी हुँदा बससहित बसमा भएका सामान जलेर नष्ट भएको छ। बसमा आगलागी भएपछि त्यसमा सवार यात्रु अलपत्र परेका छन्। 

बसमा ३२ यात्रु सवार थिए। उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन दिक्तेलबाट अर्को बस पठाउने तयारी भइरहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो।

गुड्दै गरेको बसको इन्जिनबाट आगो निस्केको यात्रुले बताएका छन्। आगलागी भएको बस पुरानो भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिनुभयो।