• १३ वैशाख २०८१, बिहिबार

बैङ्कमा नगद अभाव

बैङ्कमा नगद अभाव पैसा नपाउँदा दशैँमा सकस

blog

ललिता साह 

बोदेबर्साइन (सप्तरी), असोज १२ गते  । सप्तरीका बैङ्क तथा वित्तीय संस्थामा नगद अभाव भएको छ । सेवाग्राहीले मागे जति पैसा बैङ्क तथा वित्तीय संस्थाले दिने सकेका छैनन् । दशैँ लागेसँगै नयाँ नोट साट्न र चाडपर्व मान्न आइतबार सप्तरीको राजविराजस्थित नेपाल बैङ्कको कार्यालयमा सेवाग्राही भुक्तानी लिन लाइनमा लागे तर बैङ्कले दुई बजे रकम सकिएको भनेर सूचना जारी गरेको शाखा अधिकृत शम्भु यादवले जानकारी दिनुभयो । “लाइनमा रहेका सेवाग्राहीलाई भुक्तानी दिएर पठाउने मनसायले शाखाका म्यानेजरले राजविराजस्थित वाणिज्य बैङ्कलगायत थप चारवटा निजी बैङ्कलाई समेत फोनमार्फत नगद (क्यास) दिन आग्रह गरेका थियौँ । तत्काल रकम उपलब्ध हुन नसक्दा दुई दर्जन सेवाग्राहीलाई रित्तै हात घर फर्काउन बाध्य भयौँ,” उहाँले भन्नुभयो । 

सप्तरीस्थित सेञ्चुरी बैङ्कका शाखा प्रमुख ज्ञानकुमार शाहका अनुसार ग्राहकको सङ्ख्याअनुसार बजार क्षेत्रका राजविराज शाखामा त्यति असहज नभए पनि जिल्लाका ग्रामीण भेगका निजी बैङ्कका शाखाले रकम अभावको समस्या झेल्दै आइरहेका छन् ।

“दशैँ मान्न नयाँ नोट साट्न र पैसा झिक्न बिहान ९ बजेदेखि वाणिज्य बैङ्कमा लाइन बसेको छु, अहिले दुई बज्दैछ अत्यधिक भीडका कारण अझै पैसा साट्न र झिक्न पाएको छैन,” जिल्लाको खडक नगरपालिका–७ कि सबनम गुप्ताले भन्नुभयो । नयाँ नोट साट्न तीन दिनदेखि बैङ्क धाउँदै आएको र दशैँको तेस्रो दिनसम्म पनि आफूले पैसा साट्न नसकेको डाक्नेश्वरी नगरपालिकाका रितु चौधरीले बताउनुभयो । 

जिल्लामा करिब तीन दर्जन जति बैङ्क तथा वित्तीय संस्था हुँदाहुँदै पनि नगद अभावका कारण चाडपर्वको बेला पनि सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न नसकिएको बैङ्कले स्वीकार्दै आएका छन् । यो देशभरिकै साझा समस्या भएको नेपाल बैङ्क लिमिटेड राजविराजका शाखा प्रमुख भक्तराज भगतले भन्नुभयो ।