• ६ वैशाख २०८१, बिहिबार

बजार अनुगमनमा अखाद्य वस्तु बरामद

blog

सर्लाही समाचारदाता

सर्लाही, असोज १२ गते । चाडपर्वलाई लक्षित गर्दै सर्लाहीको लालबन्दी र बयलबास बजारको अनुगमन गरिएको छ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलङ्गवा, उद्योग वाणिज्य सङ्घ र नेपाली उपभोक्ता संरक्षण महासङ्घको टोलीले संयुक्त रूपमा बजारको अनुगमन गरेको हो । 

अनुगमनका क्रममा दुवै बजारका पसलहरूमा व्यापक रूपमा अखाद्य तथा म्याद गुज्रिसकेका सामान फेला परेका छन् । अनुगमन टोलीले भारी मात्रामा चाउचाउ, बिस्कुट, कुरकुरेलगायतका सामान जफत गरेको हो । त्यस्तै टोलीले नेपालमा बिक्री प्रतिबन्ध गरिएको भारतीय पेय पदार्थ (डिउ) जफत गरेको छ । अनुगमन टोली पुगेपछि ईश्वरपुर नगरपालिका अन्तर्गत बलयबास बजारमा व्यापारी पसल नै बन्द गरेर भागेका थिए ।

टोलीले प्रहरीको सहयोगमा बलयबास बजारका पसल खोल्न लगाई अनुगमन गरेको छ । अनुगमनका क्रममा व्यापारीले उपभोक्ताको हितविपरीतका अखाद्य तथा म्याद गुज्रेका सामान बिक्री गरेको फेला परेकोले ती समान जफत गरी पहिलो पटक सम्झाउने काम गरिएको अनुगमन टोली संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो । उहाँले विशेष गरी छाप्रा पसलले त्यस्ता म्याद गुज्रेका चाउचाउ, बिस्कुट, कुरकुरे र प्रतिबन्धित भारतीय डिउ बेच्न राखेको पाइएकोले ती सबै सामान जफत गरिएको जानकारी दिनुभयो । 

अनुगमनमा सहभागी नेपाली उपभोक्ता महासङ्घ मधेश प्रदेश संयोजक प्रमोद थपलियाले जिल्लाका मुख्य बजारमा अखाद्य, अवैध र म्याद गुज्रेका उपभोग्य सामान भेटिनु दुःखद भएको बताउनुभयो । उहाँले केही दिनअघि पनि हरिवनमा आफूहरूकै पहलमा प्रतिबन्धित भारतीय डिउलगायतका खाद्य सामाग्री नियन्त्रणमा लिएको भन्दै जिल्लाका बजारलाई अखाद्य र अवैध उपभोग्य सामानमुक्त गराउने अभियानमा आफूहरू लागेको जानकारी दिनुभयो ।