• १६ चैत २०८०, शुक्रबार

चाडपर्वलक्षित विशेष सुरक्षा योजना

blog

नवीनशिशिर विक 

बागलुङ, असोज १२ गते । चाडपर्वको बेलामा हुनसक्ने सुरक्षा व्यवस्थापनसँग सम्बन्धित दुर्घटना र अपराधका घटना रोक्न जिल्ला प्रहरी कार्यालय बागलुङले विशेष सुरक्षा योजना लागू गरेको छ । 

चाडबाडमा सर्वसाधारणको आवतजावत, सामान खरिद बिक्री तथा मनोरञ्जनका कार्यक्रम बढी हुने भएकाले सम्भावित घटनालाई नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरेको प्रहरीले जनाएको छ । बागलुङवासीले ढुक्क भएर चाडपर्व मनाउन पाउने गरी सुरक्षा वातावरण तयार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले बताउनुभयो । 

जिल्ला प्रहरी नागरिकको २४ सै घण्टा सुरक्षा सेवामा खटिएको भए पनि ठूला चाडबाडको समयमा विशेष ध्यान दिन जरुरी रहेकाले विशेष सुरक्षा योजना लागू गरेको जानकारी उहाँले दिनुभयो । बागलुङ जिल्लाको प्रवेशद्वार मालढुङ्गा र खर्वाङमा विशेष प्रहरी परिचालन गर्ने, जाँचमा कडाइ गर्ने, मानिसको भीडभाड हुने बसपार्कलगायतको क्षेत्रमा प्रहरी परिचालन गर्ने र नागरिकले ढुक्क भएर चाडपर्व मनाउने गरी सुरक्षाको व्यवस्थापन मिलाइएको जिल्ला प्रहरी प्रमुख ज्ञवालीले जानकारी दिनुभयो । 

चाडबाडको समयमा यात्रु ठगिएको, चोरी र मेला पर्वमा झगडा हुने घटना बढी हुन्छन्, उहाँले भन्नुभयो, “त्यसलगत्तै निर्वाचन आउने हुनाले प्रहरी कर्मचारी चनाखो भएर खटिएका छन् । बसहरूमा लागूऔषध, पटाका, अवैध सामग्री भिœयाउन सक्ने भएकाले सुरक्षाजाँचलाई कडाइ गर्न थालिएको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कारबाही गर्न जिल्लाका सबै प्रहरी चौकीलाई निर्देशन गरिसकेको ज्ञवालीले बताउनुभयो । यात्रुको बढी चाप भएको समयमा सवारी दुर्घटना हुन सक्ने तथा यात्रुले बढी भाडा तिनुपर्ने अवस्थाको अन्त्य गर्नका लागि साबिकको भाडादरभन्दा बढी भाडा मागिएमा तुरुन्तै प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।