• १६ चैत २०८०, शुक्रबार

पुष्प व्यवसायमा रमाउँदै विद्यार्थी

blog

गोकर्ण पौडेल 

तुलसीपुर, असोज १२ गते । तुलसीपुर १२ मा रहेको मेट्रो कलेजका विद्यार्थीले पुष्प व्यवसाय सुरु गरेका छन् । कृषि विषय पढ्दै आएका विद्यार्थीले परीक्षणका रूपमा यो वर्ष करिब ६ कठ्ठा जग्गामा पुष्प व्यवसाय सुरु गरेका हुन् । विद्यार्थीले दशैँ तिहार पर्वलाई लक्षित गरेर किताबमा पढेका ज्ञानलाई व्यवहारमा उतारेका छन् । 

कलेजका प्रमुख वसन्त आचार्यले विद्यार्थीहरूलाई सैद्धान्तिक मात्रै नभई प्रयोगात्मक रूपमै उत्पादनमा परीक्षणका रूपमा पुष्प खेती सुरु गरेको बताउनुभयो । पुष्प व्यवसायबाट आम्दानी गरेको सम्पूर्ण रकम विद्यार्थीले प्राप्त गर्नेछन् । विद्यार्थीले उत्पादन गरेको पुष्प मात्र नभएर माला नै बुनेर तिहारमा बिक्रीवितरण गरिने आचार्यले बताउनुभयो । विद्यार्थीहरूले त्यस क्षेत्रमा सयपत्री र  मखमली पुष्पखेती गरेका हुन् । 

तुलसीपुर उपमहानगरपालिकाले सङ्घीय सरकारले सुरु गरेको पढ्दै कमाउँदै अभियानलाई विद्यार्थीहरूमाझ लैजान थालेको छ । उपमहानगरका प्रवक्ता माधव वलीले  प्रयोगात्मक रूपमा केही विद्यालयमा पढ्दै कमाउँदै अभियानलाई अघि बढाइने बताउनुभयो । मेट्रो कलेज तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हो । यस कलेजमा दुई सय जना छोरीहरूले प्राविधिक विषयहरू निशुल्क रूपमा पढ्दै आएका छन् ।