• १३ वैशाख २०८१, बिहिबार

सडकपेटीमा जोखिम

blog

 महानगरजस्ता ठूला सहरमा पैदल यात्रीको सहजता तथा सुविधाका निम्ति सडकपेटीको व्यवस्था गरिएको हुन्छ । अन्तर्राष्ट्रिय मान्यताअनुरूप सडकपेटी कम्तीमा पनि डेढ मिटर चौडा हुनुलाई उपयुक्त मानिन्छ । पैदल यात्रु हिँड्नका लागि प्रयोगमा आउने भएकै कारण सडकपेटीमा कुनै पनि किसिमका अवरोध हुन नहुने यसको महत्वपूर्ण विशेषता हो । तर नेपालको राजधानी सहर तथा मुलुककै पहिलो महानगरपालिका काठमाडौंँका सडकपेटीको अवस्था बेग्लै छ । सडकपेटी असाध्य साँघुरा छन् र कतिपय स्थानमा त सडकपेटीको व्यवस्था नै छैन । राजधानी काठमाडौँमा मात्र होइन, उपत्यकाभित्रै धेरैतिर सडकपेटीको राम्रो व्यवस्थापन छैन । ससाना व्यापारीहरूले सडकपेटीलाई व्यापार गर्ने थलो बनाउँछन् ।  सडकपेटी अतिक्रमणविरुद्ध काठमाडौँ महानगरले बेलाबेलामा कुनै अभियान चलाउने गर्छ तर ती विधि र विधानभन्दा पनि लहडका आधारमा अगाडि बढेको देखिन्छ । एकातिर सडकपेटी खुला तथा अवरोधरहित हुनुपर्ने मान्यता छ भने काठमाडौँका सडकपेटीको अवस्था त्यसको ठीक विपरीत पाइन्छ । अव्यवस्थित सडकपेटीका संरचना, सडकपेटीमा फुटपाथे पसल अनि अस्तव्यस्त संरचना आदि त छँदैथिए, अरू थप समस्याले समेत सडकपेटी पैदल यात्रुका लागि जोखिम हुँदैछ । 

कुनै धेरै अध्ययन नगरी सम्पादन गर्दासमेत सडकपेटी असहज भएको छ । कुनै बेला विद्युतीय पोलले सडकपेटीमा समस्या थियो । जताभावी तारहरू सडकपेटीमा असरल्ल अझै देखिँदै छन् । यी असहजता तथा कठिनाइका बीच काठमाडाँैंका सडकपेटी मानव सुरक्षाका दृष्टिकोणबाट थप जोखिमपूर्ण प्रतीत हुन थालेको छ । विशेषगरी राजधानीका सडकपेटीको बीच भागमा नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युतीय तार भूमिगत गर्न जडान गरिएका उच्च भोल्टका खतरायुक्त विद्युतीय क्याबिनेटका कारण पैदल यात्रुको सहज आवागमनमा अवरोध पु-याइरहेको अवस्था छ । काठमाडौंँ उपत्यकामा झन्डै चार हजारको सङ्ख्यामा जडान गरिएका यस्ता विद्युतीय क्याबिनेटले यहाँका अधिकांश सडकपेटीलाई असहज, साँघुरा गोरेटामा परिणत गरिदिएको छ । यसका साथै क्याबिनेट बक्स निर्माणको कार्यले भविष्यमा पनि निरन्तरता दिने प्राधिकरणको योजनाका कारण यो समस्या तत्कालै समाधान हुनेमा शङ्कापूर्ण नै छ । 

खतरायुक्त विद्युतीय क्याबिनेटका कारण पैदल यात्रुलाई हिँड्नमा कठिनाइ हुने मात्र होइन, यसबाट मानसिक सन्त्रासको सम्भावनालाई समेत नकार्न सकिँदैन । फलतः दैनिकजसो यी सडकपेटी प्रयोग गर्ने लाखौँ पैदल यात्रु भयपूर्ण स्थितिबाट गुज्रिनुपर्ने स्थिति विद्यमान छ । त्यस्तै त काठमाडौँका साँघुरा सडकपेटी विद्युतीय क्याबिनेट तथा पोलका कारण साँघुरिएर अन्तर्राष्ट्रिय मान्यताको झन्डै एक तिहाइ चौडाइ अर्थात् आधा मिटरमा सीमित हुन पुगेको तितो वास्तविकताको नजिक पुगेको छ । यो समस्या ढिलो चाँडो समाधान गर्नैपर्नेछ ।

सहरी सौन्दर्य तथा मानव सुरक्षाका निम्ति विद्युतीय तार भूमिगत गर्ने नेपाल विद्युत् प्राधिकरणको कार्यलाई अनुपयुक्त मान्न सकिँदैन । तर यस सन्दर्भमा प्राधिकरणले साँघुरा सडकपेटीमा ठूल्ठूलाका क्याबिनेट राखिँदा यसबाट पैदल यात्रुमा पर्न सक्ने विविध खाले अप्ठ्यारा निराकरण गर्नसमेत तदारुकतासाथ ध्यान दिनुपर्ने थियो तर यस कार्यमा प्राधिकरण पर्याप्त ध्यान पुग्न सकेको छैन । प्राधिकरणका कारण आमपैदल यात्रुको जीवन सुरक्षालाई लिएर विभिन्न आयामबाट प्रश्न उठ्न थालेका छन्, जुन नितान्त स्वाभाविक पनि हो । प्राधिकरणले बेलैमा सडकपेटीलाई असजिलो पारी गरिराखिएका क्याबिनेटको वैकल्पिक कार्य गरेका भए यी सबै प्रश्न उठ्ने नै थिएनन् । सडकपेटीमा क्याबिनेट बक्स राख्नुको सट्टा विज्ञका भनाइजस्तै पोलमा नै क्याबिनेट बक्स राख्ने प्रबन्ध मिलाउन सकेका भए अझ उपयुक्त हुनसक्दथ्यो । विदेशतिर पोलमा नै क्याबिनेट बक्स राखिने गरिएको प्राधिकरणका जानकार विज्ञलाई थाहा हुनुपर्ने हो ।

अबका दिनमा सडकपेटीका विषयसँग सम्बद्ध पक्षहरू महानगर, विद्युत् प्राधिकरण, सडक विभागजस्ता निकायले आपसी समन्वय गरी एकअर्काका कार्यमा हस्तक्षेप नहुने बरु रचनात्मक सहयोग हुने तवरबाट कार्य हुनसके सबैका लागि उपयोगी हुनेछ । सबै निकायले सार्वजनिक हितकै लागि कार्य गर्ने भएकाले समन्वयात्मक ढङ्गबाट अगाडि बढ्न सके काठमाडौँका सडकपेटी पैदल यात्रु आवागमनका लागि सहज मात्र होइन, सुरक्षित पनि हुनेमा शङ्का छैन ।