• १३ वैशाख २०८१, बिहिबार

निजामतीमा जिम्मेवारी

blog

­­­­निजामती सेवा सरकारको प्रमुख कार्यकारिणी संयन्त्र हो । यसलाई मुलुकको स्थायी सरकारका रूपमा पनि लिइन्छ । सरकारका निर्णय वा नीति कार्यान्वयन गर्ने मुख्य जिम्मेवारीमा रहेकोे भएता पनि सरकारविहीन अवस्थामा समेत निजामती सेवाले सरकारको अभावको महसुस नहुने गरी जिम्मेवारी निर्वाह गर्दै आएको छ । निरन्तर सार्वजनिक सेवा प्रवाह गर्ने र मुलुकको समग्र समृद्धिमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । निजामती सेवाको मूल्य, मान्यता र साखलाई संरक्षण गरी सेवाप्रतिको जनआस्था, भरोसा र विश्वसनीयता कायमै राख्ने उद्देश्यले निजामती सेवा कैयाँै दशकयता जनतासामु चिनिँदै आएको छ । मुलुकको राजनीतिक परिवर्तन साथै जनताको आकाङ्क्षासमेतलाई सम्बोधन गर्न आवश्यक नयाँ सोच, प्रवृत्ति र क्षमता सेवामा जरुरी भएको भए पनि यसतर्फ अपेक्षित सुधार हुन सकेको छैन । जनताको हित एवं कल्याणको कार्यमा सधैँ कर्तव्यनिष्ठ भइरहेको निजामती सेवाका कर्मचारीबाट सरकार एवं जनताले राखेको आशा एवं भरोसा पूरा गर्न सेवाका कर्मचारीले निर्वाह गर्नुपर्ने भूमिका वा प्रतिबद्धता परिवर्तन हुनु आवश्यक भएको छ । 

निजामती सेवा सरकारको निर्णय, नीति, योजना, कार्यक्रम कार्यान्वयन गर्ने मुख्य संयन्त्रका रूपमा रहेको छ । यसले सरकारको निर्णयहरू जनतासमक्ष पु-याउने र जनताका माग वा आवश्यकता सरकारसम्म पु-याउने सेतुका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस सन्दर्भमा निजमती कर्मचारीले निर्वाह गर्नुपर्ने भूमिका वा प्रतिबद्धता मूलतः राजनीतिक नेतृत्वसँंग निरन्तर रूपमा सहकार्य र सम्पर्कमा रहने साथै जनतालाई निरन्तर रूपमा आश्वस्त एवं विश्वसस्त गराउने जिम्मेवारीमा रहेको हुन्छ । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वका बीच पर्याप्त सहकार्य हुन नसकेको भन्ने गुनासा रहेका सन्दर्भमा राजनीति र प्रशासनको लक्ष्य एउटै भएका कारण नतिजाका लागि मिलेर काम गर्न जरुरी भएको छ । राजनीतिक एवं प्रशासनिक नेतृत्वबीचको समन्वय र सहकार्यलाई प्रगाढ गराउन आवश्यक भएको छ । यसका लागि राजनीतिक नेतृत्व र कर्मचारीहरू सचेत र जिम्मेवार हुनु जरुरी छ । यसबाट एकअर्कालाई दोषी देखाई जिम्मेवारीबाट उम्कने प्रवृत्तिको अन्त्य हुन सक्दछ ।

राजनीतिक नेतृत्वले सामान्यतः आफ्नो भोटलाई केन्द्रमा राखेर काम गर्न रुचाउँछ । तत्काल हुन नसक्ने काम तुरुन्त गर्नका लागि र कानुन नाघेर आदेश गर्न ऊ हिचकिचाउँदैन । यस सन्दर्भमा कर्मचारीले उपयुक्त परामर्श र दिशा निर्देश गर्ने क्षमता राख्नु पर्दछ । जनतालाई दिने सेवाका बारेमा जनताप्रति उत्तरदायी नहुँदा समन्वय, सहकार्य, सौहार्दता कमजोर भएको छ । यसबाट समग्र सार्वजनिक सेवाको गुणस्तर वृद्धि गर्दै लान सकिएको छैन । सार्वजनिक सेवाका लागि कर्मचारी जनताप्रति नै उत्तरदायी हुनुपर्छ । यसबाट सेवाको गुणस्तर वृद्धि भई सरकारप्रतिको विश्वसनीयता वृद्धि गर्न सकिन्छ । निजामती सेवालाई काममा अल्छी गर्ने संस्थाका रूपमा आरोप लागेको छ । सम्भावना भएको र कानुनले मिल्ने कामलाई जोखिम लिएर भए पनि गर्न अग्रसर हुनुपर्छ । यसबाट सेवालाई सक्षम र कामयावी संस्थाका रूपमा चिनाउन सकिन्छ । परिवर्तित सन्दर्भको आवश्यकताअनुरूप स्थानीय भाषा, संस्कृति, मूल्यमान्यतालाई आत्मसात् गरी कर्मचारीले आफ्नो क्षमता विकास गर्नु जरुरी भएको छ । यसबाट सङ्घीय प्रणालीमा समेत कर्मचारीले आफूलाई कामयावी गराउन सक्छ । निजामती सेवा जनता र राजनीतिक नेतृत्वको बीच सेतुका रूपमा रहेको छ । यसले नेतृत्वको कमजोरी जनतासम्म पु-याउने र जनताका गुनासाहरू नेतृत्वमा ल्याउने भूमिकामा आफूलाई सक्रिय राखी राख्नुपर्छ । यसबाट गलत कार्य नियन्त्रण भई जनताको मागका आधारमा कार्य गर्ने संस्कार विस्तार हुँदै  जान सक्छ । स्वार्थका लागि गलत रायसल्लाह दिने आरोप लागेका सन्दर्भमा निजामती सेवाले आफ्नो अनुभव एवं विज्ञताका आधारमा नेतृत्वलाई अप्रिय लाग्न सक्ने तर राम्रा सुझाव दिन तत्पर हुनुपर्छ । यसबाट निजामतीले परामर्शदायी भूमिकामा पनि आफूलाई कामयावी गराउन सक्दछ । सेवाग्राहीलाई बेवास्ता गर्ने, दुःख दिने, जिम्मेवारी पन्छाउने आरोप लागेका सन्दर्भमा कर्मचारी सेवाग्राहीले खोजेको सेवा दिने सेवकका रूपमा स्थापित हुनुपर्छ । यसबाट सेवाको साख जोगाउन सकिन्छ । निजामती सेवाको परम्परागत सोच, व्यवहार, कार्य संस्कारबाट परिवर्तित परिवेशलाई सम्बोधन गर्न सकिँदैन । यसका लागि निजामती सेवाले आफ्नो संरचना, स्वभाव र कार्य संस्कारलाई परिवर्तित सन्दर्भ अनुकूल हुने गरी सुधार गर्नुपर्छ । 

निजामती सेवाका कर्मचारी अब जागिरे मानसिकताले मात्र जीवन्त हुन सक्दैनन् । विकास प्रशासनको नवीनतम मूल्यमान्यता अनुरूप मुलुकको समग्र विकासमा मुख्य भूमिकामा अग्रसर हुनुपर्छ । यसबाट यस संयन्त्रलाई परिवर्तनको वाहकको रूपमा चिनाउन सकिन्छ । सरकारको गलत कार्य विपरीत आवाज उठाउने व्यक्तिसमेत सरकारका सहयोगी हुने भएकोले यस्ता विरोधीप्रति पनि उत्तिकै बफादार भई सेवा दिनुपर्छ । यसबाट निजामती सेवाले आफूलाई तटस्थ र निष्पक्ष निकायका रूपमा स्थापित गर्न सक्छ । सेवाभित्रका सीमित व्यक्तिहरूको अनियमित कामबाट समग्र निजामती सेवा कलङ्कित भएका कारण आफूलाई निष्कलङ्कित गराउन भ्रष्टाचारविरुद्धका सूचना सम्बन्धित निकायमा पु-याउन निरन्तर लागिरहनुपर्छ । निजामती सेवा प्रक्रिया उन्मुख, ढिलासुस्ती, झन्झटिलो भएका कारण सेवाप्रतिको आकर्षणता कम हुँदै गएको छ । सरकारले प्रवाह गर्ने सार्वजनिक सेवाप्रति गुनासा कायमै रहेकाले निजामती कर्मचारी जनताका गुनासा छिटो सुन्ने र सम्बोधन गर्ने मुख्य अभियन्ताका रूपमा चिनिनु हुनुपर्छ । यसबाट सेवा प्रवाह प्रभावकारी भई सार्वजनिक सेवाको मूल्य, मान्यता स्थापित हुन सक्छ ।

निजामती कर्मचारीमा पुरानो सोच, व्यवहार एवं प्रवृत्ति कायमै छ । आफ्नो काम, पद, सेवा सुविधामा सधैँ असन्तुष्ट हुने, आफ्नो स्वार्थलाई केन्द्रमा राखेर काम गर्ने प्रवृत्ति हट्न सकेको छैन । साथै परिवर्तित सन्दर्भ अनुकूल क्षमता, सीप, शैली र व्यवहारमा सुधार गर्न कर्मचारी स्वयं तत्पर हुने गरेको छैन । बढ्दो जनताको आकाङ्क्षा एवं छरितो र गुणस्तरीय सेवा प्रवाह गर्नुपर्ने बाध्यात्मक अवस्थाबाट कर्मचारी पूर्णतः परिचित र अभ्यस्त हुनु आवश्यक छ । यसबाट सेवाप्रतिको आशङ्का कम भई प्रतिष्ठा जोगाउन टेवा पुग्छ । सार्वजनिक सम्पत्ति व्यक्ति वा संस्थाका नाममा ल्याउने अनियमित कार्य बढेको सन्दर्भमा निजामती सेवाका कर्मचारीहरूले सार्वजनिक सम्पत्ति संरक्षण गर्ने आफ्नो जिम्मेवारी इमानदारीताका साथ निर्वाह गर्न तत्पर हुनु आवश्यक भएको छ । यसबाट सार्वजनिक सम्पत्तिको संरक्षण भई राष्ट्रहितमा योगदान पुग्दछ । विकासको विविध सम्भावना, फरक क्षमता र आवश्यकता, स्रोतसाधनको व्यवस्थापनमा फरकपन, आर्थिक अनुशासनलगायतका विषयमा स्थानीय तहसम्मको कार्यलाई संस्थागत गर्नु चुनौतीपूर्ण छ । यस चुनौतीको सामना गर्ने क्षमता भएको निजामती सेवा मुख्य मियोका रूपमा स्थापित हुनुपर्छ । 

निजामती सेवाप्रति राजनीतिक नेतृत्व साथै जनताको अपेक्षाका साथै भरोसा बढी हुनु स्वाभाविक हो । सेवाग्राहीको बढ्दो सङ्ख्या एवं परिवतर्तित सन्दर्भको बढ्दो महìवाकाङ्क्षालाई सम्बोधन गर्न कर्मचारीहरूले आफ्नो कार्य पद्धतिमा सुधार गर्नुको विकल्प छैन । कार्य पद्धतिलाई प्रविधिमैत्री गराई सरल, सहज, छरितो एवं गुणस्तरीय गराउन अत्यावश्यक भएको छ । निजामती सेवा मुलुकको परिवर्तनको संवाहक पनि भएकाले कर्मचारीले आफ्ना सोच, प्रवृत्ति, कार्य संस्कार र व्यवहारमा सुधार गर्ने कार्य आजैदेखि थाल्नु पर्दछ । सबै कर्मचारीले आफ्नो टेबुलबाट सुधारको एउटा अभियानको प्रारम्भ गर्नुपर्छ । यसका लागि राजनीतिक नेतृत्वले कर्मचारीतन्त्रलाई कार्य स्वतन्त्रता प्रदान गर्नुपर्छ । राजनीतिक नेतृत्वले कर्मचारीतन्त्रलाई दोष दिएर आफू जिम्मेवारीबाट कहिल्यै उम्कन सक्दैनन् । मूलतः नीतिगत कार्यमा मात्र आफूलाई सीमित गर्ने र कर्मचारी प्रशासन कर्मचारीतन्त्रलाई नै गर्न दिने प्रतिबद्धता एवं नैतिक अनुशासन राजनीतिक नेतृत्वले देखाउनु वर्तमान आवश्यकता भएको छ ।