• १६ चैत २०८०, शुक्रबार

फुटपाथमा ज्यानैको खतरा

blog

भउचप्रसाद यादव

काठमाडौँ, असोज ११ गते । काठमाडौँका सडकपेटीमा मानिसको ज्यान खतरामा पार्न सक्ने चार सय भोल्टसम्मका क्याबिनेट बक्स राखिएका छन्। एक त साँघुरा फुटपाथ त्यसमा पनि नेपाल विद्युत् प्राधिकरणले ‘खतरायुक्त’ सङ्केतसहित उच्च भोल्टका क्याबिनेट बक्स राख्दा पैदलयात्रीको जीवन सधैँ जोखिममा पर्ने गरेको छ। बाटोघाटोमा निर्वाध र निस्फिक्रीसाथ हिँडडुल गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारसमेत हनन भएको छ।

फुटपाथका बीच भागमा उच्च भोल्ट र ‘खतरायुक्त’  उपकरणसँग ज्यान जोखिममा राखेर हिँड्नु पर्दा पैदल यात्रीमा मानसिक समस्यासमेत हुने गरेको छ। प्राधिकरणले अहिलेसम्म काठमाडौँ उपत्यकाभर तीन हजार सात सय क्याबिनेट जडान गरेको छ। यी क्याबिनेटले दैनिक जसो लाखौँ मानिसलाई त्राही त्राही गरिरहेको छ। 

प्राधिकरणले सडकपेटीमा क्याबिनेट बक्स मात्र होइन, ठाउँठाउँमा बिजुलीका पोलसमेत गाडेको छ। बक्स राखिएका कतिपय ठाउँमा सानो ठाउँ राखिएको छ भने कतिपय ठाउँमा सडकपेटी पूर्णरूपमा अवरोध छ। सडकपेटी कम्तीमा डेढ मिटर हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहे पनि कतैकतै आधा मिटरभन्दा कम रहेका छन्।

क्याबिनेट बक्सले बन्द भएका सडकपेटी छिट्टै खुलाइन्छ । 

कुलमान घिसिङ

कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण

प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा काठमाडौँको सडकपेटीमा क्याबिनेट बक्स राखेको हो। यस्तो जोखिमपूर्ण कामलाई प्राधिकरणले हाल पनि निरन्तरता दिइरहेको छ। 

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सडकपेटीमा क्याबिनेट बक्स नराख्न तथा राखिएका बक्स हटाउन विद्युत् प्राधिकरणलाई पटक पटक औपचारिक रूपमै अनुरोध गरिएको बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत कुरा राखिए पनि प्राधिकरणले बक्स हटाउन नसक्ने भन्दै आएको उहाँले बताउनुभयो। प्राधिकरणले थप सडकमा क्याबिनेट राख्ने अनुमति माग गरे पनि सडक विभागले अनुमति दिएको छैन। 

काठमाडौँ महानगरपालिका पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले सडकपेटीमा राखिएको क्याबिनेट हटाउन महानगरले प्राधिकरणलाई पत्राचार गरेकोमा प्राधिकरणले अप्ठ्यारा ठाउँका क्याबिनेट बक्स छिट्टै नै हटाउने प्रतिबद्धता गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “बक्स हटाउन प्राधिकरणले तीन महिनाको समय माग गरेको छ। सो अवधिभित्र बक्स हटाउनुपर्नेछ।” निर्धारित समयमा नहटाएमा महानगरपालिकाले नै ती बक्स फुटाइदिने उहाँले बताउनुभयो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले क्याबिनेट बक्सले बन्द भएका सडकपेटी छिट्टै नै खुलाइने बताउनुभयो। उहाँका अनुसार सडकपेटी नै अवरुद्ध भएका ठाउँका बक्स हटाउने तयारी भइरहेको छ तर सडकपेटीका सबै बक्स भने हटाउन नसकिने उहाँले बताउनुभयो। 

समस्या भएका ठाउँमा डिजाइन र क्याबिनेट परिवर्तन गरिने बताउँदै उहाँले भन्नुभयो, “क्याबिनेट नराखी बत्ती कसरी बल्छ त। कहीँ न कहीँ राख्नै प¥यो नि।” 

‘क्याबिनेट बक्स पोलमा राख्न मिल्छ’ 

– अनुपकुमार उपाध्याय, पूर्वसचिव

मानिसलाई केवल हिँडडुल गर्न बनाइएको सडकपेटी विद्युत्को क्याबिनेट बक्स राख्ने ठाउँ होइन। पैदल यात्रु हिँड्ने बाटोमा बिजुली राख्नु कति ‘रिस्की’ हो ? आफैँ अनुमान लगाउन सकिन्छ। यद्यपि बेलाबेलामा खोल्नुपर्ने भएकाले ती बक्सलाई भूमिगत गर्न मिल्दैन । बरु त्यसलाई ट्रान्सफर्मर जस्तो पोलमा राख्न मिल्छ। अन्य मुलुकमा क्याबिनेट बक्स खम्बामा नै राखिएका हुन्छन्। 

‘सडकपेटीमा क्याबिनेट बक्स राख्नु गलत’ 

– देवेन्द्र कार्की, पूर्वसचिव 

सडकपेटीमा विद्युत्का क्याबिनेट बक्स राख्नु बिल्कुल गलत छ। यो मानवीय संवेदना र सुरक्षा विपरीत छ। सडकपेटी हिँड्नका लागि हो, क्याबिनेट राख्न होइन। मैले ऊर्जा मन्त्रालयको सचिव हुँदा सडकपेटीबाट क्याबिनेट बक्स हटाउन प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग तीन पटक बैठक बसी निर्देशन दिएको थिएँ। पैदल यात्रुलाई बाधा नपर्ने गरी पोलमा बक्सको व्यवस्थापन गर्छु भनेर उहाँहरूले प्रतिबद्धतासमेत गर्नुभएको थियो तर अहिलेसम्म नहटाउनु दुःखद कुरो हो। सडकपेटी सडक विभागको जग्गा हो, प्राधिकरणको होइन। कुनै पनि सर्तमा सडकपेटीमा क्याबिनेट राख्नु नागरिकको हिँडडुल गर्न पाउने अधिकार र सुरक्षाका दृष्टिकोणले गलत हो।